टोखामा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा, उपप्रमुख भन्छिन्- मेरो गाडि बिरामीको सेवाका लागि दिन्छु

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिए । ‘डाक्टर र औषधसहित निर्माण गरिएको आइसोलेशन केन्द्रमा आजैदेखि टोखाका कोरोना सङ्क्रमित बिरामीको उपचार हुनेछ’, उनले भनिन् । बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाई छ । सो नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको छ । नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । ‘अक्सिजन थेरापीसहित आइसोलेशन केन्द्र स्थापना भएसँगै अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ’, उनले भने । राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० श्ययाको हुने नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि यही वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ । यस्तै सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ । नपाले ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोङ्गबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए । उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् । उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने जानकारी दिए । ‘कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु’, उनले भनिन् ।

१५ बेडको कोभिड अस्पताल तयार पारेका छौं – गाउँपालिका अध्यक्ष ओझा

रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको कास्की जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषि क्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । हामीले सुरुमा पालिकाको माटोे परीक्षण पनि गरेका थियौं । पालिकाको भूगोल अनुसार कस्तो खालको बिउ कुन ठाउँमा उत्पादन हुन्छ भनेर हामीले माटो परीक्षण गरेका हौं । माटो परीक्षणले कृषिमा आएका समस्या र रोगको नियन्त्रण हुन्छ भन्ने हाम्रो आशा रहेको छ । पालिकाको भूगोल अनुसार ब्लक र पकेट क्षेत्र छुट्याई पालिकामा कृषि समुहहरुको पनि गठन भएको छ । ‘एक वाड एक नर्सरी’ भन्ने हाम्रो अभियान पनि रहेको छ । एक घर एक प्लास्टिक टनेल पनि वितरण गर्दै आएका छौं । कृषकहरूलाई अनुदान स्वरूप विभिन्न बिउ बिजनहरु पनि वितरण गर्दै आएका छौं । कृषि विकाससँगसँगै पशु क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । पालिकाले कृषि र पशुमा निःशुल्क ढुवानी एम्बुलेन्स सेवाको पनि सञ्चालन गरेको छ । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । पालिकामा व्यवसायिक रुपमा कृषि खेती पनि हुन थालेको छ । कृषि क्षेत्रमा केही समस्याहरू पनि रहेका छन् । कृषकहरूलाई बिचौलियाको धेरै ठुलो समस्या रहेको छ । पालिकामा ३ ओटा सित भण्डारको पनि व्यवस्था गरेका छौं । नजिकै बजार भएको कारण बजारीकरणको खासै समस्या छैन तर बिचैलियाले गाउँ गाउँमा गाएर कृषि उपहज ल्याउने भएकाले कृषकहरुले धेरै मुल्य पाउदैनन् । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । कतिपय कृषकहरुलाई नगद पुरस्कार दिने व्यवस्था पनि मिलाएका छौं । ५ ओटा भाँैसी पाल्ने कृषकलाई २ ओटा भौँसी अनुदान स्वरूप दिँदै पनि आएका छौं । हामीले कृषकहरूलाई सुलभ दरको ऋणको व्यवस्था पनि मिलाइ दिँदै आएका छौं । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? पालिकाको प्रत्येक वडामा क्वारेन्टिन व्यवस्थापन गर्नमा लगाएका छौं । पालिकामा हाल १६ बेडको आइसोलेसन कक्षको पनि व्यवस्था गरेका छौं । १५ बेडको कोभिड अस्पताल तयार पारेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारीमा लागेका छौं । पालिकामा डाक्टर परामर्श सेवा, मोबाइल डाक्टर, स्वाब सङ्कलन गर्ने रिपीटटोली र २४ घण्टा एम्बुलेन्स सेवाको पनि व्यवस्था मिलाएको छौं । दिर्घ रोगिहरुलाई घर घरमा औषधी वितरण गर्दै आएका छौं । हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनुपर्ने अवस्था त छैन । हामीले पालिकामा मास्कको प्रयोगलाई अनिवार्य गरेका छौं । कोरोनाको समयमा बाहिरी जिल्लाबाट आउनेहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क अनि स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघ संस्थाहरूले कोरोनासम्बन्धी मापदण्ड अपनाउनु पर्ने व्यवस्था पनि गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले विभिन्न सूचनाहरू पनि प्रकाशन गरेका छौं । संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन प्रभाव नपरे पनि कोरोना न्युनिकारण गर्नको लागि पुर्वतयारी अवस्थामै छौं । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हो हाम्रो पालिका पर्यटकीय स्थलको रूपमा निकै चर्चित छ । हाम्रो गाउँपालिका प्राकृतिक रूपले निक्कै सुन्दर रहेको छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विभिन्न ठाउँमा जोड्ने पदमार्ग सहितको विश्व शान्ति उद्यम बनाउने भन्ने योजना बनाएका छौं । यो योजना अन्तर्गत विभिन्न डाँडाहरूमा विभिन्न जातिको संस्कार संस्कृति झल्काउने प्रयासले संग्रहालय बनाउने योजना रहेको छ । शहिद पार्कको पनि निर्माण गर्ने योजना पनि बनाएका छौं । पर्यटन आउँदा होटेलको राम्रो व्यवस्था मिलाउने काम पनि हामीले गरेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । विभिन्न देशका ठुला ठुला मानिसहरु पनि हाम्रो पालिकामा घुम्न आउने गर्दछन् । आज भन्दा २० वर्ष पहिला बेलायती र नेपाली राजकुमार हिँडेको रोड पनि रहेको छ । यो सडकलाई जोडेर होमस्टेको प्रवर्धन गर्दै, स्थानीय उत्पादनलाई जोड्दै, अर्गानिक खाना खुवाउँदै पर्यटनको मुख्य गन्तबय बनाउने योजना रहेको छ । पालिकाबाट ३ ओटा हिमालको दृश्यावालोकन गर्न पनि सकिन्छ । पोखराको रमणिय दृश्य पनि हेर्न सकिन्छ । यस्ता योजनाहरूलाई रुपा ताल परियोजना मार्फत जोडेर अगाडि लाने काम गरिरहेका छौं । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । हामीले पर्यटकीय स्थलहरूलाई सफा राख्न पनि विशेष ध्यान दिएका छौं । परम्परागत संस्कृतिको संरक्षण तर्फ ध्यान दिई पालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । पालिकाको केही ठाउँमा भ्यूटावर पनि रहेको छ । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेभन्दा धेरै कामहरु पुरा गर्न सफल भएका छौं । कतिपय योजनाहरु दिर्घकालिन योजनाहरु पनि हुन्छ जस्तो रुपा तालको परियोजना लामो समयसम्म चल्लने आयोजना हो । रुपा तालको योजना अझै २ देखि ३ वर्षसम्म चल्न सक्छ । यो आयोजना हाम्रो कार्यकालमा नसकिन पनि सक्छ । तर पनि हामीले घोषणपत्रमा लेखेको कुरा र निर्वाचित हुँदा बेलको कुराहरु पुरा गरी सकेको छौं । हामीले घोषणापत्रमा पालिका भित्रको सबै सडक पिच गछौं भनेका थियौं । हाल हामीले पालिकको मुख्य सडकहरु सबै पिच गरेका छौं । हाम्रो पालिकामा पानीको अभाव थियो । पानीको मुहान जति तल र मानिसको बस्ती माथि थियो । हाल पालिकाको ९० प्रतिशत नागरिकको घरमा खानेपानी पुर्याएका छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरु पनि रहेको छ । पालिकाको सबै विद्यालयमा अङग्रेजी माध्यमबाट पठनपाठन् सञ्चालन हुन थालेको छ । सबै विद्यालयहरुमा पालिकाको तर्फबाट भौतिक पुर्वाधार विकासको निमिक्त हामीले भौतिक संरचनाको पनि निर्माण छौं । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ भनेर पालिका ३ ठाउँमा प्रविधिक विद्यालयको स्थापना गरेका छौं । यो ३ ओटा विद्यालयमा कृषि, भेटेरिनरी, सिविल इंजिनियरको पठनपाठन् हुने गरेको छ । पालिकाको आफ्नै शैक्षिक क्यालेन्डर पनि रहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । सबै विद्यालयको एकै खालको पठयक्रको निर्माण गरी शिक्षकहरुलाई पनि बेला बेलामा तालिम दिँदै आएका छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भनेर एक शिक्षा एक ल्यापटपमा पनि जोड दिएका छौं । पालिकामा २ ओटा विद्यालयलाई नमुना विद्यालयको रुपमा चिनाउन सफल भएका छौं । विश्व शान्ति मा.वि र रामकोट मा.वि नमुना विद्यालयको रुपमा परिचित छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आउनु भएको छ । पालिकाको सबै स्वास्थ्यचौकीमा ल्याबको सञ्चालन भएको छ । सबै वडामा स्वास्थ्य सेवा पुर्याएका छौं । स्वास्थ्यको पहुँच सबै नागरिकलाई पुगेस् भन्ने हाम्रो चाहना रहेको छ । पालिकाको अस्पताल निर्माण भई केही दिनमा उद्घघाटनको तयारीमा छौं । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? सडक सञ्जाल पालिकाको सबै ठाउँमा पुगेको छ । पालिकमा भएको शिसुवा खोल्याङ टारको बाटो महेन्द्रको पालामा निर्माण भएको भन्थे । त्यति बेला गाडी गुडेको अहिले ६७ वर्ष पछि बल्ल पिचको काम सुरु भएको छ । गाउँपालिकाको तर्फबाट पनि धेरै सडकहरू निर्माण भएको छ । पालिकाका धेरै सडकहरू पिच हुने क्रममा छन् भने केही सडकहरू ग्राबेल पनि भएका छन् । हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । एउटा वडा बाट पसेपछि पालिकाको ७ ओटै वडामा पुग्न सकिने गरी सडक निर्माण भएको छ । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? पालिकामा विभिन्न युवा स्वारोजगारका कार्यक्रमहरू रहेको छ । हामीले युवालाई विनि धितो ऋण दिने व्यवस्था पनि मिलाएका छौं । एउटा व्यक्तिले स्वरोजगार बन्न चाहायो भने १० लाख रुपैयाँसम्म बिना धितो ऋण दिने व्यवस्था मिलाएका छौं । युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । यस रोजगार कार्यक्रम अन्तर्गत ३ सय ५० जनाले रोजगारी पाएका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । युवाको मागमा आधरित सिप युवालाई दिँदै आएका छौं । केही युवाहरूले सिप सिकेर पालिकामा नै रोजगारी मूलक बनेका छन् । काम गर्न चाहने युवाहरूको लागि त धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार र शिक्षा क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । अरू गाउँपालिका भन्दा उत्कृष्ट र राम्रो बनाउने योजना बनाएको छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य लिएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहै भन्न चाहन्छु । कोरोना सम्बन्धी सुरक्षाका मापदण अपनाउौं भन्न चाहन्छु । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु ।

काभ्रेको चौंरीदेउराली गाउँपालिकाले १८ बेडको आइसोलेसन कक्ष बनाउने

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्न थाले पछि पालिकाले १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको छ । पालिकाको ३ ओटा अस्पातालमा १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको हो । धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० बेडको, डिसीडब्लुसि अस्पतालमा ५ बेडको र धुलिखेल अस्पतालको आउटरिच सलम्बुमा ३ बेड गरी जम्मा १८ ओटा आइसोलेसन कक्ष बनाउने तयारी गरेको पालिकाका सूचाना अधिकारी सफल दुलालले जानकारी दिए । पालिकाको बजार क्षेत्रहहरु बन्द नभए पनि भिडभाडलाई कम गर्नको लागि नागरिकहरुलाई अपील गरेको दुलालले जानकारी दिए । बाहिरी जिल्लाबाट आउने मानिहरुलाई १४ दिनसम्म क्वारेन्टिरमा बस्नको लागि पालिकाले आग्रह गरेको छ । मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको पनि दुलालले जनाए । आइसोलेसन कक्षमा आवश्यक २० ओटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने र उक्त सिलिन्डर खरिदको प्रक्रिया समेत अगाडि बढाउने तयारी गरेको दुलाले बताए ।