१० मेगावाटसम्मका जलविद्युत्को पीपीए गरिने

काठमाडौं । सरकारले १० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।  सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले साना तथा उत्पादनमुखी जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए (पीपीए) अगाडि बढाइने बताए ।  यो पहलले ऊर्जा क्षेत्रमा निजी लगानीकर्ताहरूलाई थप उत्साहित बनाउने र स्थानीयस्तरमा ऊर्जा पहुँच पु¥याउन मद्दत गर्ने विश्वास लिइएको छ ।

नेपाली मुद्रामा अफसोर बण्ड जारी हुने, स्वच्छ ऊर्जा र डायसपोरा बण्ड ल्याइने

काठमाडौं । सरकारले नेपाली मुद्रामा अफसोर बण्ड छिट्टै जारी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषण गरे । त्यसैगरी सरकारले स्वच्छ ऊर्जा बण्ड र डायसपोरा बण्ड पनि जारी गर्ने नीति लिएको छ । जलवायु परिवर्तनसम्बन्धी उपलब्ध कोषहरूको अधिकतम उपयोग गर्ने योजना पनि सरकारले अघि सारेको छ । अर्थमन्त्री वाग्लेले हाल वैदेशिक मुद्राको सन्तोषजनक सञ्चिति रहेको सन्दर्भमा उक्त सञ्चितिको केही प्रतिशत रकमलाई सोभरेन वेल्थ फन्डका रूपमा परिचालन गरिने बताए ।

तोकिएकै समयमा आयोजना सम्पन्न गरिने, निर्माण र यातायात क्षेत्रका समस्या सम्बोधन हुने

काठमाडौं । सरकारले विकास आयोजनाहरूलाई तोकिएकै मितिमा सम्पन्न गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।  सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले मुलुकको विकास निर्माणको मेरुदण्डका रूपमा रहेको निर्माण क्षेत्रमा देखिएका विद्यमान विभिन्न समस्याहरूलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।  विगत लामो समयदेखि निर्माण व्यवसायीहरूले भोग्दै आएका भुक्तानीको समस्या, राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त गति र समन्वयको अभावलाई चिर्दै आयोजनाहरू निर्धारित समयमै सक्ने गरी कार्यविधि र अनुगमन प्रणालीलाई चुस्त बनाइने बजेटमा उल्लेख छ । यसैगरी, सरकारले देशको सडक यातायात क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउने योजना पनि अघि सारेको छ । सर्वसाधारणको दैनिक जीवन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको सडक यातायातलाई व्यवस्थित गर्न सडक पूर्वाधारको स्तरोन्नति, ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र सार्वजनिक यातायातको सेवा प्रवाहमा सुधार ल्याइने घोषणा गरिएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले भने, ‘विकास आयोजनाहरू समयमै नसकिँदा राज्यको लागत बढ्ने र नागरिकले सास्ती पाउने परिपाटीको अन्त्य गरिनेछ । निर्माण क्षेत्रका समस्या समाधान गरी सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले विशेष जोड दिएको छ । ’