आइतबारदेखि ललितपुरमा घरेलु महासंघको महाधिवेशन, महिला उद्यमी सम्मेलन पनि सँगै

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा आयोजना हुने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहका अनुसार जेठ २४ र २५ गते सञ्चालन हुने महाधिवेशनमा देशभरका उद्यमीहरूको सहभागितासहित उद्योग क्षेत्रका समसामयिक मुद्दामा व्यापक छलफल हुनेछ । 'नयाँ नेतृत्व चयनदेखि नीतिगत बहससम्म महाधिवेशन केन्द्रित हुनेछ,' उनले भने ।

२०४७ सालमा स्थापना भएको महासंघले लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धिमा निरन्तर काम गर्दै आएको छ । हाल महासंघ सातै प्रदेश, ७७ जिल्ला र तीन सयभन्दा बढी पालिकामा विस्तार भइसकेको छ । केन्द्रीय महिला उद्यमी समितिअन्तर्गत पनि सातै प्रदेशका साथै ६२ जिल्लामा महिला उद्यमी सञ्जाल सक्रिय रहेको महासंघले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ । सम्मेलनले संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्यदिशा निर्धारण तथा उद्योग क्षेत्रका चुनौती र अवसरबारे गहन छलफल गर्ने अपेक्षा गरिएको छ ।

महासंघका उपाध्यक्ष शेभा गुरुङका अनुसार महाधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनुका साथै महिला उद्यमशीलता, आर्थिक सशक्तीकरण, नवप्रवर्तन र बजार विस्तारका विषयमा महत्वपूर्ण योजना तय गरिनेछ । महाधिवेशन अवधिभर स्वदेशी उत्पादनहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ ।

कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरी आवश्यक तयारी पूरा गरिएको महासंघले जनाएको छ । साथै सरोकारवाला निकाय र सञ्चारमाध्यमसँग सहकार्यको अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मीलगायतले तयारीबारे जानकारी दिएका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर था पा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Share News