अवैध जडीबुटी बेच्दै पक्राउ परेका ५ जनालाई २ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध जडिबुटीसहित पक्राउ परेका ५ जनालाई २ लाख रूपैयाँ जरिवाना गराएर छाडेको छ । भोजपुर नगरपालिका-९, पानीट्याङ्कीबाट अवैध जडिबुटीसहित आइतबार पक्राउ परेका उनीहरुलाई मङ्गलबार जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । 

पक्राउ पर्नेमा सिमरा नगरपालिका-१८ का २१ वर्षीय सन्तोषकुमार नट, सर्लाहीको इश्वरपुर नगरपालिका-५ का २० वर्षीय रबि किसन नट, सोही ठाउँका २२ वर्षीय सुरेन्द्र नट, ३३ वर्षीय अजय कुमार नट र सिरहा कर्जना नगरपालिका-५ का ३० वर्षीय जितेन्द्र कुमार राठोर रहेको प्रहरी प्रमुख लामाले बताए ।

स्थानीयवासीलाई अवैध जडीबुटी बेच्दै गरेको अवस्थामा संलग्नहरुलाई पक्राउ गरी कानुनी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएकामा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम एकमुस्ट २ लाख रूपैयाँ जरिवाना हुने गरी कारबाही गरिएको छ । पक्राउ परेकाहरूले तोकिएको जरिवाना रकम जम्मा गरेकाले आज छोडिएको प्रहरी प्रमुख लामाले बताए । 

Share News