ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्‍यो साइकलमैत्री आकाशे पुल

ललितपुर । ललितपुर महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेका हुन् । पुलको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख महर्जनले चक्रपथको धोबीघाट क्षेत्र पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै, उक्त जोखिम घटाउनका लागि आकाशे पुल निर्माण गर्न लागिएको बताए । उनले भने, 'सडक सुरक्षित नभएकै कारण यो ठाउँमा दर्जनभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । दुर्घटना हुन नदिनका लागि पुल बनाउन लागेका हौं ।' महर्जनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको र चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै, कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाइएको र धापाखेलस्थित महादेव खोलामा समेत पुल निर्माण भइरहेको बताए । महानगर प्रमुख महर्जनका अनुसार, चक्रपथ क्षेत्रमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएकाले समय लाग्ने गरेको छ । उनले भने, 'पुल निर्माणका लागि धेरैअघि नै माग आएको थियो तर स्वीकृति पाउन ढिलाइ भएकाले काम ढिलो सुरु भएको हो ।' उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । सुशासन तथा संस्थागत विकास समितिका संयोजक र वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । उनका अनुसार, स्थानीयको मागअनुसार पुल निर्माणका लागि महानगरले धेरैअघि नै प्रक्रिया अघि बढाए पनि सडक विभागको स्वीकृति ढिलो पाएकाले काम सुरु हुन ढिलाइ भएको हो । उनले विकास निर्माणका काममा स्थानीयले महानगरसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक रहेको उल्लेख गर्दै, सुशासन र अनुशासन कायम राख्न सबैलाई आग्रह गरे । वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा निर्माण भइरहेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सजिलो र सुरक्षित बनाउने बताए । त्यसैगरी, ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैदलयात्रीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । उनका अनुसार, सडक वारपार गर्दा भएका दुर्घटनामा धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखी निर्माण कार्य सुरु गरिएको हो । महानगरका अनुसार, पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल–सुन्दरीघाट मार्गका पूर्व र पश्चिम क्षेत्रलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुने बताइएको छ ।

हुम्लामा ३ हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा

काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गरे। उनले भने, 'विद्यार्थीहरूले पढेनन् भने समाज बिग्रिन्छ, समाज बिग्रिए देश बिग्रिन्छ। त्यसैले सबै विद्यार्थी भाइबहिनीहरूलाई पुस्तक पढ्न आग्रह गर्दछु।' कार्यक्रमका प्रमुख अतिथि पूर्वशिक्षक तथा शिक्षाविद् कुलप्रसाद चौलागाईंले पुस्तकालय स्थापना हुम्लाका विद्यार्थीका लागि ठूलो अवसर भएको बताए। उनले भने, 'हामीले कथा–उपन्यास त टाढाको कुरा, पाठ्यपुस्तक पनि सजिलै पढ्न पाएका थिएनौं। अहिले सामुदायिक पुस्तकालय स्थापना भएको छ, त्यसैले सबै विद्यार्थीले मन लगाएर पढ्नुपर्छ।' उनका अनुसार पुस्तकालयमा करिब तीन हजार पुस्तकहरू रहेका छन्, जसमा साहित्यिक र राजनीतिक विषयका पुस्तकहरू समावेश छन्। कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढाले विद्यालय व्यवस्थापनमा केही कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा नयाँ तरिकाले सुधार गर्दै अघि बढ्ने बताए। उनले पुस्तकालय सञ्चालनपछि विद्यार्थीको अध्ययनप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरे। त्यस्तै, एजुकेटिङ रिमोट एरियाज नेपालका सह–संयोजक गोविन्द गोडासैनीले कर्णालीका विद्यार्थीमा पुस्तकालय जाने र किताब पढ्ने बानी कम रहेको उल्लेख गर्दै भने, 'यो विद्यालयका विद्यार्थीहरूले भने राम्रो उदाहरण पेश गर्ने विश्वास लिएका छौं।' कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिर्खबहादुर सिंह, वडा नम्बर ३ का सदस्य कुलप्रसाद चौलागाईं, विद्यालयका अध्यक्ष जनक बुढा, सदस्यहरू विशु बोहोरा, नर्जन बुढा, धर्मकला बुढा, सिंह नेपाली, बिर्सबहादुर सिंह, सह–प्राध्यापक खगेन्द्र बम, शिक्षक विरबहादुर रोकायासहित अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति थियो। सामुदायिक पुस्तकालय सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनको वातावरण सुधार गर्न र पुस्तक पढ्ने संस्कृतिको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ केन्द्र, निःशुल्क बिक्री गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूल तथा मालााहरूको बिक्री–वितरण गर्नको लागि ३२ बिक्री केन्द्र तोकेको छ । महानगरले तिहारलाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूलको बिक्रीको लागि सहजीकरण गर्दै ती केन्द्रहरू तोकेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरले किसानलाई बजारीकरणको लागि कुनै पनि असहज नहोस् भनेर यी केन्द्रहरू तोकिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।  उनका अनुसार किसानले तोकेको बिक्री केन्द्रमा निःशुल्क फूल तथा माला बिक्री गर्न पाउनेछन् । किसानलाई सहजीकरणको लागि महानगरले बिक्री केन्द्रको सम्पर्क नम्बरसमेत राखेको छ । उनका अनुसार कात्तिक १ गतेदेखि ६ गतेसम्म किसानले फूल बिक्री गर्न पायक पर्ने केन्द्रमा जान सक्नेछन् । सम्पर्क नम्बरमा कुनै समस्या भए प्रहरीको कन्टोल रुममा सम्पर्क गर्न सक्ने उनले बताए ।  महानगरले नयाँ बानेश्वरमा एनबी कम्प्लेक्स र आईप्लेक्स मल बिक्री केन्द्र तोकेको छ । मध्यबानेश्वरमा सेल्सबेरी, फोनेक्स टावर बत्तीसपुत्तली, तीनकुने चौर, सिफल चौर, चावहिलमा एसी कम्प्लेक्स र चावहिल गणेशस्थान तरकारी बजार, एसी कम्प्लेक्स, केएल टावर अगाडि, चावहिल सेन्टर अगाडि बिक्री केन्द्र तोकेको छ ।  त्यसैगरी, स्वयम्भुमा धर्म चक्र पार्क कालिमाटी वाङ्गक्यूट, कलंकीको भाटभटेनी, नयाँ बजारमा भ्याली कोल्ड स्टोर, माछापोखरी गुणस्तर खाल्डा, वुद्ध महल, हाँडीगाउँ ५ नम्बर वडा कायाृलया अगाडिको डबली, र गणेश मन्दिर डवली, कोइराला स्मार्ट २६ वडा सामाखुशी, महारग्रञ्जमा सेल्सवेरी, गंगवु र चपलकारखानाका विगमार्टमा किसानले आफूले उत्पादन गरेको फुल बिक्री गर्न सक्नेछन् ।  यस्तै, कामपा वडा न २८ आइटी विल्डिङ, पुत्तली सडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेवाल मन्दिर परिसर, न्युप्लाजाका बज्र कम्प्लेक्स र काठमाडौं मल बिक्री केन्द्र तोकेको छ ।  महानगरका प्रमुख पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनको भनाइ छ ।   उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।