बिनास्वीकृति गाडीमा कालो सिसा राखे १५ हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएको कालो सिसा (टिन्ट ग्लास) विरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । 

सुरक्षा जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीलाई रोक्दै हटाउन लगाउने र कानुनी कारबाही गर्ने अभियान तीव्र पारेको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार पछिल्लो समय निजी गाडी, माइक्रोबस र ट्याक्सीमा समेत कालो सिसाको प्रयोग बढेपछि निगरानी कडा पारिएको हो । 

अभियानअन्तर्गत हालसम्म ३७ वटा सवारीसाधनका धनीलाई कालो सिसा हटाउन लगाइएको छ भने उनीहरूमाथि आवश्यक कारबाहीसमेत गरिएको उनले बताए।

ट्राफिक प्रहरीका अनुसार कालो सिसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले यसलाई अपराधका लागि दुरुपयोग गर्ने जोखिम बढेको छ । 

यस्तो सिसाको प्रयोगबाट लागुऔषध, अवैध हतियार, सुन तथा अवैध मुद्रा ओसारपसार गर्न, फरार अभियुक्त लुकिछिपी हिँड्न तथा हिंसा र दुव्र्यवहारका घटना गराउन सहज हुने प्रहरीको भनाइ छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीको रंग, स्वरूप, सिट संख्या, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन । 

यस्तो परिवर्तन गरेको पाइएमा सवारीलाई यातायात व्यवस्था विभागमा पठाइने र विभागले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । 

यद्यपि, टिन्ट ग्लास जडान गरिएका सवारीका हकमा ट्राफिक प्रहरीले तत्काल कालो सिसा हटाउन लगाउने र आवश्यकतानुसार थप कारबाही गर्ने गरेको जनाएको छ । 

ट्राफिक प्रहरीले सवारीधनीलाई कानुनविपरीत कालो सिसा प्रयोग नगर्न आग्रह गर्दै अभियान आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ । 

प्रहरीले यस्तो अभियानले सडक सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । 

Share News