सडक र पुल बनेपछि डोल्पाबाट एकै दिनमा काठमाडौं

काठमाडौं । डोल्पामा निर्माणाधीन २३०.३५ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादन मात्रै होइन, कर्णाली प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गरेको छ । परियोजनाले सडक, पुल, पर्यटन र स्थानीय रोजगारीमा उल्लेखनीय परिवर्तन ल्याएको दाबी गरिएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा अघि बढिरहेको मुलुककै नमूना परियोजना हो । 

कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना र १२४.३५ मेगावाटको जगदुल्ला-ए आयोजना निर्माण गरिरहेको छ । दुवैबाट कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

परियोजनाले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण गरेको छ भने त्रिवेणी–मुड्केचुला-जगदुल्ला सडकको कठिन भिरमा ट्र्याक खोल्ने र पहुँच मार्गमा १० वटा बेली ब्रिज जडान गर्ने काम पनि सम्पन्न गरेको छ । यी संरचनाले आयोजना मात्रै नभई स्थानीय बासिन्दाको दैनिक जीवनलाई समेत सहज बनाएको कम्पनीको भनाइ छ ।

सापकोटाका अनुसार केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्थ्यो भने वर्षायाममा यातायात लगभग ठप्प हुने अवस्था थियो । अहिले भने एकै दिनमै डोल्पा पुग्न सकिने अवस्था बनेको छ ।  डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत तयार भएको उनले बताए । 

null

परियोजनाबाट पर्यटन क्षेत्रले पनि दीर्घकालीन लाभ लिने अपेक्षा गरिएको छ। रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुसम्म पुग्ने वैकल्पिक तथा छोटो मार्ग विस्तारसँगै कर्णालीको पर्यटन सम्भावना थप बढ्ने विश्वास गरिएको छ ।

आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेश सरकारले ९ करोड ५० लाख रुपैयाँ र स्थानीय तहहरूले पनि ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ । यसले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।

हाल १०६ मेगावाट क्षमताको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन र आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ । मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते सम्झौता भएपछि भौतिक निर्माण कार्य औपचारिक रूपमा अघि बढेको हो । 

१२४.३५ मेगावाटको जगदुल्ला-ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, पीपीए, वित्तीय व्यवस्थापन र अनुमतिपत्रको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

यो आयोजना सरकारी निकायहरूको बहुमत स्वामित्वमा निर्माण हुने पहिलो जलविद्युत् परियोजनामध्ये एक हो । कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

 स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्याइएको छ भने प्रसारण लाइनको ’राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर दिने व्यवस्था गरिएको छ ।

परियोजनामा करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहभागितामा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।

null

Share News