‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । ‘स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन’, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए। नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ । प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उनले आगमी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनलगायत विविध कारणले चालु आवमा प्रदेश सरकारको कार्यप्रगति अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि सङ्घ सरकारसँग समन्वय गरिने बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ । बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताए । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले यही असार ५ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाइ राखेका हुन् । आजको बैठकको विशेष समयमा पूर्वमुख्यमन्त्री एवं नेकपा ९एमाले० संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा गरेका थिए । बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुन : सञ्चालन

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ । गत माघ १ गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सेवा सुरु गर्न लगेको हो ।  अस्पतालका कार्यकारी निर्देशक डा सुभाशप्रसाद आचार्यका अनुसार हाल  बहिरङ्ग सेवा (ओपिडी)मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो । उनका अनुसार अस्पतालले  बिहान ७ बजेदेखि देखि ११ बजे र दिउँसो १ बजेदेखि साढे २ बजेसम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराइने छ । केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो ।  अस्पतालले विसं २०७७ बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो । 

मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त भएका हुन् । ‘पोहर परार साल साउन भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ,’ यादव भन्छन्, ‘यसवर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइ नभ्याई छ ।’ हालसम्म करिब तीन बिगाह जग्गामा धान रोपाइँ गरिसके, अबको केही दिनमै रोपाइँ सकिने उनको भनाइ छ । यस्तै धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि  रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष बर्सात्को अभावमा धेरै जग्गा बाँझो छोडेका साहले यसवर्ष असारको दोश्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताउँछन् । धनुषाको यादव र साह मात्र होइनन्, मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँ व्यस्त छन् । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका छन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् ।  धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।  सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए । सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए ।  कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ । यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बसाइका किसान अजयकुमार यादव बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरेको छ । समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेस प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित बफर रासायनिक मलको बाँडफाँट गरेको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरेको हो । प्रदेशको आठवटै जिल्लाको १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताए । उनका अनुसार सप्तरीको स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिक टन डिएपी छुट्टयाएको छ । सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिक टन डिएपी र पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।