२४ घण्टामा २ हजार ४४५ चालक कारबाहीमा, राज्य कोषमा थपियाे २२.७६ लाख

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४४५ सवारीचालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन् । सो कारबाहीबाट राज्य कोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना र तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको हो । त्यस्तै लेन अनुशासन पालना नगर्ने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १४ जना र एकतर्फी सडकमा सवारी चलाउने १६६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४८७ जना चालकसमेत कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले सवारी अनुशासन कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ ।

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षका छोरा घाइते

काठमाडौं । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका-६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।  आक्रमणमा उनका ८ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।

विदेशबाट फर्किएका विजय बने राष्ट्रिय उत्कृष्ट कृषक, माछाबाट लाखौँ आम्दानी

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी राष्ट्रियस्तरका उत्कृष्ट कृषकका रूपमा परिचित बन्न सफल भएका छन् । ७ वर्षअघि रोजगारीको खोजीमा मलेसिया गएका चौधरीले त्यहाँ तीन वर्ष मजदुरी गर्दै मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी गरेका थिए । विदेशको कठिन श्रमपछि स्वदेश फर्किएका उनले कृषि क्षेत्रमा भविष्य खोज्ने निर्णय गर्दै माछापालन व्यवसाय सुरु गरे । उनै चौधरी हाल कृषि, वन तथा वातावरण मन्त्रालयबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गर्न सफल भएका छन् । मन्त्रालयले सातै प्रदेशबाट २/२ जना गरी १४ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । पुरस्कार स्वरूप चौधरीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । राष्ट्रपतिबाट सम्मानित भएपछि कृषि पेसाप्रतिको आफ्नो उत्साह झन् बढेको चौधरी बताउँछन् । ‘राष्ट्रपतिबाट सम्मान पाउँदा थप हौसला मिलेको छ,’ उनले भने, ‘अब युवालाई पनि कृषि तथा उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने गरी व्यवसाय विस्तार गर्ने योजना बनाएको छु ।’ चौधरीले विगत सात वर्षदेखि लालझाडीको सिकलपट्टी क्षेत्रमा तीन बिघा जमिनमा पोखरी निर्माण गरी व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर उत्पादन विस्तार गर्ने तयारीसमेत गरेका छन् । हाल वार्षिक करिब ४५ क्विन्टल माछा उत्पादन तथा बिक्री गर्दै आएका उनले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी बचत हुने बताए । ‘हाम्रो उत्पादन झलारी, बेलौरी, वाणीलगायत स्थानीय बजारमा खपत भइरहेको छ । सरकारले आयातित माछाको प्रतिस्पर्धा व्यवस्थापन गर्दै स्वदेशी उत्पादनको बजार सुनिश्चित गरिदिनुपर्छ,’ उनले भने ।  उनका अनुसार हरेक वर्ष असोजदेखि माघसम्म माछा बिक्रीको मुख्य सिजन हुने गर्दछ । माछापालन व्यवसायबाट आफूले मात्रै नभई स्थानीयस्तरमा अन्य व्यक्तिले पनि रोजगारी पाएको उल्लेख गर्दै चौधरीले युवाहरूलाई विदेशभन्दा स्वदेशमै अवसर खोज्न आग्रह गरे । ‘माटोमा पसिना बगाउन तयार हुने हो भने युवा विदेशिनु पर्दैन । नेपालमै राम्रो आम्दानी र सम्मान दुवै कमाउन सकिन्छ,’ उनले भने ।