काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, ‘काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार पहेँलो पुलस्थित सन्दीप परियारले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले मङ्गलबार पक्राउ गरेको हो ।’ निजले बिग्रिएर चल्न नसक्ने बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थान फेला पारी जरूरी पक्राउ पुर्जी दिई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज परियारविरुद्ध हातहतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।
शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकले गर्यो प्रअ र शिक्षकका लागि नयाँ पाठ्यक्रम पारित
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज (बुधबार) सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ । परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो । शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । मन्त्रालयका अनुसार स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्याउने विश्वास लिइएको छ । परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ । यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ ।
पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त, को हुन् उनी ?
काठमाडौं । पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो । थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन् । सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए । उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन् । पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ । यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, इ-कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरुलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरिरहेको छ जनाएको छ । सुरुमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए । नेपालमा राइड सेवासहित सुरु भएको पठाओ नेपाललाई पछिल्लो समय फुड डेलिभरी, पार्सल डेलिभरी जस्ता अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफल बनाउन थकालीको भूमिका महत्लपूर्ण छ । जसले गर्दा प्रतिस्पर्धात्मक बजारमा पठाओ नेपाल सजिलै उभिन सकेको छ । पछिल्लो दुई वर्षमा थकालीको नेतृत्वमा बंगलादेशमा पनि पठाओले राम्रो बजार बनाइरहेको छ । त्यहाँ पठाओ बाइक, कार र आटोरिक्साको सेवा तीन गुणासम्म वृद्धि भएको छ । पेशाले चार्टड एकाउण्टेण्ट (सीए) रहेका थकालीसँग भारतको बैंग्लोरस्थित सीए फर्ममा काम गरेको अनुभव छ । उनले सीजी ग्रुपमा एसेट्स म्यानेजरको रुपमा सात वटा देशमा रहेका सीजीका ४२ वटा प्रोपटिज सम्हालिसकेका छन् ।