गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको बताएकी छन् । विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सांसद दर्शनाले उक्त कुरा बताएकी हुन् ।   गोल्याण ग्रुपले सामाजिक कार्यमार्फत आफूलाई समाजसँग जोड्दै गएकोमा प्रशंसासमेत गरिन् ।  ‘व्यापार–व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा पनि लगानी गर्नुपर्छ, समाजसँग जोडिनु निकै राम्रो काम हो,’ उनले भनिन्, ‘गोल्याण ग्रुपले यही कुरा मनन गरेर समाजप्रतिको उत्तरदायित्व बहन गरिरहेको छ, यसले समाजसँगको सम्बन्ध पनि बलियो भएको छ ।’ गोल्याण ग्रुपको कर्पोरेट कार्यालय भएको स्थान आफ्नो निर्वाचन क्षेत्रसमेत भएको उल्लेख गर्दै सांसद दर्शनाले सामाजिक कार्यमा यस क्षेत्रका जनतालाई पनि जोड्न सुझाव दिइन् ।  उनले रक्तदानका साथै सामाजिक उत्तरदायित्वका अन्य कार्यले समाज लाभान्वित हुने बताइन् ।  ‘रगतको महत्व त्यतिबेला थाहा हुन्छ, जब कुनै व्यक्ति आफै वा उसको आफन्त अस्पतालको शैयामा रगतको अभावमा तड्पिरहेको हुन्छ,’ उनले भनिन्, ‘यो महत्त्वलाई बुझेर रक्तदान कार्यक्रम गर्नु समाजप्रतिको पवित्र योगदान हो ।’ गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले व्यवसायमार्फत राष्ट्रको अर्थतन्त्रमा योगदान दिएको उल्लेख गर्दै अब सामाजिक कार्यमार्फत समाजलाई सहयोग पुर्‍याउने कार्यलाई प्राथमिकता दिइएको बताए ।  सामाजिक कार्यको रुपमा रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।  ‘रगतको मूल्य अंकमा मापन वा कुनै बस्तुसँग तुलना गर्न सकिँदैन, जसलाई आवश्यक छ उसैलाई मात्र यसको महत्व हुन्छ,’ उनले भने । गोल्याणले युवा पुस्ताले गरेको परिवर्तनको सम्मान गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए । गोल्याण ग्रुपले जेनजी आन्दोलनका सहिदका बालबालिका र आमाबुवालाई शिक्षा र स्वास्थ्यमार्फत सहयोग गरिरहेको छ ।  २२ जना सहिदका ३२ जना बालबालिकालाई मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजारको शैक्षिकवृत्ति प्रदान गरिरहेको छ । त्यसैगरी २२ जना सहिदका ४३ बुवाआमालाई वार्षिक १० लाखको स्वास्थ्य बीमा सेवा दिएको छ ।  गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्याणले समाजप्रतिको आफ्नो दायित्वलाई मनन् गरेर व्यवस्थित तबरले सामाजिक कार्य तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको बताए । गोल्याण ग्रुपका निर्देशक शक्तिकुमार गोल्याणले रक्तदान कार्यक्रमले मुलुकभर बढ्दो रगत अभावलाई कम गर्न सहयोग गर्नेमात्र नभई गोल्याण ग्रुप र समाजबीचको सम्बन्ध पनि मजबुत बनाउन मद्दत पुग्ने बताए । कार्यक्रममा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड जनसम्पर्क प्रमुख ज्योति गैह्रेले रगतको बढ्दो अभावका कारण मानवजीवन संकटमा परिरहेको उल्लेख गर्दै उक्त संकटलाई केही मात्रामा भए पनि कम गर्न गोल्याण ग्रुपले आफ्नो तर्फबाट योगदान दिएको बताइन् ।  नेपाल रेडक्रस सोसाइटीका अनुसार हाल नेपालमा वार्षिक करिब साढे ३ लाखदेखि ४ लाख पिन्ट रगत आवश्यक पर्नेमा करिब १ लाख पिन्ट रगत अभाव हुने गरेको छ । ‘रक्तदान मानवजीवनलाई हामीले दिने सबैभन्दा अमूल्य योगदान हो, एक पिन्ट रगतले मानवता पुनर्जीवित हुन्छ र त्यसले भविष्यको लागि आशा र भरोसा प्रदान गर्दछ,’ उनले भनिन् । रक्तदान कार्यक्रममा गोल्याण ग्रुप अन्तर्गतका कर्मचारीसहित पत्रकार र समुदायका व्यक्तिसमेत गरी करिब १ सय जनाले रक्तदान गरेका थिए ।  

'युवालाई विदेशिन रोक्ने बजेट, लाख तलब भएकालाई करको बोझ नहुने'

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने दिशामा सरकारले कदम चालेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन–२०८३ लाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको सुरुवात गरिएको र आगामी पाँच वर्षभित्र त्यसलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको बताए । पछिल्ला १५–२० वर्षदेखि नेपाली युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अब स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । बजेटमा समेटिएका कार्यक्रमले युवालाई देशभित्रै उद्यम र रोजगारीका अवसर खोज्न प्रेरित गर्ने उनको भनाइ थियो । उनले करमा विभिन्न सहुलियतको व्यवस्था गरिएको जानकारी दिँदै एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गरिएको बताए । साथै, कर बक्यौताका कारण समस्यामा परेका उद्योगी-व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन र विस्तार गर्न सहज हुने व्यवस्था पनि बजेटमा समावेश गरिएको उल्लेख गरे । सरकारी प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, सुशासनलाई मजबुत बनाउने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए । युवाको उद्यमशील सोच, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने गरी बजेट निर्माण गरिएको बताउँदै अर्थमन्त्री वाग्लेले स्वदेशमै अवसर र सम्भावना विस्तार गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए ।

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।  असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।  असार ३ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।  यस्तै, असार ४ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ ।  सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिइसकेका छन् ।