इन्द्रचोकको चाँदी पसलमा पेस्तोल देखाएर लुट्ने महर्जन पक्राउ
काठमाडौं । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय हरिकृष्ण महर्जन रहेका छन् । वैशाख १७ गते चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिकालाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका थिए । दुईमध्ये एक लुटेरा मंगलबार इमाडोलबाट पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चाँदी लुटेर उनीहरूले लगाएको ज्याकेट तथा अन्य लुगाहरू घटनास्थलमा छाडेर भागेका थिए । ईन्द्रचोकस्थित वविता रौनियारले सञ्चालन गरेको नैना एण्ड इशान ज्वेलरीमा हतियारसहित प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्न थालेपछि उनीहरू फरार भएका थिए।
भौतिक मन्त्रालय मातहतका यी पदाधिकारी भए पदमुक्त
काठमाडौं । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पारित भएसँगै २० पदाधिकारीहरू पदमुक्त भएका हुन् । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्रा.डा. पदमबहादुर शाही, उपाध्यक्ष डा. विकास अधिकारीसहित १३ पदाधिकारी पदमुक्त भएका छन् । सडक बोर्ड नेपालका ४ सदस्य पदमुक्त भएका छन् । नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
सरकारको नयाँ अध्यादेशसँगै अर्थ मन्त्रालय मातहतका यी अधिकारीहरू भए पदमुक्त
काठमाडौं । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न सरकारी निकाय र वित्तीय संस्थाहरूका पदाधिकारीहरू पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पारित भएसँगै विभिन्न निकायहरूमा कार्यरत अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृतहरू पदमुक्त भएका हुन् । यसरी पदमुक्त हुनेहरूमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणजस्ता नियामक तथा कार्यकारी निकायका पदाधिकारीहरू रहेका छन् । कर्मचारी सञ्चय कोषको सञ्चालक समिति र व्यवस्थापनमा रहेका उच्च अधिकारीहरू पदमुक्त भएका छन् । जसमा वर्तमान राजस्व सचिव भूपाल बराल (अध्यक्ष), प्रशासक जितेन्द्र धितालसहित अन्य व्यक्तिहरू रहेका छन्। त्यसैगरी, सदस्यहरू डा. धनिराम शर्मा (सहसचिव), ईश्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भुसाल र देवेन्द्र रमण खनाल पदमुक्त भएका छन् । त्यस्तै, नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पदमुक्त भए । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको परिषद् र मातहतका बोर्डहरूमा रहेका सरकारी प्रतिनिधि तथा सदस्यहरू पदमुक्त भएका छन् । परिषद् सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी (सहसचिव) र श्याम प्रसाद भण्डारी (सहसचिव) पदमुक्त भए । त्यसैगरी, लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुंगेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती, विदुर लुइँटेल र पोषराज नेपाल पदमुक्त भए । लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणि दाहाल र गणेशराज राई पदमुक्त भए । नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पिताम्बर भण्डारी पदमुक्त भएका छन् । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सदस्य प्रकाशजंग थापा पदमुक्त भएका छन् । कोषमा एक सदस्य पद पहिले नै रिक्त थियो । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य (जीवन बीमातर्फ) डा. गणेश प्रसाद पाण्डे पदमुक्त भए । निर्जीवन बीमातर्फको सदस्य पद भने रिक्त नै रहेको थियो ।