मेयर बालेन शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा सुनुवाइ हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध दर्ता भएको अबहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ । मेयर शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दाको सुनुवाई न्यायाधीश हरिकृष्ण कार्कीका एकल इजलासमा हुने भएको हो । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलना गरेको भनेर निवेदन दर्ता गरेका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेशलाई संकेत गर्दै मेयर शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिए । दर्ता भएकाे निवेदनलाई स्वीकार गरेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।
महानगरले सुरज आर्केडलाई पसल खाली गर्न दियो २४ घण्टा
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थति सुरज आर्केडलाई २४ घण्टाको समय दिएको छ । महानगरले सुरज आर्केडको बेसमेन्टका पसलहरुलाई खाली गर्न २४ घण्टाको समय दिएको हो । पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ । जमिन तला, बेसमेन्ट, सेमी बेसमेन्ट, भुइँतलालाई स्वीकृत नक्साबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको पाइएकाले महानगरले गत साउन २ मा स्वीकृतिअनुसार नै प्रयोग गर्न ३५ दिने सूचना निकालेको थियो ।
काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै, महानगरले फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ । यसअघि महानगरले सडक फुटपाथमा नगर प्रहरी खटाएबापत ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो ।