काठमाडौं । द्वन्द्व कालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चालनमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरैनापुर छोटी भन्सार नेपालगन्ज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधारको निर्माण र कर्मचारीको व्यवस्थापन गरिने बताए ।
‘यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै हो,’ उनले भने । भन्सार नियमावली २०८३ मा बाँकेको नरैनापुरमा पनि छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुशी देखिएका छन् ।
७ वटा छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भएपनि जिल्लाको नरैनापुरमा मात्रै छोटी भन्सार स्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगन्जका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । ‘यहाँ रहेका ७ वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै परेको छ, यो पनि भन्सार नियमावलीको अनुसूचीमा नाम उल्लेख भएको मात्र हो,’ उनले भने ।
छोटी भन्सारबाट समान दुरुपयोगको जोखिम हुने उल्लेख गर्दै उनले मूल भन्सारबाट समान नल्याएर छोटी भन्सार लैजाने प्रचलन रहेको व्यवसायीलाई आरोप लगाए ।
नरैनापुरबाट धेरै समान त आउँदैन आलु, प्याज आउन सक्ने पौडेलको भनाइ छ । उनले नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउने निश्चित भए लगत्तै एक सातामा नै सञ्चालनमा आउने जानकारी दिए ।
उद्योग बाणिज्य सङ्घ, नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले छोटी भन्सार स्थापन हुनु व्यवसायीका लागि खुशीको कुरा भएको उल्लेख गर्दै मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गरे ।
उनले राजश्व सङ्कलनसँगै तस्करी नियन्त्रणमा सघाउ पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेका लागि सुखद स्थिति भएको बताए । आइसिपीबाट आउने कन्टेनरसहितका समान छोटी भन्सारबाट नआउने ओलीको भनाइ छ ।
सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकाको भीड घट्ने विश्वास व्यक्त गरे ।
उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्ने बताए । चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ श्रेष्ठको भनाइ छ ।
सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जका व्यवसायीका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने बताए । तत्कालीन द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात छोटी भन्सार असुरक्षाका कारण बन्द भएका थिए ।