बालेनको शैलीमा गोपी हमाल, अतिक्रमित जग्गामा डोजर लगाउने
काठमाडौं । धनगढी उप-महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरू सात दिनभित्र आफैं हटाउन निर्देशन दिएको छ । उप-महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । सूचना अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १८ डिपो बजारमा पर्ने साबिक जिल्ला कैलाली, फुलवारी वडा नं. ५, सिट नं. ०२७-१०५७ को कित्ता नम्बर १०१, १०२, १०३ र ५५३ को जग्गामा अवैध रूपमा भौतिक संरचनाहरू निर्माण गरिएको पाइएको छ । क्रमशः २०९.२५, २०७.७५, १३५.४५ र ३९१.२५ वर्गमिटर क्षेत्रफल रहेका यी जग्गाहरू नेपाल सरकारको सरकारी तथा सार्वजनिक (ग्रीनबेल्ट, गाउँ विकास समितिको कार्यालय र चन्द्रोदय निम्न माध्यमिक विद्यालय) को स्वामित्वमा रहेका छन् । उप-महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचनामा भनिएको छ, ‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ।’ तोकिएको समयसीमा भित्र अवैध संरचनाहरू नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानून बमोजिम उप-महानगरपालिका आफैंले ती संरचनाहरू भत्काउने र कानूनी कारबाही प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ । उप-महानगरपालिकाले यस कार्यको प्रभावकारी कार्यान्वयन र आवश्यक समन्वयका लागि नगर प्रमुखको सचिवालय, नगर उप-प्रमुखको सचिवालय, जिल्ला प्रशासन कार्यालय कैलाली (शान्ति सुरक्षाका लागि), १८ नम्बर वडा कार्यालय र उप-महानगरपालिकीय प्रहरी बललाई समेत बोधार्थ पठाइसकेको छ ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१ औं सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहनुभएको छ । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा.डा. सुरेशराज शर्मा रहेका छन् । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य छन् भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति छन् । समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । काठमाडौं विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच नयाँ दिल्लीमा भेटवार्ता
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास र सुरक्षा सहकार्यका विविध पक्षमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । यसका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद, सहकार्य र पारस्परिक समझदारी अभिवृद्धि गर्ने विषयमा समेत विचार(विमर्श भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो भ्रमण दुई देशका राजनीतिक नेतृत्व र पार्टी स्तरमा संस्थागत सम्बन्ध सुदृढ बनाउने अवसरको रूपमा रहेको छ । गृहमन्त्री शाहसँगको भेटअघि मंगलबार नै सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । त्यहाँ उनीहरूले भाजपाका नेताहरू तथा पदाधिकारीहरूसँग भेटघाट गरेका थिए । सोमबार भारत प्रस्थान गरेको रास्वपाको यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् । भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने र अयोध्याको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।