जेनजी आन्दोलनपछि देशभरका १५० भन्दा बढी पालिका प्रभावित, यस्तो छ क्षतिको विवरण
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशभरका १५३ वटा नगरपालिकामा क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ८० वटा पालिकामा आगजनी र ७३ वटा पालिकामा तोडफोड भएको हो । नगरपालिका संघका अनुसार पूर्ण क्षतिको विवरण भने अझै संकलन हुने क्रममै छ । जेनजी आन्दोलनको क्रममा सबैभन्दा धेरै क्षति मधेश प्रदेशका पालिकाहरूमा पुगेको छ । मधेश प्रदेशमा ७७ पालिका छन् । जसमध्ये ३४ पालिका कार्यालयमा आगजनी र २२ वटा कार्यालयमा तोडफोड भएको छ । २३ पालिकामा भने कुनै क्षति पुगेको छैन । त्यसपछि सबैभन्दा धेरै क्षति कोशी प्रदेशका पालिकाहरूमा भएको छ । कोशी प्रदेशमा ४९ वटा पालिका रहेको छ । जसमध्ये १९ वटा पालिकामा आगजनी र ७ वटामा तोडफोड भएको छ । बागमती प्रदेशका २२ पालिकामा क्षति पुगेको छ । जसमा १२ पालिकामा तोडफोड र १० वटा पालिकाको कार्यालयमा आगजनी भएको छ । लुम्बिनीका ८ वटा पालिकामा आगजनी, १६ वटा पालिकामा तोडफोड भएको छ । यस्तै, गण्डकीका २ वटा पालिकामा आगजनी, ३ वटा पालिकामा तोडफोड भएको छ । यसैगरी, कर्णालीका एउटा पालिकामा आगजनी र ५ वटा पालिकामा तोडफोड भएको छ । यस्तै सुदूरपश्चिमका ६ वटा पालिकामा आगजनी, ८ वटा पालिकामा तोडफोड भएको छ । संघको प्राराम्भिक तथ्यांकअनुसार सप्तरीमा ९ वटा नगरपालिकामध्ये ७ वटामा आगजनी र २ वटा नगरपालिकामा तोडफोड भएको छ । कञ्चनरूप नगरपालिकाको भवनसहित त्यहाँका मेयरको घरमासमेत आगजानी भएको थियो । आगजनी हुँदा पालिका भवन र नगरप्रमुखको व्यक्गित सम्पति पूर्ण रूपमा जलेर नष्ट भएको छ । खडक नगरपालिकाको भवनमा तोडफोडसहित आगजनी हुँदा भवनभित्र रहेका सबै कागजात जलेका छन् भने सवारी साधनमा पनि क्षति पुगेको छ । डाक्नेश्वरी नगरपालिकाको वडा न १० कार्यालयमा आगजनी भएको छ । बोदे बरसाइन नगरपालिकाको कार्यालयमा तोडफोड, आगजनी र सवारीसाधनमा क्षति पुगेको छ । राजविराज र शम्भुनाथ नगरपालिकाको कार्यालयमा तोडफोड, आगजनी र सवारी साधनमा क्षति पुगेको छ । सप्तकोशी नगरपालिकाको भवन र सवारी साधनमा तोडफोड भएको छ भने प्रमुखको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । सुंरुगा नगरपालिकाको घुम्ती सार्वजनिक शौचालयमा सामान्य आगजनी भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकामा सामान्य क्षति पुगेको छ । सिरहाको ८ वटा नगरपालिकामध्ये एउटा पालिकाबाहेक सबैमा तोडफोड र आगजनी भएको छ । कल्याणपुर नगरपालिकामामा आगजनी र तोडफोेड हुँदा ९० प्रतिशत क्षति पुगेको छ । गोलबजार, धनगढीमाई, मिर्चैया, सुखीपुर र लाहान नगरपालिको कार्यालयमा तोडफोड, आगजनी र सवारी साधनहरूमा क्षति पुगेको छ । कार्यालय भवनमा आगजनी हुँदा यी पाँच वटै पालिकाका आवश्यक कागजात पनि नष्ट भएको छ । सिरहा नगरपालिकाको नयाँ भवनमा क्षति नपुगेको छ पुरानो भवन पूर्ण रुपमा क्षति भएको छ । साथै भवनभित्र रहेका सम्पूर्ण कागजात खरानी भएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा भने कुनै क्षति पुगेको छैन । नगरपालिका संघको प्रारम्भिक तथ्यांकअनुसार धनुषाको १२ वटा पालिकामध्ये जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिकामा सबैभन्दा धेरै क्षति र ती वटामा आंशिक क्षति पुगेको छ । कमला नगरपालिकाको भवन पूर्ण रूपमा क्षति पुगेको छ । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका र विदेश नगरपालिकाको कार्यालयमा आगजनी तोडफोड र सवारी साधनमा क्षति पुग्नुका साथै अतिआवश्यक सबै कागजत नष्ट भएको छ । क्षिरेश्वर नगरपालिकामा सामान्य ढुंगामुढा, गणेशमान चारनाथ नगरपालिकामा ढुंगामुढा र केही कागजपत्र चोरी, नगराइन, मिथिला र मिथिला विहारी नगरपालिकामा आंशिक क्षति पुगेको छ । बाँकी नगरपालिकारुमा कुनै क्षति पुगेको छैन । हंसपुर नगरपालिकाको मेयरको घरमा भने तोडफोड र लुटपाट भएको छ । महोत्तरीका १० वटा नगरपालिकामध्ये एउटा पालिकामा आंशिक क्षति र दुईवटा पालिकामा सामान्य क्षति पुगेको छ । बाँकी पालिकामा भने कुनै क्षति भएको छैन । गौशाला नगरपालिकामा आंशिक क्षति, भंगाहा नगरपालिका र रामगोपालपुर नगरपालिकामा सामान्य क्षति पुगेको छ । सर्लाहीका ११ नगरपालिकामध्ये ६ वटा पालिकाको कार्यालयमा आगजनी भएको छ । गौर नगरपालिकाको गाडीमा तोडफोड भएको छ । रौतहटका ९ पालिकामध्ये ३ वटामा आगजनी २ वटामा तोडफोड भएको छ । बाराका ७ पालिकाहरुमध्ये तीनवटा पालिकाको भवन पूर्ण रुपमा क्षति पुगेको छ । कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकार निजगढ नगरपालिकाको कार्यालयमा आगजनी हुँदा पूर्ण रुपमा क्षति पुगेको छ । कोल्हवी, सिम्रौनगढ, पचरौता, नगरपालिका आंशिक क्षति भएको छ । पर्साको विरगञ्ज महानगरपालिकाको कार्यालय पूर्ण रुपमा क्षति पुगेको छ । बाँकी पालिकामा तोडफोड भई आंशिक क्षति पुगेका छन् । कोशी प्रदेशअन्तर्गत ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालय भवनमा तोडफोड, पाँचथरको इलाम नगरपालिकाको कार्यालय भवनमा आगजनी, इलामको माई नगरपालिकामा आगजनी भएको छ । झापाको ८ वटा नगरपालिकामध्ये अर्जुनधारा र शिवसताक्षि नगरपालिका कार्यालय भवनमा तोडफोड र बाँकीमा आगजनी भएको छ । सुनसरीको बराह नगरपालिकाको तीन वटा वडामा जनप्रतिनिधिहरुको घरमा आगजनी भएको छ । बागमती प्रदेशअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाको भवन र अन्य चार वटा कार्यालयमा पूर्ण क्षति पुगेको छ । काठमाडौंको कागेश्वर मनोहराको नगरपालिका भवन, वडा नं ६, ७ र ९ मा आगनजी, काठमडौं महानगरपालिका वडा नं ३२ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । त्यस्तै किर्तीपुर नगरपालिका भवन, वडा नं ४ पूर्ण क्षति र ३,५ र ९ वडामा आंशिक क्षति पुगेको छ । गोकर्णेश्वर नगरपालिकाको १, ३ र ५ वडामा तोडफोड, चन्द्रगिरी नगरपालिका भवन र वडा नं २ को कार्यालयमा तोडफोड गरिएको छ । त्यसैगरी काठमाडौंकै टोखा नगरपालिका वडा नं ११ मा आगजनी, ८ र ९ वडामा तोडफोड भएको छ । तारकेश्वर नगरपालिका भवन, वडा नं १०, ११ र १४ वडामा आगजनी, दक्षिणकाली नगरपालिका भवनमा तोडफोड, वडा नं ७ का का प्रमुखको घरमा आगजनी र वडा नं ३ र ४ मा तोडफोड गरिएको छ । त्यस्तै, बुढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ मा आगजनी भएको । सूर्यविनायक नगरपालिकाको भवन, वडा नं ४ र ७ मा आगजनी, गोदावरी नगरपालिका १२ र १४ वडामा तोडफोड गरिएको छ । ललितपुर महानगरपालिका वडा नं १ मा तोडफोड, मकवानपुरको हेटौडा उपमहानगरपालिका भवन, वडा न. ३,४, १०,११, १३, १५ र १९ मा आगजनीसहित तोडफोड भएको छ । कालिका नगरपालिका भवन तोडफोड र वडा कार्यालयमा आगजनी र चितवनको राप्ती नगरपालिका भवन तोडफोड, वडा कार्यालय १० र १३ बाहेकमा आगजनी गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका पालिकाहरुमा तुलानात्मक रुपमा कम क्षति पुगेको छ । कास्कीको पोखरा महानगरपालिका भवनमा आगजनी, तनहुँको शुक्लागण्डकी नगरपालिकामा तोडफोड गरिएको छ । उक्त पालिकाको वडा न ८ मा आगजनी हुँदा पूर्ण रुपमा क्षति पुगेको छ । नवलपुरको वडा नं ११ र १३ मा सामान्य तोडफोड र बागलुङको वडान १२ मा सामान्य तोडफोड भएको छ । लुम्बिनीप्रदेशअन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, सितगंगा नगरपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, रामग्राम नगरपालिकामा तोडफोड गरिएको छ । त्यस्तै रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकामा तोडफोडसहित आगजनी गरिएको छ । कपिलवस्तुक ६ वटै पालिकाहरुमा भवनमा तोडफोड गरिएको छ । दाङको लमही नगरपालिका, बर्दियाको बाँसगढी नगरपालिकामा तोडफोड भएको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकामा आगनजी गरिएको छ । कर्णाली प्रदेशअन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भवनमा सामान्य क्षति पुगेको छ । सल्यानको शारदा नगरपालिकाका प्रमुखमाथि सामान्य कुटपिट, जुम्लाको चन्दननाथ नगरपालिका, जाजरकोटको आठबीस नगरपालिका, दैलेखको पञ्चपुरी नगरपालिका र कर्णालीको भेरीगंगा नगरपालिकामा तोडफोड गरिएको छ । विरेन्द्रनगर नगरपालिकामा आगनजी भएको छ । सुदूरपश्चिममा भएका पालिकाहरूमध्ये डोटीको गौरीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिमा आगजनी गरिएको छ । अछामको मंगलसेन नगरपालिका, बझाङको बुंगल नगरपालिका, डोटीको दिपायल सिलगढी, कैलालीको लम्की चुहा, दार्चुलाको शैल्यशिखर, डढेलधुराको अमरगढी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा तोडफोड भएको संघको प्रारम्भिक तथ्यांक छ ।
२ खर्बको अतिक्रमित जग्गा फिर्ता ल्याउने बालेनको लक्ष्य, २३ अर्बको जग्गा फिर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले अतिक्रमणमा परेका २३ अर्ब रुपैयाँ बराबरको २ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको जानकारी दिए । आफू नेतृत्वमा आएसँगै महानगरले करिब २ खर्ब रुपैयाँ बराबरको १ हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख शाहको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए । महानगरले फिर्ता गरिएका जग्गालाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गर्ने कार्य तीव्रगतिमा अघि बढाइरहेको छ । सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्यप्रारम्भ गर्ने महानगरले जनाएको छ । नगरप्रमुख शाहले उक्त अभियान केवल सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउनमात्र नभई सार्वजनिक सम्पत्तिमा सर्वसाधारण सबैको पहुँच बढाउन, जनताले उपभोग गर्न पाउने अधिकार स्थापित गर्न साथै स्वाभिमानको रक्षा गर्न भएको बताए ।
३ महिनासम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दा समेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल ७५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३५ वटाले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिको बजेट प्रस्तुत नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । मन्त्रालयका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, छिन्न्मस्ता गाउँपालिका, बलान बिहुल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् । सिराहाको कल्याणपुर, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, हंपसुर नगरपालिका र धनौजी गाउँपालिकाले चालु आवको बजेट सार्वजनिक गरेका छैनन् । महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । बागमती प्रदेशको धादिङको खनियाबास गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उप-महानगरपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा समावेश छ । कर्णाली प्रदेश अन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा कुल ९४.२९ प्रतिशत तहले बजेट प्रस्तुत गरेको पाइएको छ । यस्तै, ५.७१ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ ।