गाउँपालिकाका बिरामीले निःशुल्क रुपमै एम्बुलेन्स सेवा पाउने व्यवस्था गरेका छौं – अध्यक्ष तामाङ्ग
‘खाँडादेवी गाउँपालिका’ प्रदेश नं. ३ अन्तर्गतको रामेछाप जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रुपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । यो गाउँपालिका कूल १ सय ५० दसमलव ७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएर रहेको छ भने यहाँको जनसंख्या ३१ हजार ३ सय ८३ रहेको छ । यस गाउँपालिकामा ९ ओटा वडा रहेका छन् । यसको पूर्वमा मन्थली नगरपालिका, पश्चिममा सुनापति गाउँपालिका अनि उत्तरमा दोरम्बा पर्दछन् भने यसको दक्षिणमा चाहिँ सिन्धुली जिल्ला पर्दछ । खाँडादेवी गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्ता भूमिका खेल्दै आएको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तामाङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे अलिकति बताइदिनुस न हामीले गाँउपालिका भित्र महामारीको सुरुआती चरणमै पूर्व तयारी गर्यौं जसका कारण खासै ठुलो असर हुन पाएन । हामीले सो वेला यहाँ ४५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने १५ बेडको आइसोलेसन कक्ष बनाएका थियौं । यहाँ कसैलाई पनि संक्रमण देखिएन । विद्यालय बन्द भएका कारण शिक्षा क्षेत्र चाहिँ नराम्ररी प्रभावित भएको थियो । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका हुन् ? मन्थली चौरीबाट गाल्बा जाने सडक ११ कि.मि. र त्यसैगरी दोलखा जोडिने सडक पनि ११ कि.मि. नै कालोपत्रे गर्ने कार्य भइरहेको छ । बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई दिएका थियौं त्यहि आधारमा एउटा सडक ३४ करोडको लागतमा र अर्काे सडक भने ३६ करोड रुपैयाँको लागतमा कालोपत्रे भइरहेको छ । त्यसैगरी खैरेनीबाट गाल्बा जाने सडक चहिँ ३ कि.मि. कालोपत्रे भइसकेको छ । हाम्रो गाउँपालिका सुख्खा क्षेत्रमा पर्छ । खोलाको पानीलाई ड्याम बनाएर सिँचाइयोग्य बनाउनका लागि हामीले डिपिआर गरेका छौं । ४ करोड ८० लाख रुपैयाँ बराबरको भ्युटावर गाउँपालिकाका भित्र निर्माण भईरहेको छ । गाउँपालिकाको माथिपट्टि १३ फिट अग्लो शिव र बुद्धको मन्दिर निर्माण गरेका छौं । प्रदेश र संघको साझेदारीमा १५ करोड रुपैयाँ बराबरको अस्पताल निर्माण भइरहेको छ । एम्बुलेन्स पनि खरिद गरेका छौं । हाम्रो गाउँपालिका भित्र बिरामी भएका नागरिकले निःशुल्क रुपमै एम्बुलेन्स सेवा पाउने व्यावस्था गरेका छौं । गाउँपालिका भित्र रहेको सबै वडा भवनहरुको निर्माण भइसकेको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ? यहाँका किसानले यदी १० लाख रुपैयाँ बराबरको प्रोजेक्ट पेश गर्छन् भने उनीहरुले ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । बाँकी चाहिएको ५ लाख रुपैयाँ हामीले अनुदानमा दिने व्यवस्था मिलाएका छौं । गाउँपालिका भित्र कृषि ऋण कार्यक्रम पनि रहेको छ । किसानहरुले पैसा फिर्ता गरेको आधारमा व्याज मिनाहा तथा बैंकमार्फत फेरी ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । हामी निर्वाचित भएपछि किसानहरुकै लागि भनेर १ करोड रुपैयाँ बराबरको कृषि कोष निर्माण गरेका छौं । हामीले प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरेका छौं र ती ठाउँहरुमा उत्पादन सुरु हुन पनि थालिसकेको छ । किसानलाई तरकारीको न्युनतम शुल्क निर्धारण गरेर गाउँपालिकामा पेश गर्नु होस्, यदी बिक्रि गर्न सक्नुभएन भने हामी बेचिदिन्छौं भनेका छौं । गाउँपालिका भित्र बाख्रा पालन, भैँसी पालन, कफि उत्पादन तथा चिया उत्पादनका क्षेत्रहरु पनि रहेका छन् । किसानले केराको बगान बनाउने भनेर गाउँपालिका भित्र ६ हजार केराको विरुवा लगाएका छन् । उनीहरुलाई गाउँपालिकाले निःशुल्क रुपमै केराको विरुवा उपलब्ध गराएको हो । कृषिमा धेरै किसानहरु आत्मनिर्भर भएका छन् । कृषिलाई जीवन निर्वाहको साधन मात्र होइन व्यावसाय पनि बनाउनु पर्छ भनेर हौसला दिने गरेका छौं । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । आशा गरे अनुरुप विकास निर्माणका कामले गति लिइरहेको हुनाले हामी पनि खुसी नै छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसके पछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? म निर्वाचित हुनुभन्दा अगाडि र भइसके पछि यहाँ धेरै परिर्वतन आएको छ । पहिले यहाँ सडकको अवस्था राम्रो थिएन । स्वास्थ्य सेवाको पहुँच सवैमा पुग्न सकेको थिएन । शिक्षा बाट धेरै वालबालिकाहरु बन्चित थिए । विद्यालयको अवस्था त झन् लथालिङ्ग नै थियो । धेरै ठाउँमा काठका पोल थिए । सबै गाउँमा विद्युत पुगेको थिएन पनि । तर आज उपरोक्त समस्याहरु समाधान हुँदै गएका छन् । ९ वटा वडाको बिच सम्म हामीले बाटोलाई ग्राबेल गरिसकेका छौं । शिक्षा क्षेत्रतर्फ पनि सुधार आउँदै गएको छ । १२ वटा मा.वि तहका विद्यालयहरुको भवन निर्माण गरेका छौं । गाउँपालिकाको सबै ठाउँमा विद्युत पुगेको छ । काठका पोल हटाएर फलामको पोल गाडेका छौं । कृषिमा आधुनिकिकरण हुन थालेको छ । तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभएको छ ? मैले भर्खरै पनि भनिसकेँ सडक, विजुली, शिक्षा, स्वास्थ्य लगायतमा ल्याइएको सुधारहरु सबै नै सम्झिन लायक काम हुन् । त्यसका अलावा १२ सय घरधुरीमा पानीको व्यवस्था गरका छौं जुन गर्वकै कुरा हो । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले त्यसका लागि स्वरोजगार कोषसँग साझेदारी गरी २ करोड रुपैयाँ बजेट बिनियोजन गरेका छौं । युवाका लागि हामीले तालिम तथा कार्यक्रमहरुको व्यवस्था गरेका छौं । यदी युवाले कामको प्राजेक्ट बनाएर ल्याउँछन् भने प्रोजेक्ट अनुसारको ऋण पनि उपलब्ध गराउँछौं । २ लाख रुपैयाँसम्मको प्रोजेक्ट बनाएर आए भने बिना धितो ऋण पनि दिन्छौं । यहाँका धेरैसजो युवाहरु बाख्रा पालन, तरकारी खेती लगायत गर्दै आएका छन् । गरिब परिवारका भएका किसानलाई १ लाख रुपैयाँ सम्म अनुदान दिने व्यावस्था छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि १ करोड रुपैयाँ बजेट रहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि रोजगार दिने गरेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा ठुला उद्योग छैनन् भन्दा पनि हुन्छ । यहाँ खेती किसानी गर्ने, बाख्रा पालन गर्ने तथा कुखुरा पालन गर्नेहरु छन् । यसका साथै साना तथा मझौला किराना पसल सञ्चालन गरेर बस्नेहरु पनि छन् । सबै भन्दा धेरै कर तिर्ने कम्पनी कुन हो ? अब ठुला उद्योग, कम्पनी वा कलकारखाना नभइसकेपछि धेरै कर तिर्ने भन्ने त कुरै आउँदैन । बरु यहाँको सम्पती कर नै दिगो करको रुपमा रहेको छ । खोलाको बालुवा, गिट्टी लगायत बाट कर आउने गर्छ । यस्ता स्रोतहरु बाट गाउँपालिकाले वार्षिक ३ करोड रुपैयाँ जति कर संकलन गर्ने गरेको छ । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई बढि जोड दिनुहुन्छ ? यदी ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिकको सन्तुटिलाई नै म आफ्नो सन्तुष्टि ठान्दछु । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? यस गाउँपालिकालाई मेरो कार्यकालमा नमुना गाउँपालिकाको रुपमा घोषणा गर्ने योजना बनाएको छु । विकास निर्माणको काम अझ पनि धेरै गर्नुछ । यहाँका नागरिकको जीवनस्तर बृद्धि गर्ने, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा व्यापक सुधार ल्याउने लगायतका योजना पनि मैले बनाएको छु । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ नि ? प्रदेश सरकारसँग हाम्रो समन्वय भइरहेको छ । प्रविधिको युग भएकाले हामी धेरैजसो कामको समन्वय अनलाइन बाट नै गर्छौं । आबधिक योजनाहरु बनाएर हामीले प्रदेश सरकारलाई पेश गरेका थियौं । ५ वर्षको योजनामा लक्ष्य पुरा हुने सम्भावना हामीले देखेका छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्दा रहेछन् ? स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरु देखा पर्ने गरेको छ । कानुन कार्यविधि तयार गर्दाको समयमा व्यवहारमा ढाल्न खोज्छ । हामीले कानुनको पालना पनि गर्नुपर्ने हुन्छ । त्यसैले यसमा पनि समस्या रहेको छ । गाउँपालिका भित्र रहेका नागरिकको खासै स्तरोन्नती हुन सकेको छैन । जहाँ चेतनाको विकास भएको छ त्यस ठाउँमा विकास पनि धेरै भएको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट हामीले राम्रै सहयोग पाएका छौं । त्यहींबाट बजेट आउने गर्छ । ४ प्रकारको बजेट अनुदानमा दिने गरेको छ । केन्द्र सरकारले वित्त हस्तान्तरणमा बजेट पठाउने गरेको छ । जनसंख्या, भौगोलिक स्थिती, गरिबी लगायतका कुराहरुमा आधारित रहेर बजेट आउने गरेको छ ।
गाउँपालिकामा विगत ३ वर्षदेखि एकल पुरुष भत्ता वितरण गर्दै आएका छौं – अध्यक्ष लोप्चन
प्रदेश नं. ३ अन्तर्गतको ललितपुर जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो ‘वाग्मती गाउँपालिका’ । १ सय ११ दसमलव ४९ स्क्वायर कुल क्षेत्रफलमा फैलिएर रहेको यो गाउँपालिकामा ७ ओटा वडाहरु छन् भने गाउँपालिकाको पूर्वमा महाङ्काल गाउँपालिका, पश्चिममा काठमाडौं जिल्ला, उत्तरमा गोदावरी नगरपालिका तथा कोन्ज्योसोम गाउँपालिका रहेका छन् भने दक्षिणमा चाहिँ मकवानपुर जिल्ला रहेको छ । कूल १३ हजार ४९ जनसंख्या रहेको यो गाउँपालिकामा हिन्दु र बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता पाइन्छ । यहाँ माल्टा फाँट, भट्टेडाँडाको राड क्षेत्र, सिद्धेस्वर महादेव, महाङ्कालस्थान मन्दिर, बुद्ध बिहार, आश्राङको ध्याम्पे दह, गिम्दीको चमेरो गुफाजस्ता ठाउँहरुले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष बिर वहादुर लोप्चनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे बताइदिनुस न विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । गाउँपालिकाका केहि नागरिकहरुका साथै कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो । सो समयमा हामीले यहाँको हरेक वडामा १० देखि १५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं तरपनि धेरै मानिसलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था चाहिँ आएन । कोरोनाले शिक्षाका साथै विकासनिर्माणको काममा पनि नराम्रो असर पुर्यायो । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? प्रदेश सरकारसँग समन्वय भइरहेकै छ । प्रदेश सरकारले ल्याउनु पर्ने कार्यक्रमहरु कोरोनाको समय पछि ल्याएको चाहिँ छैन । प्रदेश सरकार वाट ९० लाख रुपैयाँ बजेट आउने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्छन् । विकास निर्माणमा काममा पनि समस्या आउँछ । जनताको अपेक्षा धेरै छ । तर बजेटको आकार चाहिँ सानो छ । विकास निर्माणका काम धेरै गर्नुपर्ने छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? सामान्यीकरणको बजेट र राजश्व बजेट भनेर तोकेर पठाएको हुन्छ । तर तोके अनुसार केन्द्र सरकार बाट बजेट आएको छैन । केन्द्र सरकारले १५ लाख रुपैयाँ अनुमानित बजेट पठाउने गरेको छ । २ करोड रुपैयाँ बराबरको बजेट त कटौती भएर आउने गरेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् नि ? गाउँपालिकामा ठुला योजनाहरु धेरै रहेको छैन । यहाँको ठुलो योजनाको रुपमा खानेपानी र सडक निर्माण नै हो । यस्ता योजनाहरुका लागि भनेर ४० देखि ५० लाख रुपैयाँसम्मको बजेट छुट्याइएको छ । हामीले कृषि क्षेत्रको विकासलाई पनि प्रथमिकता दिइरहेका छौं । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिले सम्म गरेका विकास निर्माणको काम प्रभावकारी नै भएका छन् भन्नुपर्छ । हामी जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आईसकेपछि गरेका कम्मर कसेर काम गरिरहेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? पहिला र अहिलेको स्थितीमा धेरै परिर्वतन आएको छ । म निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । खानेपानीको राम्रो व्यावस्थापन थिएन । म निर्वाचित भएर आइसके पछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक आदिमा परिर्वतन आएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिकामा विभिन्न पर्यटन क्षेत्रहरु घोषणा गर्नको लागि संघीय सरकारसँग बजेट मागेका थियौं । तर बजेट परेन । गाउँपालिकामा धेरै पर्यटन क्षेत्र रहेका छन् । गाँउपालिकाको वडा नं ३ भित्र रहेको तीनपाने राडर पर्यटकिय स्थलको रुपमा रहेको छ । यो ठाउँमा पर्यटको भीड लाग्ने गरेको छ । सातकन्या भन्ने ठाउँमा पनि धेरै पर्यटन आउने गरेका छन् । गाउँपालिका भित्र रहेका मठ–मन्दिरको प्रचार प्रसारमा पनि हामीले जोड दिएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । तरकारी संकलन केन्द्र खोलेका छौं । यहाँका कृषि उत्पादनहरु काठमाडौंमा पठाउने गरेका छौं । कृषकलाई अनुदानस्वरुप विउविजन दिने गरेका छौं । हाते ट्र्याक्टर, घाँस काट्ने मेशिन लगायतका कुराहरु हामीले ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । गाउँपालिकामा पशु बीमा कार्यक्रम पनि ल्याएका छौं । बाख्रा पालन कार्यक्रम सञ्चालन गरेका छौं । भैंसी पालन साझेदारी कार्यक्रम सञ्चालन गरेका छौं । धान, गहुँ, मकै, भटमास, तोरी, फापर, कोदो, दाल, केराउ, सिमि, बोडि, फर्सी लगायतको उत्पादन पनि हाम्रो गाउँपालिकामा हुने गरेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएका छौं । विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न प्रेरीत गरेका छौं । यसरी खेती गर्ने युवाहरुलाई २ प्रतिशत ब्याज अनुदान दिने कार्यक्रम पनि राखेका छौं । हामीले गाउँपालिकामा एकल पुरुष भत्ता वितरण गर्दै आएका छौं । यो कार्य ३ वर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको छ । ५० वर्ष पुगेका अनि ७० वर्ष ननाघेका एकल पुरुषहरुले महिनाको १ हजार रुपैयाँका दरले पाउने गरेका छन् । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? ठुलो उद्योग हाम्रो पालिकामा रहेको छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेती किसानी नै हो । कृषकहरुले कुखुरा पालन, भैँसी पालन लगायतका कामहरु गरिरहेका छन् । गाउँपालिका भित्र खानिखोला हाईड्रो भने सञ्चालन भएको छ । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनु पर्याे भने म कृषिलाई नै जोड दिन्छु । गाउँपालिकामा धेरै मानिसहरु कृषि पेशामा आबद्ध रहेको हुनाले यहाँ कृषिलाई नै जोड दिनु राम्रो हुन्छ । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिक सन्तुष्ट भएकोले होला मलाई पनि सन्तुटि नै मिलेको छ । गाउँपालिकामा मानिसहरु प्रायः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दछन् ? कोही खानेपानीको समस्या लिएर आउँछन्, कोही सडकको समस्या लिएर आउँछन् । कोही भने बिरामी सहयोगको अपेक्षा लिएर आउँछन् । बाढी, पहिरो रोकथामको लागि तारजालिले रोक्नुपर्यो भन्ने जस्ता समस्या लिएर आउनेहरु पनि छन् । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाउँपालिकालाई संवृद्ध बनाउने योजान रहेको छ । विकास निर्माणका धेरै कामहरु गर्ने, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा व्यापक सुधार ल्याउने, सबै वडामा सडक पुर्याउने लगायतका योजना बनाएको छु ।
चुनावका वेला गरेका वाचाहरुको ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं – गाउँपालिका अध्यक्ष श्रेष्ठ
नेपालको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो ‘त्रिपुरासुन्दरी गाउँपालिका’ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक किसिमको विशेषता बोक्न सफल पनि छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९४ दसमलव २८ वर्ग कि.मि रहेको छ भने गाउँपालिकाले नेपालको समग्र भू–भागको ० दसमलव ०६४ प्रतिशत भू–भाग ओगटेको छ । यो गाउँपालिका काठमाडौंबाट ८३ं दसमलव ६ कि.मि. टाढा रहेको छ । सो गाउँपालिकामा अवस्थित १ हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामाकरण गरिएको हो । ४ हजार २ सय ३३ घरधुरी भएको यस पालिकामा हिन्दु, बौद्ध र क्रिस्चियन गरी अलग अलग धर्मका अनुयायीहरुको बसोबास रहेको भएतापनि त्यहाँ बोलिने मुख्य भाषा भनेको नेपाली नै हो । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोना महामारीका कारण पुग्न गएको असर वारे केही बताइदिनुस न गाउँपालिका भित्रका ४ जना मानिसलाई कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा कोरोनाको त्रास फैलिन थालेपछि हामीले ६० लाख रुपैयाँ बराबरको कोरोना कोष स्थापना गरेका थियौं । गाउँपालिकाको ३ ओटा वडामा आइसोलेसन कक्ष स्थापना गरेका थियौं । त्यसैगरी प्रत्येक वडामा १५ देखि २० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । क्वारेन्टिनमा बस्ने मानिसको संख्या जम्मा ९६ थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । तर अहिले भने अवस्था सामान्य भइसकेको छ । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? धेरै परिवर्तन आएको छ भन्दा पनि हुन्छ । म निर्वाचित हुनुभन्दा अगाडि गाविस सचिवले काम कारवाही चलाउने गरेका थिए । बजेटको आकार पनि सानो थियो । सडकको राम्रो पहँुच थिएन । विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन सकेका थिएनन् । त्यसैगरी, स्वास्थ्य क्षेत्र तर्फ पनि विभिन्न समस्याहरु देखा पर्ने गरेको थियो । तर म निर्वाचित भएर आईसके पछि गाउँपालिकामा विद्यालयका नयाँ भवनहरु निर्माण गरिएका छन् । ३० ओटा विद्यालयहरुमध्येका २९ वटा विद्यालयहरुको भवन पक्कि बनाइसकिएको छ । वडाका भवनहरु निर्माण भइरहेका छन् । ३ ओटा स्वास्थ्य चौकीका भवन बनिसकेका छन् । सडक निर्माण, खानेपानी आदि क्षेत्रको काम भइरहेको छ । त्यसैले पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आइसकेको छ भन्नुपर्छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? जिल्ला समितिको बैठकमार्फत प्रदेश सरकारका मन्त्री अनि कर्मचारीहरुसँग समन्वय गरिरहेका छौं । प्रदेश बाट गाउँपालिकामा योजनाहरु पनि आउने गरेका छन् । प्रदेश सरकारसँग समन्वय गरेरै विकास निर्माणका कामहरु पनि गरिरहेका छौं । सोचे अनुसारको नै बजेट तथा योजनाहरु आइरहेका छन् । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? घरघरमा सडक पुगोस् अनि खानेपानीको पनि राम्रो व्यवस्था होस् भन्ने जनताको चाहना हो जुन स्वभाविक पनि छ । तर यति हुँदाहुँदै पनि हामीले जनताको चाहना अनुरुपका सम्पूर्ण कामहरु पूरा गर्न भने सकेका छैनौं । बजेटको अभावले यस्तो भइरहेको हो । हाम्रो भुभागमा धेरैजसो पाहाडी क्षेत्र रहेकोले गर्दा बर्खाको बेलामा विकास निर्माणका कामहरु गर्न असहज हुने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकार र हाम्रो बीचमा कुराकानी भइनै रहन्छन् । मूल बजेटनै केन्द्र सरकार बाट आउने हो । हामीलाई विभिन्न क्षेत्रको विकास गर्नका लागि भनेर केन्द्र सरकारले ४१ करोड रुपैयाँको वार्षिक बजेट पठाउने गरेको छ । स्थानीय तहमा आउने बजेटमध्ये ७० प्रतिशत बजेट केन्द्र सरकारबाटै आउने गरेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? यहाँको वडा नं. ३ बाट वडा नं. ४ हुँदै दोलखासम्म जाने सडकको निर्माण गरिरहेका छौं । २ करोड रुपैयाँ बराबरको बजेट यसका लागि छुट्याएका छौं । ७ करोड रुपैयाँ बराबरको टेन्डरमा गाउँपालिकाको भवन निर्माण भएको छ । कालिन्चोक जाने सडक पनि निर्माणकै क्रममा छ । जे होस् यहाँका ठूला योजनाका रुपमा सडक सञ्जाललाई नै लिन सकिन्छ । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु अत्यन्तै प्रभावकारी छन् । विकासका काम प्रभावकारी भएकाले नै त होला जनताहरु मसँग खुसी भएका । तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक कामहरु के–के होलान् ? मैले सम्झिन लायक कामहरु धेरै छन् । गाँउपालिकाको भवन निर्माण भइरहेको छ । स्वास्थ्यचौकी भवनको निर्माण भइसकेको छ । केही विद्यालयका भवन निर्माण भइसकेका छन् भने केही बन्ने क्रममा छन् । अघि नै पनि भनिहालें सडक निर्माणका काम पनि भइरहेका छन् । कृषिको विकास र त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्न पनि हामी कम्मर कसेर लागिपरेका छौं । स्वास्थ्य क्षेत्रतर्फ कुरा गर्नुपर्दा प्रयोगशालाको स्थापना गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? किसानहरुका लागि भनेर हामीले अनुदानको व्यवस्था मिलाएका छौं । हरेक वडालाई ब्लकको रुपमा छुट्याएका छौैं । जसअनुसार वडा नं १ मा बाख्रा पालन, २ मा अलैंची उत्पादन, ३ मा भैंसी पालन, ४ मा आलुको उत्पादन हुने गरेको छ । हामीले यसलाई पकेट क्षेत्रको रुपमा घोषणा गरेका छौं । त्यसैगरी वडा नं ५ मा केरा खेती अनि वडा नं ६ मा तरकारी खेती हुने गरेको छ । गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा विउ उपलब्ध गराउँदै आएको छ । हामीले १० लाख रुपैयाँ बराबरको आलुको विउ ल्याएका छौं । कृषि विकासको लागि भनेर हामीले वार्षिक ६० लाख रुपैयाँ छुट्याउँदै आएका छौं । प्रधानमन्त्री आधुनिकिकरण बाट छुट्टै १९ लाख रुपैयाँ दिने भनेर तयारी भएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? काठमाडौं बाट नजिकै रहेको हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकिय क्षेत्र पनि हो । यहाँ सम्झन लायक धेरै चिज छन् । शहिद पार्क छ, ३८ फिट उचाइको बुद्धको मुर्तिलाई बुद्ध पार्कमा राखेका छौं । तौथलीमा अवस्थित टोकलोखु डाँडामा पार्कको स्थापना गरेका छौं । यहाँ दैनिक ४० जना सम्म पर्यटकहरु आउने गरेका छन् । वडा नं ३ बाट सूर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । यहाँ रहेको महभिर नामको झरनाले मनलाई आनन्दित तुल्याउँछ । यसका साथै हाम्रो गाउँपालिका भित्र विभिन्न मठ, मन्दिरहरु पनि रहेका छन् । हामीले उपरोक्त सवै ठाउँहरुको क्रमिक रुपमा प्रचारप्रसार गरिरहेकै छौैं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले युवा प्रति लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमहरु ल्याएका छौं । काम गर्ने युवा तथा मजदुरका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । केही युवाहरु भने विकास निर्माणका काममा पनि लाग्दै आएका छन् । तपाईंको पालिकामा रहेको सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनीको नाम लिनुपर्दा कसको लिनुहुन्छ ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु छैनन् भन्दा पनि हुन्छ । बरु ३ ठाउँमा साबुन उद्योग सञ्चालित छन् भने कागजको उत्पादन पनि हुने गरेको छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सबैभन्दा बढि कर तिर्ने भनेको साबुन उद्योगले नै हो । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने त म कृषिलाई नै जोड दिन्छु । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ त ? सन्तुष्ट नै छु भन्नुपर्यो । घोषणापत्रमा उल्लेख गरेको र चुनावका वेला गरेका वाचाहरुको ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । यो कुराले पनि मलाई सन्तुष्ट बनाएको छ । गाउँपालिकामा मानिसहरु प्रायःजसो कस्ता समस्या लिएर आउने गरेका छन् ? धेरैजसो चाहिँ विकास निर्माणकै कुरा लिएर आउने गर्नुहुन्छ । तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन कस्ता योजनाहरु अघि सार्नुभएको छ ? भौतिक निर्माणको हिसाबले भन्नुपर्दा स्वास्थ्य कार्यालय र स्कुल बनाउने कुरालाई प्राथमिकतामा राखेका छौं । कृषिलाई आधुनिकरण गर्ने योजना पनि छ । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिँदै आएका छौं ।