चालू पूँजी कर्जा ६० प्रतिशतसम्म दिन मोरङ उद्योग व्यापार संघको सुझाव
काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ । साउन २२ गते शुक्रबार विराटनगरमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले सुझाव पत्र गभर्नर पौडेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष राठीले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले लिएको लचिलो मौद्रिक कार्यदिशा तथा निजी क्षेत्रमैत्री व्यवस्थाको स्वागत गरे । उनले मौद्रिक नीतिमा भएका व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे । सरकारले लिएको ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक उत्पादन र लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । संघले चालू पूँजी कर्जासम्बन्धी कडा प्रावधानलाई व्यावहारिक र लचिलो बनाउन सुझाव दिएको छ । उद्योगको नगद प्रवाह र प्रकृतिका आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजी कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्न पनि संघले माग गरेको छ । त्यस्तै, साना तथा मझौला उद्योग–व्यवसायका लागि स्प्रेड दर न्यून गर्न सुझाव दिइएको छ । निर्यातमुखी उद्योगलाई सहुलियतपूर्ण डलर सटहीदर र सस्तो ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनुपर्ने संघको माग छ । आर्थिक शिथिलताबाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत दिन कम्तीमा एक वर्षसम्म बिना हर्जाना तथा जरिवाना कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिनुपर्ने संघले बताएको छ । रियल स्टेट क्षेत्रको कर्जा सीमा, जोखिम भार र धितो मूल्यांकनमा पुनरावलोकन गर्न पनि सुझाव दिइएको छ । उद्योग–व्यवसायको ऋण प्रोभिजनिङ गर्दा ‘बुक लस’को सट्टा ‘क्यास लस’लाई मान्यता दिनुपर्ने संघको माग छ ।त्यसैगरी, सरकारले पुँजीगत खर्च बढाउन राष्ट्र बैंकले वित्तीय सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ । सार्वजनिक बिदाका कारण व्यावसायिक कारोबार प्रभावित हुन नदिन बैंक तथा वित्तीय संस्थामा वार्षिक १३ दिन मात्र बिदा दिने व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ । ‘असारे विकास’ तथा आर्थिक वर्षको अन्त्यमा हुने वित्तीय चाप अन्त्य गर्न वैशाखदेखि चैतसम्मको अवधिलाई आर्थिक वर्ष कायम गर्नुपर्ने सुझावसमेत संघले दिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले राष्ट्र बैंकले नीतिगत सुधारका कार्यक्रमलाई द्रुत गतिमा कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे । अध्यक्ष राठी र वरिष्ठ उपाध्यक्ष साहले संघका तर्फबाट तयार पारिएको सुझाव पत्र गभर्नर पौडेललाई हस्तान्तरण गरेका थिए ।
राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा–मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा ‘डर्टी गेम’ हो । यसमा अष्टावक्रझैँ टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’ उनले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा राखे ।
ब्लड सुगर घटाउन मेथीको पानी कति प्रभावकारी ? यस्तो भन्छ अनुसन्धान
काठमाडौं । मधुमेह भएका व्यक्तिमाझ मेथीको पानी लोकप्रिय घरेलु उपाय बनेको छ । बिहान खाली पेट मेथी भिजाएको पानी पिउँदा ब्लड सुगर नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिन्छ । तर मेथीको पानीले वास्तवमै ब्लड सुगर घटाउन मद्दत गर्छ त ? यसबारे वैज्ञानिक अनुसन्धानले केही सम्भावित फाइदा देखाए पनि यसलाई मधुमेहको औषधिको विकल्प भने मानिएको छैन । मधुमेह नियन्त्रणका लागि चिकित्सकले सुझाएको औषधि, सन्तुलित आहार र नियमित व्यायाम महत्वपूर्ण हुन्छ । घरेलु उपायका भरमा मात्रै मधुमेह नियन्त्रण गर्न खोज्नु जोखिमपूर्ण हुन सक्छ । मेथीको पानी किन चर्चामा छ ? मेथीका बीउमा घुलनशील फाइबर, प्रोटिन, आइरन, म्याग्नेसियमलगायत विभिन्न जैविक तत्व पाइन्छन् ।अनुसन्धानअनुसार मेथीमा पाइने घुलनशील फाइबरले कार्बोहाइड्रेट पाचन तथा ग्लुकोज शरीरमा अवशोषण हुने प्रक्रियालाई केही ढिलो बनाउन सक्छ। यसले खाना खाएपछि ब्लड सुगर एक्कासि बढ्न नदिन सहयोग गर्न सक्ने मानिन्छ । तर यसको प्रभाव व्यक्तिको खानपान, जीवनशैली, औषधि र मधुमेहको अवस्थाअनुसार फरक हुन सक्छ । त्यसैले मेथीलाई सहयोगी उपायका रूपमा मात्र लिनुपर्ने विशेषज्ञहरूको सुझाव छ । मेथीका कुन तत्वले ब्लड सुगरमा असर पार्न सक्छन् ? मेथीमा पाइने ग्यालाक्टोम्यानन नामक घुलनशील फाइबरले कार्बोहाइड्रेट पाचन र ग्लुकोज अवशोषणको गति कम गर्न सक्ने अध्ययनले देखाएका छन् । मेथीमा पाइने ४–हाइड्रोक्सीसोल्युसिन नामक अमिनो एसिडले इन्सुलिनको स्रावमा सहयोग गर्न सक्ने सम्भावनाबारे अध्ययन भएका छन् । मेथीमा पाइने ट्राइगोनेलिन नामक प्राकृतिक तत्वले इन्सुलिन संवेदनशीलता बढाउन सक्ने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको छ । यद्यपि, यी प्रभावलाई स्पष्ट रूपमा प्रमाणित गर्न अझ ठूला र गुणस्तरीय मानव अध्ययन आवश्यक छन् । अनुसन्धानले के भन्छ ? केही क्लिनिकल परीक्षण तथा मेटा–विश्लेषणमा मेथी नियमित सेवन गर्दा फास्टिङ ब्लड सुगर र एचबीए१सीमा सामान्य सुधार देखिएको छ । तर उपलब्ध वैज्ञानिक प्रमाणको गुणस्तर मध्यम रहेको बताइएको छ। त्यसैले मेथीको पानीले मात्रै मधुमेह नियन्त्रण गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्न मिल्दैन । आयुर्वेदमा पनि मेथीलाई पाचन सुधार तथा मधुमेह व्यवस्थापनमा सहयोगी आहारका रूपमा प्रयोग गरिँदै आएको छ । मेथीको पानी कसरी बनाउने ? डाक्टरको सल्लाहअनुसार मेथीको पानी सेवन गर्ने हो भने सामान्यतया यसरी तयार गर्न सकिन्छ। -राति एकदेखि दुई चम्चा मेथीका बीउ एक गिलास पानीमा भिजाउने । -बिहान पानी छानेर पिउने । -इच्छा भए भिजाइएका मेथीका बीउसमेत चपाएर खान सकिन्छ । मेथीको पानीमा पाइने फाइबर तथा जैविक तत्वले ब्लड सुगर नियन्त्रणमा केही सहयोग गर्न सक्ने सम्भावना भए पनि यसलाई मधुमेहको उपचार वा औषधिको विकल्प मान्न मिल्दैन । मधुमेह भएका व्यक्तिले चिकित्सकले तोकेको औषधि आफैं बन्द गर्नु हुँदैन । सन्तुलित आहार, नियमित व्यायाम र चिकित्सकीय निगरानीसँगै मेथीलाई सहयोगी आहारका रूपमा लिन सकिन्छ । विशेषगरी मधुमेहको औषधि सेवन गरिरहेका व्यक्ति वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले नियमित रूपमा मेथीको पानी सेवन गर्नुअघि चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ । एजेन्सीको सहयोगमा