मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा बढ्दै डुबानको खतरा
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले शनिबार (आज) राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्। उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरे ।
झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति
भद्रपुर । झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए । उक्त अवधिमा १५६ वटा आगलागीका घटना भएका, जङ्गली हात्ती र वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ र चट्याङका २२ वटा घटना थिए । विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट छ जना, हुरीमा एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । प्राकृतिक विपद्का विभिन्न घटनामा आठ हजार नौ सय १४ वटा चौपाया तथा पशुपन्छी मरेभने हुरीबाट तीन हजार २० र आगलागीबाट पाँच हजार ६६२ पशुपन्छी हताहत भएका थिए । आगलागीबाट १५ करोड २२ लाखभन्दा बढी र बाढी तथा डुबानबाट रु छ करोड ३४ लाख बराबरको क्षति भएको सूचना अधिकारी अवाले बताइन् ।
तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकको थाप्लोमा नपार्न आग्रह
काठमाडौं । सरकारले यस आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कको मारमा अभिभावक परेका सरोकार भएका निकायका प्रतिनिधिले बताएका छन् । ‘खबर एजुकेशन’ द्वारा आज आयोजित ‘शिक्षा संवादः तीन प्रतिशत समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ सम्बन्धी अन्तरक्रियामा वक्ताहरूले उठाइएको शुल्क कुन शीर्षकमा खर्च गर्ने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयमा पढाउने सबै अभिभावकले वर्षमा रु १५ लाख कमाउन सक्छन् भन्ने बुझाइबाट समता शुल्क लगाइए पनि यथार्थ त्यस्तो नभएको टिप्पणी गरे । उनले सामुदायिक विद्यालयका कुनकुन क्षेत्रमा कति लगानी गर्ने यकिन गरेर मात्रै यस्तो शुल्क उठाउन सम्बन्धित निकायलाई आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वशिक्षा विभाग प्रमुख मिलन पाण्डेले सरकारको प्राथमिकतामा सामुदायिक विद्यालय सुधार गर्नु रहेकाले लगानी बढाउने विकल्पका रूपमा समता शुल्कको अवधारणा ल्याइएको बताए । नेपाल अभिभावक महासङ्घका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले शिक्षामा लगाइएको समता शुल्कले अभिभावकलाई थप समस्या हुने विचार व्यक्त गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष डिके ढुङ्गानाले शिक्षामा कर थप्ने नीतिको विकल्पमा अभिभावनलाई राहत हुनेकिसिमका नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए । राष्ट्रिय निजी तथा आवासय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले विश्वमा कतै पनि शिक्षामा कर लिने व्यवस्था नभएको बताए । उनले सरकारद्वारा लागू गरिएको समता शिक्षा शुल्कको विकल्पमा राहत केन्द्रित कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।