यार्सा टिप्न शिक्षकदेखि विद्यार्थीसम्म लेकतिर, विद्यालयमा ताला

काठमाडौं । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख २७ गतेदेखि पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ । उनले बर्खे बिदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागिएको जानकारी दिए । गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आगामी जेठ १० गतेदेखि पुनः सञ्चालनमा आउने जनाएको छ ।

अपी हिमाल गाउँपालिकाभित्र रहेका २२ सामुदायिक विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन् ।

स्थानीयवासी वैशाख अन्तिम सातादेखि नै यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा पुगिसकेका छन् । छोटो समयमै राम्रो आम्दानी हुने भएकाले अधिकांश परिवारका सदस्यहरू यार्सा सङ्कलनमा जाने गरेको स्थानीयको सोबान लोथ्यालको भनाइ छ ।

यार्सा सिजन सुरु भएसँगै जिल्लाका मार्मा, नौगाड र व्यास गाउँपालिकाका बासिन्दासमेत लेकतिर उक्लिएका छन् । कतिपय गाउँका घरहरूमा ताला लागेको अवस्था रहेको स्थानीयले बताएका छन् । जिल्लामा सबैभन्दा बढी सङ्कलनहरू अपी हिमाल क्षेत्रका लोलु, रिङ्देपानी, सतगङ्गा, कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति र चाइमटेला लगायत क्षेत्रमा पुगेका छन् ।

Share News