मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, ‘प्लाटिनम जुब्ली’ कार्यक्रम आयोजना हुने

काठमाडौं । मनास्लु र ल्होत्से हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपललक्ष्मा ‘प्लाटिनम जुब्ली’ कार्यक्रम हुने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र होइन, नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् विविध कार्यक्रम गरिने जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा स्वीस दूतावासका म्याक्सिमिलियन रिट्जम्यान तथा जापान दूतावासका पुरब कायस्थसहित कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा तीनवटा प्रतिमा निर्माण गरी अनावरण गरिने तयारी गरिएको छ । नेपाल पर्वतारोहण संघका दोस्रो उपाध्यक्ष बोधराज भण्डारीले प्लाटिनम् जुबिलीका अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी गराए । ‘यो केवल उत्सव मात्र होइन, पर्वतारोहण इतिहास निर्माण गर्ने व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको योगदानलाई पनि विशेष रूपमा सम्मान गरिनेछ ।’ मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई पनि प्रवद्र्धन गरिने लक्ष्य राखिएको छ । चुम उपत्यकाको मौलिक संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सहभागितासहितका गतिविधिहरू सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस प्लाटिनम् जुबलीले नेपाललाई विश्व पर्वतारोहण तथा ट्रेकिङ गन्तव्यका रूपमा अझ सुदृढ बनाउने विश्वास गरिएको छ । विश्वभरबाट पर्वतारोही, कूटनीतिज्ञ, इतिहासकार तथा पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको यस कार्यक्रमले नेपालको पर्वतारोहण सम्पदाको सम्मानसँगै दिगो पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यो कार्यक्रम पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । ‘हामीले यसलाई केवल स्मरणमा सीमित राखेका छैनौं, यो नेपाललाई विश्व पर्यटन बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने रणनीतिक पहल हो,” उनले भने, “मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भएर संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ ।’ चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको ऐतिहासिक महत्व उल्लेख गर्दै हालसम्म तीन हजारभन्दा बढी आरोहीहरूले उक्त शिखर आरोहण गरिसकेको जानकारी दिए । ‘पहिलो आरोहीहरूको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ, जसलाई ‘मनास्लु डे’ का अवसरमा अनावरण गरिनेछ,’ उनले भने, ‘चुम उपत्यका र आसपासका हिमाली क्षेत्रको सांस्कृतिक समृद्धिलाई पनि यस कार्यक्रममा समेटिनेछ ।’ नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले प्लाटिनम जुबिलीलाई नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । ‘मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो,’ उनले भने, ‘यही आधारमा अन्तर्राष्ट्रिय सहकार्य र सद्भाव विस्तार भएको हो ।’ उनका अनुसार जुबिली कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लु हिमालको थ्रीडी मोडेल उद्घाटन गरिनेछ । ‘जापानका राजदूत माएदा तोरुको प्रमुख आतिथ्यमा उक्त मोडेल अनावरण गरिनेछ, जसले नेपाल–जापान पर्वतारोहण सम्बन्धलाई थप उजागर गर्नेछ,’ शेर्पाले भने । उनले नेपालको हिमाली पर्यटनको विश्वव्यापी प्रवद्र्धनका लागि सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको पनि औंल्याइएको छ ।

प्युठानमा सडक पूर्णरूपमा ठप्प, भोजपुरमा एकतर्फी सुचारु

काठमाडौं । वर्षाका कारण नेपालका मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।  नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार लुम्बिनी र कोशी प्रदेशका सडकखण्डहरूमा आवागमनमा बाधा पुगेको छ । लुम्बिनी प्रदेशको प्युठान जिल्लामा बाढीका कारण भालुवाङ–प्युठान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।  सरुमारानी गाउँपालिका- ४ स्थित खहरे भन्ने स्थानमा आज अपरान्ह ३ बजेदेखि बाढी आएपछि सडक अवरुद्ध भएको हो ।  सडक पूर्ण रूपमा बन्द भएपछि सो क्षेत्रमा चल्ने सवारीसाधन र यात्रुहरू बीचबाटोमै रोकिएका छन् । वर्षाको कारण सडक माथिबाट लेदो माटो आई सडकखण्ड अवरोध भएको हो । सडक खुलाउन सडक डिभिजन कार्यालय प्यूठानसँग समन्वय भइरहेको छ । यस्तै, कोशी प्रदेशको भोजपुर जिल्लामा पनि बाढीले मध्य पहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ । भोजपुर नगरपालिका- ५, बोखिममा हाल वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ । प्रहरीले यात्रुहरूलाई यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र सावधानी अपनाउन अनुरोध गरेको छ ।  सडक अवरोधसम्बन्धी थप अपडेटका लागि नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा सूचनाहरूसमेत उपलब्ध गराएको छ ।

मेटामाथि इयुको बालसुरक्षा आरोप

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाब बढाएको छ । नियामकहरूले फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् ।      इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा साइन अप गर्नबाट रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको जनाएको छ । आयोगका अनुसार खाता खोलिसकेपछि पनि यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने काम पर्याप्त रूपमा भइरहेको छैन ।      मेटाले आफ्नै नियमअनुसार फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको आयोगको ठहर छ । यसले बालबालिकालाई प्लेटफर्ममा प्रवेश मात्र होइन, उनीहरूलाई उमेरअनुसार अनुपयुक्त सामग्री र अनुभवको जोखिममा पनि राखिरहेको उल्लेख गरिएको छ ।      यो मुद्दा केवल पहुँचमा सीमित नभएको आयोगले जनाएको छ । १३ वर्षमुनिका बालबालिकाले प्लेटफर्म प्रयोग गर्दा उनीहरू कस्तो सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिमको मूल्याङ्कनसमेत मेटाले पर्याप्त रूपमा नगरेको निष्कर्ष निकालिएको छ ।      युरोपेली आयोगले यो कारबाही डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाएको हो । उक्त ऐनले २७ सदस्य राष्ट्रहरूमा सञ्चालन गर्ने ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको सुरक्षा, विशेषगरी नाबालिगहरूको सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ ।      आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि सुरु गरिएको अनुसन्धानले मेटाका प्लेटफर्महरूले आफ्नै नियम र सर्तमा १३ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित नगर्ने उल्लेख गरे पनि व्यवहारमा त्यसलाई लागू गर्न ‘अत्यन्त सीमित प्रयास’ मात्र गरिएको देखाएको बताए । उनका अनुसार नियमहरू केवल कागजमा सीमित नहुने, प्रयोगकर्ताको सुरक्षाका लागि ठोस कार्यमा रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ ।      अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइनेछ । अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना लगाइने सम्भावना रहेको छ ।      यस विषयमा मेटाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयुको यो कदमले विश्वभर सामाजिक सञ्जाल कम्पनीहरूमाथि बालसुरक्षासम्बन्धी जिम्मेवारी कडा पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस