कालीकोटमा प्रशासन र नगरपालिकाको कमजोरीले २ हजार बढीको नागरिकतामा त्रुटि

कर्णाली । कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो । नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अङ्ग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो । नगरपालिकाले २०७४ वैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अङ्ग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्राही समस्यामा परेका हुन् । उक्त नगरपालिकाको वडा नं ३स्थित कालीकोट फोइमहादेव गाउँका दीक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताइन् । ‘राहदानी विभागमा पासपोर्ट बनाउँदा नगरपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्रअनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख ग¥यो,’ हमालले भनिन्,’यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।’ काठमाडौँबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उनले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरि कालीकोट पुगेको जना । उनले भनिन्,’नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौंबाट पुनः कालीकोट फर्के तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौं फर्कनुको विकल्प रहेन ।’ प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताए । उनले भने, ‘तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।’ यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको प्रजिअ शर्माले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार विसं. २०७४ वैशाख १ गतेदेखि हालसम्म ‘एफए’ अक्षरबाटै प्रदान गरिएका प्रतिलिपि र नयाँ नागरिकताको सङ्ख्या दुई हजार २२० रहेको जानकारी दिए । विसं २०७२ माघ यतादेखि भने जिल्ला प्रशासनले तिलागुफाका दुई हजार ७३५ जनालाई नागरिकता प्रदान गरेको उनले बताए । हमालका बुबा चित्रबहादुर हमालले यत्रो सङ्ख्यामा नागरिकता बनाउँदासमेत ध्यान नदिनु स्थानीय प्रशासन र नगरपालिका दुवैको लापरबाही भएको बताए । ‘आधिकारिक निकायले लामो समयदेखि गरेको त्रुटिले धेरैलाई समस्या भएको छ,’ उनले भने, ‘यसले गर्दा हामीले भौतिक दुःखका साथै बिना कारण दोब्बर पैसा खर्च गर्नुपरेको छ । ती निकायको बेलैमा ध्यान जाओस् ।” यता नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले पहिलेका पदाधिकारीले त्यसमा ध्यान नदिएकाले यो समस्या आएको बताए । उनले आज कार्यपालिकाको बैठक बसी ‘एफए’ अंगे्रजी अक्षर हटाएर ‘पिएचए’ कायम हुनुपर्ने निर्णयप्रति संलग्न राखी गृह मन्त्रालयलाई अनुरोध पत्र पठाउने जनाए । रासस

अवरोधकै बीच फोहोर व्यवस्थापन

काठमाडौं । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौं महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहोर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुगन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या आएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयहरुले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था जस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरी विरोध गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यन्वयनको चरणमा रहेको भन्दै फोहोर ढुवानीका लागि सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । स्थानीयले निरन्तर अवरोध र लामो समयसम्म उपत्यकामै फोहोर राख्नु परेकाले प्रहरी प्रशासन परिचालन गरेर फोहोर व्यवस्थापनको काम गरिएको जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् भनेर इमान्दार, सचेत र संवेदशनशील भएर काम भइरहेको बताएका छन् । गत जेठ २६ गते कामपा, धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिँदै प्रमुख साहले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा उक्त स्थानमै काम गर्न बजेट विनियोजन गरिएको पनि जानकारी दिए । कामपाले चालु आर्थिक वर्षमा सिसडोल बञ्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापन र सडक मर्मतका लागि मात्र २० करोड बजेट विनियोजन गरेको छ । प्रहरी प्रशासनको सहयोग लिएर मङ्गलबार एक सय ८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । आज पनि प्रहरीकै सहयोगमा फोहोर व्यवस्थापनको काम भइरहेको छ । स्थानीयको अवरोध भने कायमै छ । रासस

तनहुँको भानु नगरपालिकामा खादा प्रयोगमा पूर्ण निषेध

तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो । विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिए । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उनले बताए । अब उप्रान्त कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उनले बताए । भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ । त्यसैगरी सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको उनले जानकारी दिए । रासस