वैश्विक ऊर्जा संकटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
काठमाडौं । अस्ट्रेलियाले ऊर्जा अभावको जोखिम कम गर्नका लागि ठूला ग्यास निर्यात कम्पनीहरूलाई आफ्नो उत्पादनको केही हिस्सा घरेलु बजारका लागि छुट्याउन बाध्य पार्ने घोषणा गरेको छ । ऊर्जामन्त्री क्रिस बोवेनले बिहीबार जानकारी दिँदै देशको प्रमुख ग्यास निर्यातकर्ताहरूलाई अब उत्पादनको २० प्रतिशत भाग देशभित्र बिक्रीका लागि छुट्याउनुपर्ने बताए । अस्ट्रेलिया विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्तामध्ये एक हो, जसको ऊर्जा एशियाली बजारमा अत्यधिक माग छ । तर हाल मध्यपूर्वमा बढ्दो युद्ध र त्यसले विश्व ऊर्जा बजारमा पारेको असरका कारण आपूर्ति र मूल्यमा ठूलो अस्थिरता देखिएको छ । ऊर्जामन्त्री बोवेनले यो निर्णयलाई ‘वैश्विक मूल्य उतारचढावबाट देशलाई जोगाउने कदम’ भन्दै सरकारको लक्ष्य घरेलु ऊर्जा सुरक्षा सुनिश्चित गर्नु रहेको बताए । उनका अनुसार अस्ट्रेलियाले नवीकरणीय ऊर्जा विकासमा लगानी बढाइरहेको छ र साथै आवश्यक ग्यासलाई देशभित्रै सुरक्षित राख्ने नीति अघि बढाइरहेको छ । अस्ट्रेलिया जापान, दक्षिण कोरिया लगायतका एशियाली देशहरूको प्रमुख ग्यास आपूर्तिकर्ता हो। हाल जापानले आवश्यक एलएनजीको करिब ४० प्रतिशत अस्ट्रेलियाबाट प्राप्त गर्छ । तर हालै इजरायल र अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा ऊर्जा मूल्य विश्वभर बढेको छ । सरकारले नयाँ नीति लागू भए पनि पहिले भएका अन्तर्राष्ट्रिय सम्झौतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ । बोवेनले भने, 'अस्ट्रेलिया सधैं विश्वसनीय ऊर्जा आपूर्तिकर्ता रहिरहनेछ ।' भौगोलिक रूपमा टाढा रहेको र सीमित रिफाइनरी भएका कारण अस्ट्रेलिया अन्तर्राष्ट्रिय ऊर्जा सङ्कटप्रति संवेदनशील मानिन्छ । हाल इरानले हर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि विश्व तेल आपूर्तिमा थप दबाब परेको छ । यसैबीच, प्रधानमन्त्री एन्थोनी अल्बानिजीले बुधबार देशभित्र १० अर्ब लिटर क्षमताको राष्ट्रिय इन्धन भण्डारण प्रणाली स्थापना गर्ने घोषणा गरेका छन्, जसको उद्देश्य आपूर्ति सङ्कटको अवस्थामा देशलाई सुरक्षित राख्नु हो । अस्ट्रेलियाले ऊर्जा सुरक्षा बलियो बनाउन घरेलु आपूर्ति प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय बजारमा स्थिरता कायम गर्ने प्रयास गरिरहेको देखिन्छ । रासस
महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले गरे पदबहाली
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनपछि स्वतः अध्यक्षमा चयन भएका श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका हुन् । पदबहालीपछि उनले निजी क्षेत्रको हकहित संरक्षण र अर्थतन्त्र चलायमान बनाउन महासंघले सक्रिय भूमिका खेल्ने बताए । उनले उद्योगी–व्यवसायीको आत्मविश्वास बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले मुलुकको आर्थिक गतिविधि सुस्त बनेको अवस्थामा निजी क्षेत्रलाई उत्साहित बनाउने नीति आवश्यक रहेको उल्लेख गर्दै उत्पादन, रोजगारी र निर्यात प्रवर्द्धनमा महासंघले प्राथमिकता दिने बताए । उनले महासंघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
एफएनसीसीआईको वस्तुगत सदस्यमा पशुपति देव पाण्डे निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको कार्यकारिणी सदस्य पदमा पशुपति देव पाण्डे निर्वाचित भएका छन् । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्षसमेत रहेका पाण्डे दोस्रो कार्यकालका लागि महासंघको वस्तुगत सदस्यमा विजयी भएका हुन् । उनी नरेशलाल श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए । स्पष्ट वक्ता र सफल उद्यमीका रूपमा परिचित पाण्डे नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा चिनिन्छन् । उनले नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षका रूपमा नेतृत्व गर्दै उद्योगले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताए । उनका अनुसार तयारी पोशाक उद्योगसहित वस्तुगत क्षेत्रले भोगिरहेका संरचनागत समस्या समाधानका लागि राज्य तहमा पहल गर्दै उद्योगमैत्री नीति निर्माणमा योगदान पुर्याउने उनको प्राथमिकता रहनेछ । पाण्डेले महासंघभित्रको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै उद्योग, व्यापार तथा सेवा क्षेत्रका चुनौती समाधानमा प्रभावकारी भूमिका खेल्ने बताए । उनले बदलिँदो विश्व व्यापार परिप्रेक्ष्य, आपूर्ति शृंखला परिवर्तन र प्रतिस्पर्धात्मक बजार संरचनालाई ध्यानमा राख्दै निजी क्षेत्रको सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे । पाण्डेले ‘मेड इन नेपाल’ ब्रान्ड प्रवर्द्धन, निर्यात विविधीकरण, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सरकार तथा महासंघसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।