सिंहदरबारबाटै न्युयोर्कको मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्रीको सम्बोधन: हरित अर्थतन्त्र र ऋण व्यवस्थापनमा जोड
काठमाडौं । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत न्युयोर्कस्थित राष्ट्र संघीय मुख्यालयमा आयोजित विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गरेका छन् । काठमाडौंस्थित सिंहदरबारबाट भर्चुअल माध्यममार्फत प्रमुख वक्ताका रूपमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरूले सामना गरिरहेका वित्तीय चुनौती र जलवायु वित्तको न्यायोचित वितरणमा जोड दिए । मन्तव्यका क्रममा उले दिगो विकास लक्ष्य हासिल गर्नका लागि विश्वव्यापी वित्तीय संरचनामा सुधार आवश्यक रहेको औंल्याउँदै नेपाल जस्ता मुलुकका लागि सहुलियतपूर्ण ऋण र वैदेशिक लगानीको महत्त्वबारे विश्व समुदायको ध्यानाकर्षण गराए । विशेषगरी महामारी पछिको आर्थिक पुनरुत्थान र बढ्दो ऋणको भारलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले थप लचिलो र सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनको विशेष जोड थियो । मन्त्री वाग्लेले नेपालले अवलम्बन गरेका आर्थिक सुधारका प्रयासहरू साझा गर्दै हरित अर्थतन्त्र र समावेशी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गरे ।
विमानस्थल पार्किङ शुल्क महँगो भएको गुनासोपछि अध्ययन समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको व्यापक जनगुनासो आएपछि सरकारले यसको समाधानका लागि पहल चालेको छ । विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले पार्किङ शुल्क अव्यवहारिक र महँगो भएको भन्दै विरोध गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा एक उच्चस्तरीय समिति गठन गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिलाई विमानस्थलहरूको पार्किङ शुल्कको विद्यमान अवस्था विश्लेषण गरी संशोधनका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । पार्किङ शुल्कको विषयमा तत्काल सुधारको आवश्यकता महसुस गर्दै समितिलाई कार्य सुरु गरेको ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । सो प्रतिवेदन प्राप्त भएलगत्तै प्राधिकरणले नयाँ र परिमार्जित शुल्क दर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । पछिल्लो समय विमानस्थलमा छोटो समयका लागि सवारी साधन लैजाँदा पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।
वर्षा बाधक बनेको खेलमा नेपालमाथि यूएईको जित, भोलि दोस्रो भिडन्त
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि- ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा (सोमबार) आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग(यो । युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । कुशल मल्लले १७ रन, कुशल भुर्तेलले १६ रन तथा बासिर अहमदले १४ रनको योगदान दिए । अन्त्यतिर नन्दन यादवले २ छक्कासहित १३ रन जोड्दै स्कोर उकासेका थिए । यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे । नेपालको इनिङ्सपछि वर्षा सुरु भई खेल रोकिएको थियो । यससँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ । अब भोलि नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ ।