बिनास्वीकृति गाडीमा कालो सिसा राखे १५ हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएको कालो सिसा (टिन्ट ग्लास) विरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ ।  सुरक्षा जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीलाई रोक्दै हटाउन लगाउने र कानुनी कारबाही गर्ने अभियान तीव्र पारेको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार पछिल्लो समय निजी गाडी, माइक्रोबस र ट्याक्सीमा समेत कालो सिसाको प्रयोग बढेपछि निगरानी कडा पारिएको हो ।  अभियानअन्तर्गत हालसम्म ३७ वटा सवारीसाधनका धनीलाई कालो सिसा हटाउन लगाइएको छ भने उनीहरूमाथि आवश्यक कारबाहीसमेत गरिएको उनले बताए। ट्राफिक प्रहरीका अनुसार कालो सिसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले यसलाई अपराधका लागि दुरुपयोग गर्ने जोखिम बढेको छ ।  यस्तो सिसाको प्रयोगबाट लागुऔषध, अवैध हतियार, सुन तथा अवैध मुद्रा ओसारपसार गर्न, फरार अभियुक्त लुकिछिपी हिँड्न तथा हिंसा र दुव्र्यवहारका घटना गराउन सहज हुने प्रहरीको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीको रंग, स्वरूप, सिट संख्या, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन ।  यस्तो परिवर्तन गरेको पाइएमा सवारीलाई यातायात व्यवस्था विभागमा पठाइने र विभागले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।  यद्यपि, टिन्ट ग्लास जडान गरिएका सवारीका हकमा ट्राफिक प्रहरीले तत्काल कालो सिसा हटाउन लगाउने र आवश्यकतानुसार थप कारबाही गर्ने गरेको जनाएको छ ।  ट्राफिक प्रहरीले सवारीधनीलाई कानुनविपरीत कालो सिसा प्रयोग नगर्न आग्रह गर्दै अभियान आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ ।  प्रहरीले यस्तो अभियानले सडक सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । 

पूर्वप्रधानमन्त्री भट्टराईमाथि गम्भीर आरोप, विवादमा परराष्ट्र मन्त्रालय

काठमाडौं । वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनालको स्मृतिमा परराष्ट्र मन्त्रालयले हरेक वर्ष आयोजना गर्दै आएको यदुनाथ खनाल लेक्चर सिरिज यस वर्ष वक्ता चयनलाई लिएर विवादमा परेको छ । यस पटक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएपछि सामाजिक सञ्जालदेखि कूटनीतिक वृत्तसम्म बहस सुरु भएको हो । परराष्ट्र मन्त्रालयले असार १४ गते आयोजना गर्ने लेक्चरमा डा. भट्टराईले नेपालको विदेश नीति भूराजनीतिक र भूआर्थिक प्रवृत्तिको दिशाबोध विषयमा प्रवचन दिने कार्यक्रम तय गरेको छ । यदुनाथ खनाल नेपालका प्रतिष्ठित कूटनीतिज्ञका रूपमा परिचित छन् । विशेषगरी राजा महेन्द्रको शासनकालमा नेपालको परराष्ट्र नीतिलाई आकार दिन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, राजा महेन्द्रको राजनीतिक भूमिकाप्रति लामो समयदेखि आलोचनात्मक धारणा राख्दै आएका डा. भट्टराईलाई खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइएको विषयलाई लिएर केही व्यक्तिले असन्तुष्टि जनाएका छन् । पत्रकार कनकमणि दीक्षितले कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्दै सार्वजनिक रूपमा असहमति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्ता छनोटलाई गलत निर्णय भन्दै यदुनाथ खनालप्रतिको सम्मानसँग मेल नखाने टिप्पणी गरेका छन् । दीक्षितले आफ्नो पोस्टमा निमन्त्रणाका लागि परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै लेखेका छन्, ‘परराष्ट्र मन्त्रालयको वक्ता छनोट गलत हो । र, यदुनाथ खनालको अपमान हो ।’ उनले डा. भट्टराईमाथि विभिन्न राजनीतिक आरोपसमेत लगाएका छन् । आफ्नो धारणा व्यक्त गर्दै उनले नेपालमा भारतीय गुप्तचर निकायको प्रभाव बढाउन भूमिका खेलेको, माओवादी द्वन्द्वकालीन गम्भीर घटनासँग जोडिएको र त्यसको नेतृत्व गरेको लगायतका आरोप उल्लेख गर्दै यस्ता व्यक्तिलाई यदुनाथ खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइनु उचित नभएको बताएका छन् । सोही कारण आफू कार्यक्रममा सहभागी नहुने निर्णय गरेको पनि उनले सार्वजनिक गरेका छन् । यद्यपि, परराष्ट्र मन्त्रालयले डा. भट्टराईलाई वक्ता चयन गरिएको विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । वक्ता चयनलाई लिएर देखिएको विवादका बीच कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार आयोजना हुने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय औपचारिक प्रतिक्रियाबाट जोगिन खोजे पनि अनौपचारिक कुराकानीमा भने देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई आमन्त्रण गर्दा विवाद श्रृजना गर्न नहुने बताउँछ । मन्त्रालयका एक अधिकारीका अनुसार जनमतले अनुमोदित भएर प्रधानमन्त्री भइसकेका व्यक्तिबारे अन्य प्रचार गर्नु सोभनप्य हुँदैन । उनले भने, ‘एक दुइजना मान्छे नआउँदैमा केहि हुँदैन ।’  

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

काठमाडौं । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि हिलोमा उत्रिए । पर्यटक अनुहार र शरीरभर हिलो दलेर रमाएका थिए ।  खेतमै धान रोप्दै, असारे भाका गाउँदै र हिलो खेल्दै रमाएका उनीहरूको सहभागिताले असारे रोपाइँ महोत्सवलाई कृषि र पर्यटनको सङ्गमका रूपमा फेरि एकपटक जीवन्त बनायो ।  पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । २१ औं संस्करणको महोत्सवमा छिमेकी मुलुक भारतसहित अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायत विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी आगन्तुक सहभागी थिए । सहभागी पर्यटकले स्थानीय कृषकसँगै धान रोपे, हिलो खेले, हिलोमै फुटबल खेल्ने र असारे गीतमा नाच्दै नेपाली ग्रामीण संस्कृति नजिकबाट अनुभव गरे ।  परिषद्का अनुसार पोखरा सबै मौसमका लागि भन्ने नारासहित पोखरालाई कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो । हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाइँ महोत्सव गर्ने गरिए पनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिनअघि महोत्सव गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखराको प्राकृतिक सौन्दर्यसँगै कृषि तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो । ‘यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली जीवनशैली, कृषि परम्परा र मौलिक संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउन महोत्सव गरिएको हो । रोपाइँलाई उत्सवका रूपमा मनाउने परम्पराले कृषि र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ ’, पहारीले भने ।  महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपालको प्रमुख खाद्यबाली धानको व्यावसायिक उत्पादनका लागि महानगरले कृषकलाई अनुदानलगायत सहयोग गर्दै आएको बताए ।  पोखराको पहिचान बनेको ‘पोखरेली जेठोबुढो’ धानको ‘ब्रान्डिङ’ गर्न सुरु गरिएको उनले बताए । ‘परम्परागत खेती प्रणालीले गर्दा उत्पादनलगायत बढेको छ । हामीले आधुनिकीकरणमा जोड दिनुपर्छ । केही मौलिक र परम्परागत संस्कृतिलाई जोगाउँदै  चक्लाबन्दी र आधुनिक कृषिखेतीमा कृषकलाई उत्प्रेरित गर्न लागत साझेदारीमा अनुदान, कृषि उपकरण, मल, बीउमा सहयोग गरेका छौं,’ प्रमुख आचार्यले भने । महोत्सवका संयोजकसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले महोत्सवले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराएको बताए ।  ‘कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवद्र्धनमा महोत्सवले योगदान पुग्नुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाएको छ’, सापकोटाले भने ।  पोखरामा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवद्र्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाइँ महोत्सवमा आन्तरिकसहित विदेशी पर्यटकसमेत सहभागी हुँदा अझ महोत्सवको छुट्टै रौनक हुने गरेको छ ।