एनएनएसडब्लू पोर्टलमार्फत टीआईभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा

काठमाडौं । भन्सार विभागले एनएनएसडब्लू पोर्टलमार्फत टीआईभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले सबै भन्सार कार्यालयलाई पत्राचार गर्दै उक्त प्रणाली नियमित रूपमा प्रयोगमा ल्याउन निर्देशन दिएको हो । विभागको सूचना प्रविधि प्रणाली तथा विकास शाखाका अनुसार २०८३ वैशाख १७ गतेको विभागीय निर्णयअनुसार टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार अब टीआईभी सम्बन्धी घोषणा एनएनएसडब्लू पोर्टलमार्फत गर्न सकिनेछ । साथै म्यानुअल तथा ई-पेमेन्ट दुवै माध्यमबाट भुक्तानी गर्ने व्यवस्था समेत मिलाइएको विभागले जनाएको छ । विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई सोही पोर्टलमार्फत टीआईभी सम्बन्धी कार्य नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।  

साढे ११ हजार सहकारी दर्ता प्रक्रियामा, अध्ययन गर्दै प्राधिकरण

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा ११ हजार ६०० सहकारी दर्ताको प्रक्रियामा रहेका छन् । प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो । दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्थामध्ये करिब ३ हजार सहकारीलाई इजाजतपत्र प्रदान गरेको प्राधिकरणले बाँकी ८ हजारको इजाजत ‘भेरिफाई’ विवरण रुजु गर्ने तथा अपुग भएका कागजात अध्ययन गर्ने क्रममा रहेका छन् । सहकारीमा नियमन, अनुगमन र सुपरीवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरणको गठन गरेको हो । प्राधिकरणका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका सहकारीको अभिलेखीकरण सुरु गरिएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीले प्राधिकरणमा दर्ता भएर इजाजत प्राप्त गरेपछि मात्र कारोबार सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्राधिकरणका निर्देशक केशवराज भट्टराईले जानकारी दिए । इजाजत लिन प्राधिकरणमा विवरण पेस गरेका तर कागजात नपुग भएका ३ हजार ६४६ सहकारी छन् । सहकारी संस्थाको नियमनलाई प्रभावकारी बनाउनका लागि प्राधिकरणले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सहकार्यका लागि समझदारीसमेत गरेको छ । उक्त संस्थाले सहकारीको कारोबार तथा वित्तीय अवस्थाको परीक्षणमा सहयोग गर्ने जनाइएको छ ।

देशभर पश्चिमी वायुको प्रभाव, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ । कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै बाँकी तराई क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना  छ । साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।