बहुमतको दम्भमा प्रतिनिधिसभा नियमावली पारित गरिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार पारित भएको ‘प्रतिनिधिसभा नियमावली, २०८३’ प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कांग्रेसले बहुमतको दम्भका आधारमा विपक्षी दलहरूको फरक मत, संशोधन र संवैधानिक प्रश्नहरूलाई बेवास्ता गर्दै जबरजस्ती नियमावली पारित गरिएको आरोप लगाएको छ ।

सोमबार प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा संसद्को यो कदमले कानुन निर्माणको सर्वमान्य सिद्धान्तको अपमान गरेको र सभामुखले समेत यस किसिमको प्रक्रियालाई प्रश्रय दिएको भन्दै आपत्ति जनाइएको छ । 

कांग्रेसले यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र विधिको शासन विपरीत भएको ठहर गरेको छ ।

नियमावलीको प्रस्तावनामा नै बाधा अड्काउ फुकाउने प्रावधान राखेर त्यसलाई मार्गदर्शक सिद्धान्त बनाउन खोजिएको भन्दै कांग्रेसले विरोध गरेको छ । 

‘संसद्का प्रत्येक अभ्यासमा बाधा अड्काउ फुकाउने हो भने विधि किन चाहियो ?’ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा अपवाद स्वीकार्य हुन्छ, तर अपवादलाई नै दर्शन बनाउने कुरा स्वीकार्य हुन सक्दैन ।’

नियमावलीको नियम २५९ मा रहेको ुप्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनिु भन्ने वाक्यांशप्रति कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका सांसदहरूलाई निलम्बनबाट जोगाउनका लागि यो प्रावधान ल्याइएको कांग्रेसको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नियमावली संविधानभन्दा माथि हुन सक्दैन। कानुन बनाउने संसद्ले आफ्ना लागि विशेष कानुनी संरक्षण खोज्नु आफ्नै मर्यादाको उपहास गर्नु हो ।’ विशेषाधिकारका नाममा संसद्लाई जवाफदेहिताबाट बाहिर राख्न नमिल्ने कांग्रेसको स्पष्ट अडान छ ।

त्यसैगरी, नियमावलीको नियम १४० ले संविधान संशोधन सम्बन्धी संवैधानिक प्रक्रियाको अपव्याख्या गरेको कांग्रेसको निष्कर्ष छ । यस प्रावधानले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको विशेष अधिकारलाई कुण्ठित गरी संविधानको मूल भावनालाई कमजोर बनाएको भन्दै कांग्रेसले यसलाई ‘असंवैधानिक र अस्वीकार्य’ घोषणा गरेको छ ।

बहुमतको बलमा अल्पमतका तर्क र लोकतान्त्रिक मूल्यहरूको उपेक्षा गरिएको भन्दै नेपाली कांग्रेसले यस नियमावलीका विवादित विषय र पारित प्रक्रियाप्रति आफ्नो स्पष्ट असहमति दर्ज गरेको छ । 

साथै संविधानको सर्वोच्चता, कानुनी शासन र पारदर्शिताको पक्षमा संसद् भित्र र बाहिर दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत कांग्रेसले व्यक्त गरेको छ ।

Share News