उपसभामुखसँग रिसाए हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र त्यसमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुवीकुमारीको संलग्नताप्रति आपत्ति जनाएका छन् । शुक्रबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु र वरिष्ठतालाई मिचेर चौथो नम्बरका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु ‘गलत र आपत्तिजनक’ भएको ठहर गरेका हुन् । वरिष्ठताको क्रममा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्ने सरकारको कदमलाई साम्पाङले ‘ठूलो गल्ती’ को संज्ञा दिएका छन् । सहकारी ठगी प्रकरण, भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन राजनीतिक र कानुनी स्वार्थ राखेर यो नियुक्ति गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रम संस्कृति पार्टीकै तर्फबाट उपसभामुख बनेकी वीकुमारीले वरिष्ठता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गर्नुलाई साम्पाङले ‘खेदपूर्ण’ भनेका छन् । नियुक्ति प्रक्रियाको बैठकमा एमसीसी र एसपीपी जस्ता विवादित विषयहरू ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत गरिएको छ । साम्पाङले सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेको दलले नै विधि मिचेको भन्दै यस्तो प्रवृत्तिको सदासर्वदा विरोध गर्ने पनि बताएका छन् । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेकाे भन्दै अहिले सरकारकाे आलाेचना भइरहेकाे छ ।
युद्ध जोखिम बढ्दै : तेल मूल्य उकालो, सेयर बजार ओरालो
काठमाडौं । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् । यस घटनाले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र महत्त्वपूर्ण समुद्री मार्ग पुनः खोल्ने आशामा धक्का पुगेको छ । पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो । तर बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो । अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इरानी सैन्य लक्ष्यहरूमा हवाई हमला गरेको बताइएको छ । यो घटनाले एक महिनादेखि कायम रहेको युद्धविराम कमजोर बनाएको छ । इरानको सेनाले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गर्दै तेल ट्याङ्कर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । यसले दुवै देशबीचको तनाव झनै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भने,'यदि उनीहरूले सम्झौता छिट्टै गरेनन् भने हामी अझ कडा र धेरै हिंसात्मक रूपमा जवाफ दिनेछौं ।' तर पछि उनले वासिङ्टनमा बोल्दै युद्धविराम अझै कायम रहेको दाबी गरे । उनका अनुसार, 'हो, युद्धविराम छ । उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं ।' यो झडप त्यतिबेला भयो जब ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगिएको सङ्केत दिएको थियो र हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्भावना छलफलमा थियो । यो समुद्री मार्गबाट विश्वको करिब पाँच भागको एक हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ । यस्तै, अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार पनि आएको छ, जसको उद्देश्य वाणिज्य जहाजहरूलाई सुरक्षित मार्ग दिने हो । तर यसले इरानसँग थप तनाव बढाएको छ । तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो । एशियाली बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाको शेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, साङ्घाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जाकार्ता जस्ता प्रमुख बजारहरू पनि ओरालो लागेका छन् । यसै क्रममा अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ । एस एन्ड पी ५०० र नास्डाक सूचकाङ्क रेकर्ड उच्चबाट तल झरेका छन् । विश्लेषकहरूका अनुसार लामो समयको तीव्र वृद्धि पछि यस्तो गिरावट अस्वाभाविक होइन । बजार विश्लेषक क्रिस वेस्टनका अनुसार, 'यो द्वन्द्व समाधानतर्फको बाटो सीधा हुँदैन भन्ने कुरा फेरि स्पष्ट भएको छ । लगानीकर्ताहरूले परिस्थिति फेरि मूल्यांकन गर्न थालेका छन् ।' यसैबीच, ब्रिटिस मुद्रा पाउन्ड पनि अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । युकेमा भइरहेका स्थानीय चुनावका कारण पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । जापानमा भने सरकारले हालै यन (जापानी मुद्रा) स्थिर गर्न करिब ६४ अर्ब अमेरिकी डलर बराबरको हस्तक्षेप गरेको समाचार आएको छ । यन केही समयका लागि कमजोर भएर फेरि केही सुधार देखिएको छ । अर्कोतर्फ, लगानीकर्ताहरू अब अमेरिका रोजगारी सम्बन्धी नयाँ तथ्याङ्कको प्रतिक्षामा छन्, जसले युद्ध र बढ्दो मूल्य वृद्धिको असर अर्थतन्त्रमा कस्तो परेको छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ । रासस
छहारी र ओमकार ब्रान्डको तेल उत्पादक विजय श्रेष्ठ पक्राउ
काठमाडौं । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन् । सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट सञ्चालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।