काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने दिशामा सरकारले कदम चालेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन–२०८३ लाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको सुरुवात गरिएको र आगामी पाँच वर्षभित्र त्यसलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको बताए ।
पछिल्ला १५–२० वर्षदेखि नेपाली युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अब स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
बजेटमा समेटिएका कार्यक्रमले युवालाई देशभित्रै उद्यम र रोजगारीका अवसर खोज्न प्रेरित गर्ने उनको भनाइ थियो ।
उनले करमा विभिन्न सहुलियतको व्यवस्था गरिएको जानकारी दिँदै एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गरिएको बताए ।
साथै, कर बक्यौताका कारण समस्यामा परेका उद्योगी-व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन र विस्तार गर्न सहज हुने व्यवस्था पनि बजेटमा समावेश गरिएको उल्लेख गरे ।
सरकारी प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, सुशासनलाई मजबुत बनाउने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए ।
युवाको उद्यमशील सोच, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने गरी बजेट निर्माण गरिएको बताउँदै अर्थमन्त्री वाग्लेले स्वदेशमै अवसर र सम्भावना विस्तार गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए ।