पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
कास्की । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल्ट ट्रेडिङको भित्रको चार किल्लाभित्र बसपार्कका लागि छुट्याएर राजत्रपत्रमा प्रकाशित गरिएको थियो । बसपार्कका लागि जमिन छुट्याएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर ४७ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा सुकुमवासी छन् । पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुमवासी परिवार बस्दै आएका छन् । लामो समयसम्म बसपार्क नबन्दा अहिले सडक पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरु आफ्नो गन्तव्यमा छुट्ने गरेका छन् । यसबाट पोखराको पृथ्वीचोक क्षेत्रमा सधैँ यातायात अस्तव्यस्त हुने र लामो जामको समस्या निम्तिएको छ । पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको छ । यही वैशाख ३ गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो । संघीय राजधानी काठमाडौंमा केही दिनयता अतिक्रमित जमिन खाली गराउनेक्रम जारी छ । पोखरामा रहेका पनि सुकुमवासीले व्यवस्थापन विना आफूहरुलाई हटाउन नहुने उनीहरुको माग छ । बसपार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्षसमेत रहेकी स्थानीय रुपा केसीले आफूहरु अव्यवस्थित भएर बस्न नचाएको सुनाइन् । उचित व्यवस्थापन गरेर मात्र बसपार्क बनाउन विगतदेखि नै भन्दै आएको उनी बताउँछिन् । उनी भन्छिन् 'सुकुमवासीहरु कहिल्यै पनि बसपार्कको विरोधी होइनौँ । हाम्रो उचित व्यवस्थापन भएको खण्डमा हामी अहिले बसिरहेको ठाउँ छोड्न तयार छौँ, सरकारले गर्ने विकासमा सहयोग गर्छौं ।' भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले बसपार्कका सुकुमवासीलाई सकभर अहिले बसोबास गरिरहेको वडा नं ९ भित्र वा नजिकको वडामा पहिला व्यवस्थापन गर्नुपर्ने बताउँछन् । व्यवस्थापन विना महानगरले बसोबास गरिरहेको स्थान खाली गर्नका लागि सूचना जारी गरेपछि आफूहरु चिन्तित बनेको उनको भनाइ छ । उनले भने,'महानगर कार्यपालिकाको निर्णयले भूमिहीन तथा अव्यवस्थित बसोेबासीहरुलाई चिन्तित भइरहेको छ । उपयुक्त वैकल्पिक अवस्था पहिला महानगरले गरोस् र बल्ल २०५ रोपनी जमिनभित्र नै बसपार्क निर्माण होस् ।' मजदुर नेता रुद्र गौतमले बसपार्कका अतिक्रमित संरचना हटाउने काम थाले सरकारको कदममा आफूहरुको सहयोग रहने बताए । बसर्पाकका लागि छुट्याएको २०५ रोपनी जमिनमै बसपार्क बनाउनुपर्ने उनको भनाइ छ । । उनले भने, 'बसपार्कको जग्गा विभिन्न कालखण्डमा पहुँच र शक्तिको दुरुपयोग गरी व्यक्तिगत पहुँचका आधारमा पुर्जा बनाएर घडेरी किनबेच भएको छ । वास्तविक सुकुमवासीलाई विकासको बाधक देख्ने काम गलत छ । पहिला विगतमा छुट्याइएको पूरै जग्गा खाली हुनुपर्दछ, त्यस्तो भएमा हाम्रो सहयोग रहन्छ ।'
एक करोड लागतमा तीनकोठे वडा कार्यालय भवन निर्माण
ढोरपाटन । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । लामो समयेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको आफ्नै भवन सर्ने तयारी गरेको छ । स्थानीय कृष्णबहादुर छन्त्याल, चन्द्रबहादुर पाण्डे, इन्द्रकली पुन र मोहन पुनको परिवारले रु १० लाख मूल्य बराबरको १० रोपनी जमिन निःशुल्क रूपमा उपलब्ध गराएपछि भवन निर्माण गरिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । “अहिलेसम्म आफ्नै भवन नहुँदा सामुदायिक वनको भवनबाट सेवा प्रवाह गर्दै आएका छौँ, यहाँबाट सेवा प्रवाह गर्दा निकै समस्या भोग्नु प¥यो, अब आफ्नै भवनमा यही वैशाख २३ गते सर्ने गरी तयारी छ”, उनले भने । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सबै वडा कार्यालयलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए । अधिकांश वडाका भवन निर्माणाधीन छन् ।
अकबरे खुर्सानी खेती प्रवर्द्धनमा स्थानीय सरकार
काठमाडौं । दक्षिण पर्वतको पैयूं गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैयूं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए । गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि चारवटा कृषि फार्म छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । छनोटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बिउविजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए । उनका अनुसार पहिलोपटक वडा नं ६ को हाडिकखर्क कृषि तथा पशुपन्छी फार्म, वडा नं ३ को बेउलवास कृषि तथा पशुपन्छी फार्म, वडा नं ४ को बेँसीथोक कृषि तथा पशुपन्छी फार्म र वडा नं ३ मै रहेको कानुङ कृषि तथा पशुपन्छी फार्मलाई अनुदान दिएर ठूलो क्षेत्रफलमा अकबरे विस्तार गरिने भएको छ । हरेक फार्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ । अकबरे खुर्सानी नेपालका पहाडी जिल्लामा पाइने अत्यन्तै महत्त्वपूर्ण नगदे बाली हो । यसको तिखोपन, सुगन्ध र स्वादका कारण यो देशभित्र मात्र नभई बाह्य बजारमा पनि उच्च माग रहेको छ । गाउँपालिका भित्र र बाहिर पनि अकबरे खुर्सानीको माग अत्यधिक आउने र मूल्यसमेत पर्याप्त पर्ने भएकाले किसानको जीवनस्तर सुधार्न सहयोग मिल्ने देखेर अकबरे खुर्सानी खेतीमा किसानलाई आकर्षित गर्न खोजिएको पैयूं गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । अन्य सामान्य खुर्सानीको तुलनामा यसको मूल्य धेरै हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्ने उनको भनाइ छ । सानो क्षेत्रफलमा समेत राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न पालिकाले आग्रह गरेको छ । पछिल्लो समय बजारमा अकबरे खुर्सानीको मूल्य स्थिर र उच्च रहने गरेको देखिएकाले यसको उत्पादन विस्तारलाई दिगो आयआर्जनको आधारका रूपमा हेरिएको अध्यक्ष ठकुरीले बताए । पोषणका हिसाबले पनि अकबरे खुर्सानी निकै महत्त्वपूर्ण मानिन्छ । यसमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’जस्ता आवश्यक पोषकतत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने हाडिकखर्क कृषि तथा पशुपन्छी फार्मका सञ्चालक याम बहादुर क्षेत्रीले बताए । यसमा पाइने क्याप्साइसिन तत्वले पाचन प्रणाली सुधार गर्ने, रक्तसञ्चार सन्तुलित राख्ने तथा केही दीर्घ रोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । त्यसैले यो केवल मसलामात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी बालीका रूपमा रहेको क्षेत्री बताउँछन् । तरकारी, अचार विभिन्न परिकारमा यसको प्रयोगले नेपाली स्वादलाई अझ विशेष बनाउने गरेको छ । अकबरे खुर्सानी खेतीमा रोग, कीरा तथा मौसमी जोखिमजस्ता चुनौती पनि कम हुने बताइएको छ । पैयूं गाउँपालिकाले कृषि आधुनिकीकरण, नगदे बाली प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ ।