बहुमतको दम्भमा प्रतिनिधिसभा नियमावली पारित गरिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार पारित भएको ‘प्रतिनिधिसभा नियमावली, २०८३’ प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कांग्रेसले बहुमतको दम्भका आधारमा विपक्षी दलहरूको फरक मत, संशोधन र संवैधानिक प्रश्नहरूलाई बेवास्ता गर्दै जबरजस्ती नियमावली पारित गरिएको आरोप लगाएको छ । सोमबार प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा संसद्को यो कदमले कानुन निर्माणको सर्वमान्य सिद्धान्तको अपमान गरेको र सभामुखले समेत यस किसिमको प्रक्रियालाई प्रश्रय दिएको भन्दै आपत्ति जनाइएको छ ।  कांग्रेसले यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र विधिको शासन विपरीत भएको ठहर गरेको छ । नियमावलीको प्रस्तावनामा नै बाधा अड्काउ फुकाउने प्रावधान राखेर त्यसलाई मार्गदर्शक सिद्धान्त बनाउन खोजिएको भन्दै कांग्रेसले विरोध गरेको छ ।  ‘संसद्का प्रत्येक अभ्यासमा बाधा अड्काउ फुकाउने हो भने विधि किन चाहियो ?’ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा अपवाद स्वीकार्य हुन्छ, तर अपवादलाई नै दर्शन बनाउने कुरा स्वीकार्य हुन सक्दैन ।’ नियमावलीको नियम २५९ मा रहेको ुप्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनिु भन्ने वाक्यांशप्रति कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका सांसदहरूलाई निलम्बनबाट जोगाउनका लागि यो प्रावधान ल्याइएको कांग्रेसको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नियमावली संविधानभन्दा माथि हुन सक्दैन। कानुन बनाउने संसद्ले आफ्ना लागि विशेष कानुनी संरक्षण खोज्नु आफ्नै मर्यादाको उपहास गर्नु हो ।’ विशेषाधिकारका नाममा संसद्लाई जवाफदेहिताबाट बाहिर राख्न नमिल्ने कांग्रेसको स्पष्ट अडान छ । त्यसैगरी, नियमावलीको नियम १४० ले संविधान संशोधन सम्बन्धी संवैधानिक प्रक्रियाको अपव्याख्या गरेको कांग्रेसको निष्कर्ष छ । यस प्रावधानले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको विशेष अधिकारलाई कुण्ठित गरी संविधानको मूल भावनालाई कमजोर बनाएको भन्दै कांग्रेसले यसलाई ‘असंवैधानिक र अस्वीकार्य’ घोषणा गरेको छ । बहुमतको बलमा अल्पमतका तर्क र लोकतान्त्रिक मूल्यहरूको उपेक्षा गरिएको भन्दै नेपाली कांग्रेसले यस नियमावलीका विवादित विषय र पारित प्रक्रियाप्रति आफ्नो स्पष्ट असहमति दर्ज गरेको छ ।  साथै संविधानको सर्वोच्चता, कानुनी शासन र पारदर्शिताको पक्षमा संसद् भित्र र बाहिर दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत कांग्रेसले व्यक्त गरेको छ ।

वैदेशिक रोजगारीका नाममा करोड बढी ठगेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुुसरा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निशा सिवालाई पक्राउ गरिएको हो । अभियुक्तमध्ये कृष्णकुमार र भागिरथीले क्रोएशिया, ग्रीसलगायत देश पठाइदिने भन्दै १४ जना पीडितबाट रु ५८ लाख ६८ हजार ठगी गरेको आरोप छ ।  प्रवेशले सर्बिया पठाइदिने भन्दै चार जना पीडितबाट १८ लाख ९० हजार, प्रज्वलले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ३१ लाख र निसाले कोरिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट १ लाख पाँच हजार लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा ४२ १ (च) अनुसार नेविसंघको अध्यक्ष पदमा धनकुटाकी करुणा कटुवाललाई नियुक्त गरेका हुन् । नेविसंघको कार्यकाल समाप्त भई संगठन स्वतः विघटन भएको अवस्थामा नयाँ नेतृत्व चयन गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । नवनियुक्त अध्यक्ष कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको कांग्रेसले जनाएको छ ।