सेवा प्रवाह सरल बनाउन मार्गदर्शन जारी, बहुस्वीकृति तह घटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउन ‘कार्यप्रक्रिया पुनर्संरचना (बिजनेश प्रोसेस रिइन्जिनियरिङ- बीपीआर) कार्यान्वयन सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गरेको छ । मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सेवा प्रवाहमा देखिएको दोहोरोपन, जटिलता र बहु-स्वीकृति तहलाई घटाउने उद्देश्यले उक्त मार्गदर्शन लागू गरिएको हो ।  मार्गदर्शनअनुसार अब सबै सार्वजनिक निकायहरूले आफ्ना कार्यप्रक्रियाहरूको व्यापक समीक्षा गरी अनावश्यक तथा दोहोरिएका प्रक्रिया हटाउनुपर्नेछ । निर्णय प्रक्रियामा रहेका स्वीकृति तहलाई बढीमा तीन तहमा सीमित गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार हाल सार्वजनिक सेवामा जटिल कागजी प्रक्रिया, समन्वय अभाव र अनावश्यक चरणका कारण सेवा ढिलो, खर्चिलो र अप्रभावकारी बन्दै गएको छ । यसले सेवाग्राहीलाई समय, श्रम र आर्थिक भार थपिरहेको छ भने संस्थागत दक्षता र पारदर्शितामा पनि चुनौती देखिएको छ । नयाँ मार्गदर्शनले सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ । यसका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहमा ‘प्रक्रिया सुधार कार्यदल’ गठन गर्न निर्देशन दिइएको छ । उक्त कार्यदलमा प्रशासन, कानुन, योजना तथा अनुगमन, सूचना प्रविधि तथा सेवा प्रवाहसँग सम्बन्धित शाखाका प्रतिनिधिहरू रहनेछन् । आवश्यक परेमा प्राविधिक विज्ञहरूलाई पनि समावेश गर्न सकिने व्यवस्था गरिएको छ । कार्यदलको मुख्य जिम्मेवारी निकायले प्रवाह गर्ने सेवा, प्रक्रिया, निर्णय तह, समय, लागत तथा समस्याको पहिचान गरी सुधार प्रस्ताव तयार गर्नु रहनेछ। साथै, विद्यमान प्रक्रियाको नक्साङ्कन, अनावश्यक चरण हटाउने, स्वीकृति तह घटाउने र नयाँ सरलीकृत प्रक्रिया तयार गर्ने कार्य पनि कार्यदलले गर्नेछ । मार्गदर्शनले प्रत्येक सेवाका लागि समयसीमा निर्धारण, कागजातको संख्या घटाउने, निर्णय प्रक्रियालाई स्पष्ट बनाउने तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । सरकारले यस कदममार्फत सार्वजनिक सेवा प्रवाहमा दक्षता अभिवृद्धि, प्रक्रियागत सरलीकरण, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने अपेक्षा गरेको जनाएको छ ।

पालिकाको लगानीमा बन्ने सौर्य आयोजनाको पीपीए गर्न आह्वान, प्रतियुनिट ४.९९ रुपैयाँ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाका लागि विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गर्न प्रवर्द्धक कम्पनीहरूलाई आह्वान गरेको छ । प्राधिकरण सञ्चालक समितिको कात्तिक १९ गत बसेको बैठकले चाल् आर्थिक वर्ष २०८२/८३ भित्र पीपीए सम्पन्न गर्ने गरी स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने १ मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनासँग सम्झौता गर्ने निर्णय गरेको थियो । विद्युत खरिद दर विद्युत नियमन आयोगको पुस २० गतेको निर्णय बमोजिम प्रतियुनिट ४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । उक्त दरमा वार्षिक मूल्यवृद्धि नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरण व्यवस्थापनको वैशाख २ गतेको निर्णयअनुसार इच्छुक प्रवर्द्धक कम्पनीहरूले आवश्यक कागजातसहित वैशाख २८ गतेभित्र विद्युत व्यापार विभागमा निवेदन दिनुपर्नेछ । यस्ता आयोजनालाई प्राधिकरणको ३३/११ केभी ग्रिड वा वितरण सबस्टेसनको ३३ केभी वा ११ केभी लाइनमा जडान गर्न सकिनेछ । साथै, आवश्यक प्रोटेक्सन व्यवस्थासहित ११ केभी वितरण लाइनमा टी-कनेक्सन गर्न पनि सकिने व्यवस्था गरिएको छ । त्यस्तै, आयोजनाहरूको ग्रिड इम्प्याक्ट स्टडी बिना नै ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न गर्न सकिने उल्लेख गरिएको छ । पीपीएका लागि आवेदन दिँदा कम्पनी दर्ता प्रमाणपत्र, कम्तीमा ५१ प्रतिशत स्थानीय तहको सेयर विवरण, कर चुक्ता प्रमाणपत्र, विद्युत सर्वेक्षण अनुमति, सम्भाव्यता अध्ययन प्रतिवेदन, जग्गा सम्बन्धी कागजातलगायत आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ । प्राधिकरणले स्थानीय तहको सहभागितामा सौर्य ऊर्जा प्रवर्द्धन गर्दै ऊर्जा उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशका हिमाली भू-भागका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।  साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । महाशाखाका अनुसार आज राति हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।