खाँदबारी–किमाथाङ्का सडक : ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न

किमाथाङ्का । बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडकखण्ड (१६२ किमी मध्ये १०.८ किमी) मा ‘ट्रयाक ओपन’ सहित आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ । भौगोलिक रूपमा अति विकट र काम गर्न कठिन सो काम नेपाली सेनाले पूरा गरेको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक मध्ये १०.८ किमीमा ट्रयाक ओपन  र आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको खाँदबारी–किमाथाङ्का सडक आयोजनाका प्रमुख शमशेर सिंहले जानकारी दिए ।  खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण  सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको हो ।  सेनाले यस वर्ष दुई किमी २१ दशमलव सडकखण्डको ट्रयाक खाल्ने काम गरेको छ । भने उक्त सडकखण्डको चार किलोमिटर ३१ दशमलव सडकको स्तरउन्नती गरेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए ।  उक्त सडक निर्माणको काम सम्पन्न गरेसँगै सेनाले उत्तर दक्षिण कोशी सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ ।  किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का  सडकखण्ड गत २०८१ माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डमा गत वर्षसम्म छ किलोमिटर छ दशमलव सडक स्तरोन्नति गरिसकेको थियो । खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको थियो । यो वर्ष सेनाले ‘ट्रयाक ओपन’  र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा खसेको पहिरोसमेत सेनाले हटाएको छ ।  किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।  सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको थियो । किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।  सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।  

उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा प्रियराज रेग्मी निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा प्रियराज रेग्मी निर्वाचित भएका छन् । एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा रेग्मीले ९५४ मत प्राप्त गर्दै विजयी भएका हुन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका दुई कार्यकाल अध्यक्ष रहिसकेका रेग्मी पुँजीबजार विस्तारका अगुवा व्यवसायीका रूपमा परिचित छन् । महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार, पुँजीबजारको विस्तार तथा व्यवसायीमैत्री नीति निर्माणका लागि सक्रिय भूमिका खेल्ने उनले बताए । क्रिस्टल कञ्चनजङ्का सेक्युरिटिजका अध्यक्षसमेत रहेका रेग्मीले चिरायु होल्डिङ्स, खुश्बु इन्भेष्टमेन्ट तथा शुभलक्ष्मी हाइड्रो इन्भेष्टमेन्टलगायत कम्पनीमार्फत लगानी विस्तार र विविधीकरण गर्दै आएका छन् । इम्पेरियल पावर र पञ्चकोट हाइड्रोपावरजस्ता जलविद्युत् आयोजनामा समेत उनको लगानी रहेको छ । 

पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनी प्राधिकरणको कारबाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनीलाई जरिवानासहित कारबाही गरेको छ ।  प्राधिकरणले पुनर्बीमा दलालको सेवा दिंदै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि र  निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीलाई कारबाही गरेका हाे ।   प्राधिकरणका प्रवक्ता पुजन ढंगेलका अनुसार सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) को विपरीत कार्य गरेकाले जरिवाना गरिएको छ । उक्त कम्पनीलाई प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम पहिलो पटक दुई लाख रूपैयाँ जरिवाना गरेको छ । त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्सलाई पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा(१) र (२) को व्यवस्था पालना नगरेको पाइएकाले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड क बमोजिम जरिवाना गरिएको छ । कम्पनीलाई पहिलो पटक भएकाले पाँच हजार रूपैयाँ नगद जरिवाना सहित सचेत गराएको प्रवक्ता ढंगेलले बताइन् ।