आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो । विद्यालयमा कुनै क्षति भए/नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भए/नभएको एकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो । महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्य दृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
जेनजीहरूको आन्दोलनलाई बालेनको समर्थन, भन्छन्- 'म उमेरका कारण र्यालीमा जान सक्दिनँ'
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताले आयोजना गर्न लागेको र्यालीप्रति समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत भोलि हुने उक्त र्याली २८ वर्षमुनिका युवाहरूको आन्दोलन भएकाले आफू प्रत्यक्ष सहभागी हुन नसके पनि यसको भावना र उद्देश्यलाई समर्थन गर्ने बताएका हुन् । मेयर शाहले लेखेका छन्, 'म उमेरका कारण स्वतस्फूर्त: र्यालीमा जान सक्दिनँ, तर युवाहरूको सोच, उद्देश्य र चाहना बुझ्न जरुरी छ । कुनै पार्टी, नेता, कार्यकर्ता वा स्वार्थी समूहहरूले आफ्नो स्वार्थ पूर्ति गर्न यस र्यालीलाई प्रयोग नगर्नुहोला ।' उनले जेन जी पुस्तालाई सम्बोधन गर्दै प्रश्न पनि गरेका छन्, 'प्रिय जेन जी, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?'
ललितपुर महानगरले भत्कायो न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना
काठमाडौं । ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु भत्काएको हो । महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले सो क्षेत्रमा रहेको संरचना भत्काएको हो । न्हुः पोखरीको उत्तरपूर्व भागमा मिचेर बनाईएको अनाधिकृत संचरनालाई वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए । महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको छ । महानगरपालिकाले पोखरीको जग्गाको अतिक्रमण बढेपछि सार्वजानिक जग्गा तथा ऐतिहासिक सार्वजानिक पोखरीको संरक्षण गर्ने निति बमोजिम न्हुः पोखरीको जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको हो । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरि बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ । वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महागरपालिकासँग पटकपटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाए । आफूहरु पोखरीको विरोधी नभएको भन्दै उनले आफूहरुलाई विकल्प दिन आग्रह गरे । २०१० सालमा स्थापना भएको वुद्धि विकास मण्डलले पनि समाज सेवा गरिएको उनको भनाई छ । उनले वुद्धि विकास मण्डलको भवन भत्काउन रोक्न आन्तरिम आदेशको माग गर्दै साउन १८ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको समेत जानकारी दिए । उच्च अदालतले अन्तरिम आदेश नदिएपनि कारण देखाउ आदेश जारि गरेको बताए । उक्त आदेशको पनि पालना नगरी संरचना भत्काइएको उनको आरोप छ । महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानिय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हुः पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैँले हटाएको हो ।