नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् । 

नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग सोमबार (आज) सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने जानकारी दिए ।

भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संरक्षण गर्न सक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताए। 

हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लिखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्फबाट पेस गरिएका सुझावलाई समेट्न उनले माग गरे । 

त्यसअवसरमा प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई पनि हस्तान्तरण गरेको थियो । 

स्मरणपत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदा असान्दर्भिक, अव्यावहारिक र पुस्तौंदेखि विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेको भन्दै यस्ता प्रावधानहरु खारेज गर्न माग गरिएको छ । 

आजै सो प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी उक्त ऐनमा समेट्नका लागि एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुतथ गरेको थियो ।

Share News