काठमाडौंका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं । यस वर्षको मनसुनमा काठमाडौं महानगरपालिले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जोखिम कम गर्नका लागि कामपाले मनसुनपूर्व तयारी र प्रतिकार्य योजनासमेत स्वीकृत गरेको छ । कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । उनका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ ।  नेपालले भने, ‘वडा १४ सँगै वडा नं १३, १५, २९, १०, १६, २६, ३२, १२ बढी जोखिममा देखिन्छन् । डुबान हुने ठाउँका आधारमा वडा नंं ३० मा २१ ठाउँ, वडा नं ४ र वडा नं ३२ मा १०/१० ठाउँमा डुबानको जोखिम देखिन्छन् ।’ उनका अनुसार वडा नंं १६ सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब एक हजार ६०० परिवार प्रभावित हुने अनुमान गरिएको विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिए ।  उनका अनुसार वडा नं २६ मा एक हजार २५५, वडा नं ३ मा ९५० र वडा नं ४ मा ९५५ परिवार प्रभावित हुनेछन् ।उक्त अनुमानका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवालगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बर तयारी अवस्थामा राखिएका कामपा विपद् व्यवस्थापन विभागले जनाएको छ ।  स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ । जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि कामपाका ११ वटा विभागलाई जिम्मेवारी कार्ययोजना तोकिएका विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिए ।  उनका अनुसार विपद्का समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् । यसअघिका वर्षहरूको अविरल वर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुबानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर कामपाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुबान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।  कामपाकी कार्यवाहक प्रमुख एवं कामपा विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले यसवर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधारमा कार्ययोजना स्वीकृत गरेको हो । उनले सम्भावित डुबानको जोखिम घटाउन पूर्वाधार, सरसफाइलगायत तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपद्का समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिएकी छन् ।

अमेरिका-इरान शान्ति सम्झौता २४ घण्टाभित्र सम्भव भएको पाकिस्तानको दाबी

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार (आज) जनाएको छ ।  यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् ।   अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ ।  पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक्समा लेखेका छन्, ‘पहिलेभन्दा धेरै बिषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौं ।’ ‘अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।’

धनुषामा राजगुठी जग्गा अतिक्रमण गर्नेहरूलाई गुठी संस्थानको अल्टिमेटम

काठमाडौं । गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।  संस्थानका अनुसार धनुषाका विभिन्न स्थानमा रहेका धार्मिक तथा सार्वजनिक महत्त्वका यी जग्गाहरू केही व्यक्ति तथा संस्थाहरूले अनधिकृत रूपमा कब्जा गरी संरचनासमेत निर्माण गरेर भोगचलन गरिरहेको पाइएको छ ।  यस्तो अनधिकृत कार्यले सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरेको भन्दै संस्थानले सम्बन्धित सबैलाई तुरुन्तै अतिक्रमण हटाउन आग्रह गरेको छ ।  गुठी संस्थानले सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम कानूनी कारबाही अघि बढाउने चेतावनी समेत स्पष्ट रूपमा दिएको छ ।  साथै, राजगुठी अन्तर्गतका मठ-मन्दिर, पोखरी तथा जग्गाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै संस्थानले सार्वजनिक सम्पत्तिको रक्षाका लागि स्थानीयवासी, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।