मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज (आइतबार) साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख २३ हजार पाँच रुपैयाँ र २२ बुक ताससहित पक्राउ गरेको हो । यस्तै, चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४६५ र चार रुपैयाँ बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालमा पहिलो पटक स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने, लगानी ५५ लाख
काठमाडौं । नेपालमा लुकेर रहेका फुटबल प्रतिभाहरूलाई पहिचान गरी अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ एक्स्ट्रिम फुटबल फिभर आइएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप छनोट नेपाल २०२६ आयोजना हुने भएको छ । एलपीएस म्यानेजमेन्ट, एस एण्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर र ट्रिपल टु प्रोडक्सनको संयुक्त आयोजना तथा एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा यो छनोट प्रतियोगिता हुन लागेको हो । स्ट्रिट फुटबलको जगलाई पुनर्जीवित गर्दै युवा वर्गलाई खेलकुदको माध्यमबाट सकारात्मक कार्यमा सरिक गराउनु यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ । यस प्रतियोगितामा देशभरबाट खुला दर्ता मार्फत कुल ९२ टोलीहरूले पूर्ण रूपमा निःशुल्क सहभागिता जनाउने छन् । प्रतियोगिता समूह चरण र नकआउट ढाँचामा इन्टरनेसनल स्ट्रिट फुटबल एशोसिएसनको ३भी३ नियम अनुसार खेलाइनेछ । सहभागि टोलीहरूलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक समूहका शीर्ष २ टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट १८ टोली गरी कुल ६४ टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रत्येक खेल कुनै ब्रेक बिना लगातार १० मिनेटको हुनेछ र खेलमा साइज ४ को फुटसल बल प्रयोग गरिनेछ । आगामी जुलाई १ देखि जुलाई १९ सम्म नेपाली समय अनुसार अपरान्ह ३ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म फ्लडलाइट र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूका साथ यो खेल उत्सव सञ्चालन हुने तालिका रहेको छ । काठमाडौंको मौलिक संस्कृतिलाई जोड्न समूह चरणका खेलहरू काठमाडौं महानगरपालिका भित्रका ५ वटा ऐतिहासिक स्थानहरू कुमा ननी (टेकु), तबाहाल, लगन, ओमबहाल र तेबहाल (संकटा) मा आयोजना गरिनेछ । यस छनोट प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २०२६ मा उट्रेक्ट, नेदरल्याण्ड्समा आयोजना हुने आइएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गर्नेछ । विजेता टोलीका खेलाडीहरूले एलपीएस म्यानेजमेन्टसँग ३ महिनाको व्यावसायिक खेलाडी सम्झौता प्राप्त गर्नुका साथै विश्वकपको विशेष तयारीका लागि बन्द प्रशिक्षणमा सामेल हुन पाउनेछन् । यसका साथै, प्रतियोगिताकै आधारमा नेपालकै पहिलो आधिकारिक नेपालको ३ भी ३ स्ट्रिट फुटबल वरीयता समेत तयार गरिनेछ । लगानी ५५ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । खेल प्रेमीहरूका लागि प्रतियोगिताका सम्पूर्ण खेलहरू खेल खेलौं युट्युब च्यानल र नेपाल एफसी फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने खेलका नतिजा र तथ्याङ्कहरू वास्तविक समयमा आधिकारिक वेबसाइट Challenge.Place मार्फत हेर्न सकिनेछ ।