प्रहरी बिटमा बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ । महानगरको  नगरप्रहरीले मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट प्रहरीकै सहकार्यमा  भत्काएको हो । मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको महानगरले भत्काएको जनाएको छ । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो । सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।

अब पोखराको सडकमा पार्किङ गर्नै नपाइने, छुट्टै व्यवस्था हुँदै

कास्की । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र सवारी आवागमनमा थप कठिनाइ भएपछि महानगरपालिकाले मुख्य सहरी क्षेत्रका सडकमा पार्किङ निषेधको घोषणा गरेको थियो । निजी क्षेत्र, यातायात व्यवसायीलगायतको विरोधपछि सो कार्यान्वयन नभए पनि अबदेखि महानगरले खाली रहेका सार्वजनिक तथा निजी जग्गालाई स-शुल्क पार्किङमा उपयोग गर्दै सडक पार्किङ हटाउने योजना बनाएको छ । यसका लागि पोखरा-९ न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा स-शुल्क पार्किङ सुरु गरिएको छ । महेन्द्रपुल, न्यूरोड, नयाँजबार, पृथ्वीचोक, चिप्लेढुङ्गालगायतका बजार क्षेत्रका खाली जमिनलाई पार्किङमा प्रयोगमा ल्याउने र सडकबाट पार्किङ हटाउने काम सुरु भएको महानगरले जनाएको छ । महानगरले सडकको पार्किङ हटाइएका क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारी गरेको छ । महानगर प्रमुख धनराज आचार्यले सडक पार्किङका लागि अब बोलपत्र आह्वान गर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए । ‘अहिले सडकमा भइरहेको पार्किङवापत कुनै शुल्क उठाएका छैनौँ’, उनले भने, ‘अब सडकमा सवारी साधन पार्क गर्ने दिन सकिए ।’ महानगर क्षेत्रमा बनेका भवनका बेसमेन्टलाई पार्किङका लागि उपयोग गर्ने योजना बनाएर भूमिगत तला खाली गर्न सुरु गरिएको छ । महानगरले सूचना जारी गरी भूइँतला खाली गर्न नगरवासीमा आग्रह गरिसकेको छ । सडकको दायाँबायाँ रहेका खाली जग्गासमेत सम्बन्धित जग्गाधनीसँगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङकै लागि उपयोग गरिने प्रमुख आचार्यले बताए । पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । महानगरपालिका क्षेत्रभित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालासँगको छलफलसमेत जारी रहेको र कुनै पेसा व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने महानगरको भनाइ छ । पोखरा महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानमा पाँच सयभन्दा बढी साना सवारीहरू र चार सयभन्दा बढी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्नसक्ने क्षमता छ । पोखराको मुख्य बजारक्षेत्र पृथ्वी चोक, सभागृह चोक, न्यूरोड, बिपीचोक, महेन्द्र पुल, नयाँ बजार हुँदै पृथ्वीचोकसम्मको सडकमा दुई सय ५० गाडी र तीन सय ५० मोटरसाइकल पार्किङ गरेको पाइएको छ । ‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको सङ्ख्यामा सवारीसाान पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ’, प्रमुख आचार्यले भने, ‘तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीको बुझाइ रहेपनि त्यसो हुँदैन ।’ मुख्य बजार क्षेत्रमा आवश्यक मात्रामा पार्किङको वैकल्पिक व्यवस्था गरी सडकमा गरिने पार्किङलाई भूमिगत र सडक छेउमा रहेका खाली जग्गामा व्यवस्था गरिने पोखरा—१६ का वडाध्यक्ष एवं महानगर यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । उनका अनुसार हाल बजार क्षेत्रको सडकमा भइरहेको पार्किङमा राखिने सवारीको सङ्ख्यालाई पर्याप्त पुग्ने स्थानको खोजी महानगरपालिकाले गरिरहेको छ । रासस

१२ करोडमा महानगर र प्राधिकरणले आधुनिक सडक बत्ती जडान गर्ने

काठमाडौं । काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ । बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ । यस अघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बिच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरे । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए । महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकवत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ । यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् । यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडक बत्ती प्रयोग भएवापत्को शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।