काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय रहेको बताएका छन् ।
रसुवामा आएको बाढीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका अध्यक्ष ओलीले बाढी र पहिरोका कारण जनधनको अपूरणीय क्षति भएको उल्लेख गरेका हुन् ।
प्रभावित क्षेत्रको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यसपटकको बाढीको प्रकृति र बहावको धार अस्वाभाविक रहेको बताए । अध्यक्ष ओलीले उद्धार र तत्कालको राहत मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन पुनर्निर्माण र व्यवस्थापनमा जोड दिए । उच्च पदस्थ अधिकारीहरूको भ्रमण केवल औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै उनले सरकारको प्रभावकारिता जनताले प्रत्यक्ष महसुस गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘मानिसहरूले भाग्ने समय समेत नपाउने गरी बस्तीमा बाढी पसेको छ । खोलाको सिमाना नै नरहने गरी आएको यो असाधारण बाढीले हजारौँको संख्यामा भौतिक संरचना ध्वस्त पारेको छ । झाडी र घरका छतहरूमा शव भेटिनु अत्यन्तै हृदयविदारक छ । बाटोघाटो, पुल र अन्य भौतिक संरचनाको पुनर्निर्माणका साथै पीडितहरूको आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका लागि ठोस योजना आवश्यक छ ।'
राहत र उद्धारमा खटिएका सरकारी निकायहरूलाई अझ सक्रिय बनाउनुपर्नेमा जोड दिँदै उनले नेकपा (एमाले) को तर्फबाट पनि राहत र सहयोगको कार्यलाई थप तिब्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।