झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा शनिबार बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र-न-२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए। घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उनले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ । प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै
काठमाडौं । युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ, र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ । युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताएअनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको सङ्केत दिइरहेको छ । उनले मे महिनामा मात्र पनि समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताएका छन् । युरोपेली सङ्घअन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रिल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ्दै गएको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ । विशेषगरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरेको छ । यसैबीच, विश्व मौसम सङ्गठनले पनि ‘एल निनो’ अवस्था आगामी मेदेखि जुलाई महिनाभित्र विकसित हुन सक्ने चेतावनी दिएको छ । ‘एल निनो’ प्रशान्त महासागरको तापक्रम र वायुप्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधीबेहरी र अन्य चरम मौसम घटनाहरू बढाउने गर्छ । वैज्ञानिकहरूको अध्ययनअनुसार एल निनो मात्र अहिलेको तापक्रम वृद्धिको कारण होइन, तर मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण भइरहेको दीर्घकालीन ग्लोबल वार्मिङसँग मिलेर यसले पृथ्वीको तापक्रम अझ तीव्र रूपमा बढाइरहेको छ । यसकै प्रभावस्वरूप पछिल्लो एल निनो अवधिमा सन् २०२३ र २०२४ क्रमशः अहिलेसम्मकै दोस्रो र सबैभन्दा तातो वर्ष बनेका थिए । केही मौसम पूर्वानुमानहरूले आगामी एल निनो अझ शक्तिशाली हुन सक्ने अनुमान गरेका छन्, जसलाई तीन दशकअघिको अत्यन्त शक्तिशाली एल निनोसँग तुलना गर्न सकिन्छ । बर्कले अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउसफादरका अनुसार यदि आगामी एल निनो शक्तिशाली भयो भने सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ्नेछ । सामन्था बर्गेसले स्पष्ट पारेअनुसार अहिले नै यसको शक्ति कति हुनेछ भनेर निश्चित रूपमा अनुमान गर्न कठिन छ, किनभने वसन्त ऋतुमा गरिने पूर्वानुमानहरू प्रायः अनिश्चित हुन्छन् । तर उनले जोड दिँदै भने,'यसको प्रभाव भने विश्वव्यापी रूपमा स्पष्ट रूपमा महसुस हुनेछ ।' उनका अनुसार एल निनोको चरम प्रभाव प्रायः यसको शिखर वर्षपछि देखिन्छ, जसले गर्दा आगामी वर्षहरूमा तापक्रम अझ बढ्ने सम्भावना रहन्छ । कोपरनिकसले मार्च र अप्रिल महिनामा समुद्री तापक्रम निरन्तर बढ्दै जानुले एल निनोतर्फको सङ्क्रमण सुरु भइसकेको सङ्केत गर्छ । वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम केवल प्राकृतिक एल निनोका कारण मात्र होइन, तर जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ । अप्रिल महिनामा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको ९सन् १८५० देखि १९००० स्तरभन्दा १।४३ डिग्री सेल्सियस बढी मापन गरिएको थियो । त्यस्तै, आर्कटिक क्षेत्रको समुद्री बरफ पनि लगभग ऐतिहासिक न्यून स्तरको नजिक पुगेको छ, जसले पृथ्वीको जलवायु प्रणालीमा गहिरो असर देखाइरहेको छ । रासस
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ । त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य गरेको अनुभव माग गरिएको छ । उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरुले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् । उनीहरुले दरखास्त बुझाउँदा वित्तिय सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या, चुनौति र अवसर सहितको कार्ययोजना समेत पेश गर्नुपर्नेछ । सूचना जारी भएको १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।