सामसुङ र श्रमिक संघबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास
काठमाडौं । दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बुधबार पुनः वार्ता सुरु भएको छ । सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा सहभागी भएका छन् । विश्वकै अग्रणी स्मृति चिप उत्पादक कम्पनी सामसुङमा बोनस वितरणको विषयमा व्यवस्थापन र श्रमिक सङ्घबीच विवाद बढेपछि संघले बिहीबारदेखि हड्ताल सुरु गर्ने चेतावनी दिएको थियो । यसले अर्धचालक उत्पादनमा गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ । यो हड्ताल सन् २०२४ मा भएको हड्तालभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ । त्यतिबेला करिब ६ हजार कामदार आन्दोलनमा सहभागी भएका थिए । यसपटक भने कम्पनीले कृत्रिम बुद्धिमत्ताबाट प्रेरित प्रविधि बजारको तीव्र विस्तारका कारण ठूलो नाफा कमाइरहे पनि त्यसको उचित हिस्सा कामदारलाई नदिएको भन्दै असन्तोष चर्किएको छ । दक्षिण कोरियाको श्रम मन्त्रालयका अनुसार बुधबार दिउँसो पुनः वार्ता सुरु गरिएको हो । सरकारको प्रयास हड्ताल टार्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ । सामसुङले यस वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा करिब ७५० प्रतिशतले बढेको जनाएको थियो । साथै, मे महिनामा कम्पनीको बजार मूल्य पहिलो पटक १ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको थियो । श्रमिक संघले वार्षिक तलबको ५० प्रतिशतमा सीमित गरिएको बोनस सीमा हटाउन र कम्पनीको सञ्चालन नाफाको १५ प्रतिशत बोनसका रूपमा वितरण गर्न माग गरेको छ । संघले बुधबार जारी गरेको वक्तव्यमा राष्ट्रिय श्रम सम्बन्ध आयोगले अघि सारेको मध्यस्थता प्रस्ताव आफूहरूले स्वीकार गरेको तर कम्पनी व्यवस्थापनले अस्वीकार गरेको जनाएको छ । त्यसपछि संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबारदेखि कानुनी रूपमा आम हड्ताल सुरु गर्ने घोषणा गरेको हो । संघका कानुनी सल्लाहकारका अनुसार करिब ५० हजार ५ सय कामदार १८ दिनसम्म उत्पादन लाइनबाट बाहिरिने तयारीमा छन् । यता कम्पनी व्यवस्थापनले भने श्रमिक संघका माग अत्यधिक भएको र ती माग स्वीकार गर्दा कम्पनी सञ्चालनको आधारभूत सिद्धान्त नै कमजोर हुने प्रतिक्रिया दिएको छ । यो विवादले दक्षिण कोरियामा व्यापक चिन्ता पैदा गरेको छ, किनभने अर्धचालक उद्योग देशको अर्थतन्त्रको मुख्य आधार मानिन्छ । कुल निर्यातको करिब ३५ प्रतिशत हिस्सा अर्धचालक क्षेत्रबाट आउने गर्छ । राष्ट्रपतिको कार्यालयले यसअघि वार्ता असफल भएकोप्रति 'गहिरो दुःख' व्यक्त गर्दै सम्भावित आर्थिक असरलाई ध्यानमा राखी दुवै पक्षलाई संवाद जारी राख्न आग्रह गरेको थियो । राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद् बैठकमा श्रमिक आन्दोलन 'निश्चित सीमाभित्र' रहनुपर्ने बताएका थिए । विशेषज्ञहरूका अनुसार सामसुङको उत्पादन आंशिक रूपमा मात्रै रोकिए पनि त्यसले विश्वव्यापी प्रविधि आपूर्ति शृंखलामा असर पार्न सक्छ । यद्यपि, श्रमिक संघले मर्मत तथा उपकरण परीक्षणका कारण यसअघि पनि उत्पादन अस्थायी रूपमा रोकिएको उदाहरण दिँदै वर्तमान आन्दोलनलाई सामान्य औद्योगिक प्रक्रिया भित्रकै विषय भएको दाबी गरेको छ । यदि हड्तालले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा उत्पन्न गर्ने देखिए सरकारसँग आपत्कालीन मध्यस्थता अधिकार प्रयोग गरेर औद्योगिक आन्दोलन रोक्ने कानुनी अधिकार पनि रहेको बताइएको छ । रासस
पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए । उनको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो ।
७ करोड लागतमा जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर र दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिब ७ करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ । कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम-कागबेनी सडक स्तरोन्नतिका लागि करिब सात करोड लागतमा ठेक्का भई सडक स्तरोन्नति सुरु भएको जानकारी दिइन् । कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम-कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको उनले बताइन् । आयोजना प्रमुख शर्माका अनुसार जोमसोम-कागबेनी सडक स्तरोन्नतिका लागि कालिमाता-थापाकाजी-रसुवा जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ । चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भएको जोमसोम-कागबेनी सडक स्तरोन्नति जेठको पहिलो हप्तादेखि सुरु गरिएको निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाले जानकारी दिए । चार महिनाको सम्झौता अवधि रहेको उक्त सडक स्तरोन्नति भदौ १५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने उनले उल्लेख गरे । कागबेनीबाटख सडक स्तरोन्नतिको काम सुरु गरिएको उनको भनाइ छ । जोमसोम-कागबेनीअन्तर्गत नौ किलोमिटर दूरीमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट, ९०० घनमिटर आरसिसी ढलानलगायत कार्य गरिने आयोजना कार्यालयले जनाएको छ । जोमसोमबाट माथि एक किलोमिटर दूरीमा वर्षाका कारण सडक भाँसिएर क्षति भएकाले उक्त स्थानमा सडक संरक्षणका लागि ग्याविन वाल लगाउने कार्य गरिने छ । जोमसोम-कागबेनी खण्डको पान्डाखोला पुलको उत्तरतर्फ पुलसँगै आरसिसी ढलान गरिने छ । साथै सडकको ड्रेन र प्रोट्रेक्सन वाल नभएका स्थानमा ड्रेन निर्माण र मेसिनरी वाल लगाइने स्थलगत इञ्चार्ज थापाले जानकारी दिए । रासस