पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङसहित हल्का वर्षा
काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी तराई भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
कोरला नाकामा ३० लाखको बोरिङ खानेपानी योजना सुरु
काठमाडौं । उत्तरी कोरला नाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरला नाकाको दसगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो । कोरला नाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरला नाकामा त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाएका स्थानीय व्यापारी, कोरला नाका अवलोकनमा गएका पर्यटक तथा कोरला नाकाबाट आयाता/निर्यात गर्ने व्यापारी तथा चालकलाई निकै ठुलो समस्या पर्दै आइरहेको थियो । स्थानीय व्यापारी, पर्यटक र कोरला नाकाबाट आयात/निर्यात गर्ने व्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले अग्रसरता देखाएको हो । कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा व्यापार व्यवसाय गर्ने, कोरला नाकाको अवलोकन गर्न आउने पर्यटक र कोरला नाकाबाट आयात तथा निर्यात गर्ने व्यापारी लाभान्वित हुने बताए । विगतका वर्षमा पनि कोरला नाकामा बोरिङमार्फत खानेपानी व्यवस्था गर्ने प्रयास सफल हुन नसके पनि यसपटक खानेपानीको योजनाले मूर्तरूपमा पाएको अध्यक्ष गुरुङले बताए । खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरला नाकामा शौचालय निर्माण गरिरहेको उनको भनाइ छ । कोरला नाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए । कन्ट्रक्सनले कोरल नाकामा बोरिङबाट खानेपानी निकाल्न उपकरणसहित कार्यक्षेत्रमा परिचालन भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाइ छ । यसअघि नेपाल-चीन कोरला नाका क्षेत्रमा खानेपानीको व्यवस्था नहुँदा व्यापारी तथा पर्यटकलाई निकै ठुलो समस्या पर्ने गरेको थियो । नाकामा खानेपानी नहुँदा व्यापारी तथा पर्यटकले खानेपानी तथा शौचालय नभएको गुनासो गर्ने गरेका थिए । कोर लानाका स्थित २४ नं सीमास्तम्भको दसगजा क्षेत्रमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका भित्रका करिव ८० भन्दा त्रिपाल व्यवसायीले चिनिया समान बिक्री गर्न बसेका छन् । कोरला नाका खुलेको दुई वर्ष बढी बितिसक्दा नाकामा खानेपानी र शौचालयको व्यवस्था हुन सकेको थिएन । कोरला नाकाका त्रिपाल व्यापारीले कोरला नाकादेखि यता उत्तर लोमान्थाङ-२ नेचुङबाट खानेपानी ढुवानी गर्ने गरेका थिए । खानेपानीको योजनाअघि बढेसँगै कोरला नाकाका व्यापारीहरू खुसी भएका छन् ।
द्वन्द्वकालमा बन्द नरैनापुर छोटी भन्सार पुनः सञ्चालनमा आउने
काठमाडौं । द्वन्द्व कालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चालनमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरैनापुर छोटी भन्सार नेपालगन्ज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधारको निर्माण र कर्मचारीको व्यवस्थापन गरिने बताए । ‘यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै हो,’ उनले भने । भन्सार नियमावली २०८३ मा बाँकेको नरैनापुरमा पनि छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुशी देखिएका छन् । ७ वटा छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भएपनि जिल्लाको नरैनापुरमा मात्रै छोटी भन्सार स्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगन्जका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । ‘यहाँ रहेका ७ वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै परेको छ, यो पनि भन्सार नियमावलीको अनुसूचीमा नाम उल्लेख भएको मात्र हो,’ उनले भने । छोटी भन्सारबाट समान दुरुपयोगको जोखिम हुने उल्लेख गर्दै उनले मूल भन्सारबाट समान नल्याएर छोटी भन्सार लैजाने प्रचलन रहेको व्यवसायीलाई आरोप लगाए । नरैनापुरबाट धेरै समान त आउँदैन आलु, प्याज आउन सक्ने पौडेलको भनाइ छ । उनले नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउने निश्चित भए लगत्तै एक सातामा नै सञ्चालनमा आउने जानकारी दिए । उद्योग बाणिज्य सङ्घ, नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले छोटी भन्सार स्थापन हुनु व्यवसायीका लागि खुशीको कुरा भएको उल्लेख गर्दै मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गरे । उनले राजश्व सङ्कलनसँगै तस्करी नियन्त्रणमा सघाउ पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेका लागि सुखद स्थिति भएको बताए । आइसिपीबाट आउने कन्टेनरसहितका समान छोटी भन्सारबाट नआउने ओलीको भनाइ छ । सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकाको भीड घट्ने विश्वास व्यक्त गरे । उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्ने बताए । चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ श्रेष्ठको भनाइ छ । सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जका व्यवसायीका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने बताए । तत्कालीन द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात छोटी भन्सार असुरक्षाका कारण बन्द भएका थिए ।