चुनावी पराजयपछि एमालेभित्र समीक्षा र पुनर्गठनको बहस

काठमाडौं । नेकपा एमालेमा चुनावी पराजयपछि पार्टीको समीक्षा र पुनर्गठनलाई लिएर नेतृत्व तहमा बहस सिर्जना भएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन परिणामको निर्मम समीक्षा गर्दै संगठनको व्यापक पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले चुनावी पराजयबाट पाठ सिक्न नसके पार्टीले थप चुनौती सामना गर्नुपर्ने बताए । उपाध्यक्ष पौडेलले पार्टीलाई समयानुकूल ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिँदै, समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प पार्टीमा नरहेकोमा जोड दिए । पौडेलले निर्वाचन परिणामले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता उजागर गरेको उल्लेख गर्दै संगठन, कार्यशैली र नेतृत्वको भूमिकाबारे खुला छलफल हुनुपर्ने धारणा राखे । उनले जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न आवश्यक रहेको बताए । यद्यपि पौडेलको भनाइप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले फरक दृष्टिकोण प्रस्तुत राखेका थिए ।  कार्यक्रममा अध्यक्ष ओलीले समीक्षा आवश्यक भए पनि त्यसलाई पार्टी कमजोर बनाउने वा सार्वजनिक रूपमा आलोचनाको विषय बनाउने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका थिए । ‘समीक्षा भनेको बिथोल्न होइन, समीक्षा भनेको जग हँसाइ गर्नलाई होइन,’ ओलीले भनेका थिए ।  उनले समीक्षा प्रक्रियाको उद्देश्य कमजोरी पहिचान गरी सुधारको बाटो खोज्नु हुनुपर्ने उल्लेख गर्दै पार्टीलाई निराशा र अन्योलतर्फ धकेल्ने खालका अभिव्यक्ति उचित नहुने बताएका थिए । ओलीले एमालेले विगतमा पनि विभिन्न चुनौतीहरूको सामना गर्दै आफूलाई सशक्त रूपमा उभ्याएको दाबी गर्दै एकता, अनुशासन र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । पौडेलको पुनर्गठनसम्बन्धी धारणा र ओलीको प्रतिक्रियाले एमालेभित्र चुनावी परिणामको समीक्षा कसरी गर्ने भन्ने विषयमा फरक दृष्टिकोण रहेको देखिएको छ ।  पौडेलले पराजयको गहिरो समीक्षा गरी संगठनात्मक पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् भने ओलीले नेतृत्वले समीक्षा प्रक्रियालाई पार्टीको प्रतिष्ठा र एकतासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

४ कम्पनीलाई जरिवाना, ५ व्यवसायलाई सुधारको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ४ कम्पनीलाई जरिवाना तिराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले काठमाडौं, भक्तपुर र ललितपुरका ४ वटा व्यवसायलाई जरिवाना र ५ व्यवसायलाइ कारबाही गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका-१ धोबीघाटस्थित टाउन ब्वाइज एण्ड गर्ल्स होस्टेललाई उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक प्रावधान पूरा नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।  यस्तै, ललितपुर-१३ जावलाखेलस्थित ब्ल्यू फक्स रेस्टुरेन्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । साथै, काठमाडौं महानगरपालिका-६ बौद्धस्थित शाम्भाला होम प्रालिलाई १० हजार रुपैयाँ र कोल्ड एण्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार विभिन्न व्यवसाय तथा फर्महरूमा गरेको अनुगमनपछि जरिवाना तथा निर्देशन जारी गरेको हो । उपभोक्ता अधिकार उल्लङ्घन तथा कानुनी प्रावधान पालना नगरेका कारण केही व्यवसायलाई सामान्य निर्देशन दिइएको छ । त्यस्तै ललितपुर-१५, सातदोबाटोस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर, भक्तपुरको चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित फिटकोर मस्कलाईन, काठमाडौं-१६, बनस्थलीस्थित बीएण्डबी इन्टरनेशनल ट्रेडिङ प्रालि, काठमाडौं-१७, डल्लुस्थित ताम्राकार ट्रेडर्स प्रालि र ललितपुर-१, कुपण्डोलस्थित आरएस स्टार ट्रेडर्स प्रालिलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

नक्कली कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गर्ने ओमप्रसाद पाण्डे पक्राउ

काठमाडौं । नक्कली व्यवसाय खडा गरेर प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ९ रातोपुल बस्ने पाण्डेलाई आज धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित जानकी मेडिकल कलेजको प्रांगणबाट प्रहरीले पक्राउ गरेको हो  ।  उनीमाथि नक्कली व्यवसाय खडा गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको गम्भीर आरोप लागेको छ । प्रहरीका अनुसार पाण्डेले महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ मा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रालि नामक नक्कली कम्पनी खडा गरेका थिए ।  उक्त कम्पनीको एकल सञ्चालक समेत रहेका उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी/गराई बैंकबाट कर्जा लिएका थिए ।  प्रभु बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सो रकम अन्यत्रै प्रयोग गरी उनले पटकपटक बैंकको पैसा दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । उक्त बैंकिङ कसूरको घटनामा संलग्न पाण्डेलाई पक्राउ गर्न सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट गत वर्षको २०८२ साल मंसिर २८ गते नै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएको थियो ।  अदालतबाट अनुमति पाएको लामो समयपछि आज उनलाई धनुषाबाट पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।