प्रतिनिधिसभा बैठक दुई घण्टा ढिला सुरु
काठमाडौं, । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे सुरु भएको छ । मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको अवरोधका कारण समयमै सञ्चालन हुन सकेन । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्दै सदनमा विरोध जनाएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय महतत्वको विषयसँग सम्बन्धित भएकाले त्यसबारे स्पष्ट जानकारी र प्रमाण प्रस्तुत गरिनुपर्ने धारणा राखेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको औपचारिक धारणा पनि माग गरेका छन्। यता विपक्षीको उक्त मागप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमत नभएको बताइएको छ। सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा बैठक निर्धारित समयमै सञ्चालन हुन नसकेको हो । दलहरूबीचको छलफलपछि प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेबाट सुरु भएको संसद् सचिवालयले जनाएको छ । सदनमा जारी विवाद समाधानका लागि राजनीतिक तहमा थप संवाद भइरहेको बताइएको छ ।
विपक्षी दल अडानमा कायमै हुँदा प्रतिनिधिसभा बैठक अझै अनिश्चित
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार (आज) अपरान्ह १ बजेका लागि आह्वान गरिए पनि समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी नमागेसम्म बैठक अघि बढ्न नदिने अडान कायम राखेका छन् । संसद् सचिवालयले भने बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले सचिवालय बैठक सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । यसैबीच नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री तथा सांसद प्रकाशसिंह कार्कीले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सभामुख निष्पक्ष रेफ्रीको भूमिकामा रहनुपर्नेमा खेलाडी बनेर आफै गोल गर्ने शैलीमा अघि बढ्न खोज्नु आपत्तिजनक भएको टिप्पणी गरे । सत्तापक्ष र विपक्षी दलबीच जारी विवादका कारण प्रतिनिधिसभा बैठक कहिले सुरु हुने भन्ने विषय अझै अन्योलमै रहेको छ ।
सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भन्नु भएको होइन
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको नभनेको बताएका छन् । मंगलबार मन्त्रिपरिषद बैठकपछिको प्रेस ब्रिफिङमा पत्रकारले यो विषयमा सोध्दा उनले भने, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो, सीमा नै मिचेको उहाँ आफैंले भन्नु भएको होइन ।’ यसमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको उनको भनाइ छ । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीको रहेको उनको भनाइ छ । संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको जग्गा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए । अहिले प्रधानमन्त्री वालेन्द्र शाहको उक्त अभिव्यक्तिका विषयमामा सडकदेखि संसदसम्म आलोचना भइरहेको छ । यस्तै, उनले सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन: सदनमा जवाफ दिन तयार रहेको पनि बताएका छन् । उनले त्याे भनाइ सत्य नै भए पनि प्रधानमन्त्रीको आफ्नै भनाइ भने नरहेको बताएका छन् । उनले अरुले भनेको कुुरा संसदमा उल्लेखमात्रै गरेको बताए ।