प्रसारण लाइनका टावर ढलेपछि मन्त्रीको निर्देशन- युद्धस्तरमा मर्मत होस्
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर-सुर्खेत प्रसारण लाइन अन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर-सुर्खेत १३२ केभी लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । उक्त घटना लगत्तै मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय गरिरहेको र विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न पहल थालेको छ । यस्तै, मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावरको निर्माण आरएस इन्फ्रा कम्पनीले गरेको थियो । प्राविधिक निरीक्षणका क्रममा टावरको फाउन्डेसन (जग) नै पुनः निर्माण गर्नुपर्ने देखिएकाले मर्मत तथा पुनःस्थापनाको कार्य सम्पन्न हुन करिब तीन साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधानका लागि महत्त्वपूर्ण पूर्वाधार मानिन्छ । आयोजना सम्पन्न नहुँदै प्राकृतिक प्रकोपका कारण भएको यो क्षतिले प्रदेशको ऊर्जा सुरक्षामा चुनौती थपेको छ । मन्त्री श्रेष्ठले मर्मत कार्यलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
सार्वजनिक सवारीमा ट्राफिकको छड्के अनुगमन, चालक-सहचालकको व्यवहारसमेत निगरानीमा
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसी क्यामेरा, ड्यास बोर्ड क्यामेरालगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैन भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन सुरु गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सार्वजनिक सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनासम्बन्धी विषयमा समेत निगरानी गरिएको उनले बताए । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, ‘उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रु मैत्री बनाउन यो अभियान सुरु गरिएको हो । सरकारले तोकेको मापदण्डअनुसार सिसी क्यामेरा, ड्यास बोर्ड जडान गर्नाका साथै सवारीसाधन सफा र व्यवस्थित राख्नुपर्ने व्यवस्था छ । कार्यान्वयन नगर्ने सवारीसाधनमाथि आवश्यक कारबाही गरिनेछ ।’ अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमा यात्रा गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले चालकहरूले लेन अनुशासन पालना गरे-नगरेको, यात्रु चढाउने तथा ओराल्ने स्थानको उचित प्रयोग भए-नभएको, मोबाइल प्रयोग गरेर सवारी चलाइएको तथा गति नियन्त्रणबारे समेत निगरानी गरेको जनाइएको छ । पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको गुनासो बढ्दै गएको, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रयोग प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहने उनको भनाइ छ ।
कोशी अस्पतालका एक सय ७७ कर्मचारी अनुपस्थित
काठमाडौं । कोशी अस्पताल विराटनगरमा आज (बुधबार) अनुगमनका क्रममा १ सय ७७ जना चिकित्सक, कर्मचारी र प्राविधिक अनुपस्थित रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा हाजिर अभिलेख जाँचका क्रममा अस्पताललाई कुनै जानकारीविना ती कर्मचारी अस्पतालमा अनुपस्थित रहेका पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए । चिकित्सक र अन्य कर्मचारीहरू अस्पतालमा कार्यालय समयमा अनुपस्थित हुने गरेको गुनासोपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएको थियो । अस्पताल प्रशासनलाई जानकारीविना अनुपस्थित रहेकाहरूलाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । कोशी अस्पतालबाट सुरु गरिएको सुशासनका लागि सुरु गरिएको अभियानका क्रममा अन्य कार्यालय तथा बजारमा समेत अनुगमन गरिने जनाइएको छ ।