काठमाडौं । अध्यागमन विभागमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा जारी गरेको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र महतोसमेत प्रतिवादी रहेको लिखतसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा महतोलाई पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा महतोले अध्यागमन विभागको नेपाली पोर्ट प्रणालीमा आफ्नो पहुँच र पदको दुरुपयोग गरी कानुनबमोजिम भिसा शुल्कसमेत नलिई भिसा जारी गरेको, सरकारी राजस्व हिनामिना गरेको तथा सरकारी कागजात किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लक्जेम्बर्गका एक नागरिकले नियमानुसार १ लाख ५९ हजार ४०८ रुपैयाँ (१ हजार २०० अमेरिकी डलर) राजस्व दाखिला गरी प्राप्त गरेको आवासीय भिसा नम्बर ई २४००००००१ लाई महतोले २०८० फागुन ९ गते (सन् २०२४ फेब्रुअरी २१) मा ‘ट्राभल सेन्ट्रलाइजेसन सिस्टम’ मार्फत बदनियतपूर्ण ढंगले अमेरिकी नागरिकको नाममा गैरकानुनी रूपमा ‘क्रिएट’ तथा ‘एप्रुभ’ गरी जारी गरेको आरोप छ ।
रौतहटको साविक भलोहिया गाविस–२ स्थायी घर भएका ३० वर्षीय महतोलाई काठमाडौं जिल्ला अदालतबाट भदौ १७ गते पक्राउ अनुमति लिएर बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीबाट पक्राउ गरिएको हो ।
महतोलाई लिखतसम्बन्धी कसुरमा हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।