काठमाडौं महानगरपालिकामा ‘नमस्ते सेवा अभियान’ सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ । सोमबार (आज) देखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतजना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को शुभारम्भ गर्दै कामपाको प्रमुख सुनिता डङ्गोलले महानगर प्रहरी बललाई नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानुन कार्यान्वयनमा कडा बन्न निर्देशनसमेत दिइन् । ‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन । जिम्मेवारीप्रतिको इमान्दारिताले सहरी व्यवस्थापनका लागि तोकिएका व्यवस्था कार्यान्वयन हुन्छन्’, कार्यवाहक प्रमुख डङ्गोलले भनिन् , ‘नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्नोस् । दायित्वलाई सेवामूलक, जनउत्तरदायी, सवल, सक्षम र गुणस्तरीय रूपमा सञ्चालन गर्नु महानगर प्रहरी बलको योग्यता हो । आफ्नो योग्यतालाई नागरिक सेवामा समर्पण गर्नोस् ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको धारणा राखिन् ।  कामपा प्रहरी बलले ट्राफिक व्यवस्थापन, फोहर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन, सम्पदा व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेको छ ।  कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भने, ‘यस अभियानबाट नागरिक र प्रहरीको सम्बन्धलाई नजिक र बलियो बनाउन चाहेका छौं । अभियानका क्रममा नागरिकलाई उहाँहरूको दायित्वका विषयमा बुझाउनेछौं ।’ ‘परिवर्तित सन्दर्भमा नागरिक र प्रहरीबीचको सम्बन्धका विषयमा नयाँ कार्यक्रम थालनी जरुरी थियो । कामपा  प्रहरी बलले यसको प्रारम्भ गरेको छ । यो सकारात्मक कुरा हो,’ कार्यक्रममा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने ।  कामपाको चलअचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधारलगायत क्षेत्रमा महानगर प्रहरी बलले काम गरिरहेको छ । 

स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो ।  अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ ।  मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन् ।  मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ । यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ । यसैक्रममा, वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ । साथै, बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ । यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्‍याइएको पाइएको छ । साथै, अस्पतालमा क्युआर प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।  वीर अस्पताल र टेकुमा भने क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो रिपोर्टसमेत निकाल्न सक्नेछन् । यसैगरी, सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन् ।  मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

काठमाडौं । सोमबार (आज) असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ ।  काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए । उनले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको बताए । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् ।  भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिए ।  भक्तपुर नगरपालिका-६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन् ।  दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए ।  आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको सङ्घका निवर्तमान अध्यक्ष जति बताउँछन् ।  भक्तपुरबाट प्रतिकिलो २५० रुपैयाँमा ताइचिन चिउरा बिक्री हुँदै आएको छ । खानलाई स्वादिलो र स्वस्थ्यवद्र्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उनी बताउँछन् ।  भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकामा बिक्री हुने गरेको उनी बताउँछन् ।  चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घका पूर्वअध्यक्ष जति बताउँछन् ।