जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउँदै उपमहानगर

जनकपुरधाम । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् । महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेले केही दूरीमा रहेका अन्य मन्दिरसमेत अवलोकन गरी आनन्द लिन सक्छन् । यिनै मठमन्दिर अवलोकनका लागि उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन् । पहिलो पटक जनकपुर आएकी काठमाडौंकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशुचौपायाको व्यवस्थापन हुन सके अझ सहज हुने बताइन्। ‘मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ, मन्दिर घुमिसकेपछि थकाइ मार्ने उपयुक्त बस्ने ठाउँको पनि व्यवस्थापन रहनेछ’, उनले भनिन्, ‘स्थानीय सरकारले उपयुक्त पार्किङस्थल, सफा शौचालय र बसेर आराम गर्न मिल्ने ठाउँको व्यवस्था गरेको भए राम्रो हुने थियो ।’ जनकपुरधाम उपमहानगरपालिकाले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताए । उनले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताए । ‘जनकपुरलाई धार्मिक पर्यटन नगरीका रुपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु’, नगरप्रमुख साहले भने, ‘त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण र फुटपाथ निर्माणको काम हुँदैछ ।’ जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ मन्दिर छेउमा बनाउन लागिएको सुविधा सम्पन्न पार्किङ सोही योजनाको सुरुआती भएको उनले बताए । बाह्र कट्ठाभन्दा बढी जग्गामा बन्न लागेको सुविधासम्पन्न पार्किङले जनकपुरधाममा रहेका मन्दिरको दर्शन गर्न आउने पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ । ‘अन्य समस्या त छँदैछन्, मुख्यरुपमा मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकले गाडी सडक छेउमै पार्किङ गर्नुपर्ने अवस्था छ । जसले ट्राफिक व्यवस्थापनमा पनि कठिनाई भइरहेको छ’, नगरप्रमुख साहको भनाइ छ, “यस समस्यालाई मध्यनजर गरी वडा नं ८ स्थित दशरथ मन्दिर छेउमा पर्किङ बन्दैछ । यसको निर्माणपछि सहजरुपमा गाडी पार्किङ गरेर पैदल हिँडेर मुख्य धार्मिकस्थलको अवलोकन गर्न सघाउ पुग्नेछ ।’ उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले करिब पाँच करोड लागतमा बन्न लागेको पार्किङस्थलमा प्रतिक्षालय, सार्वजनिक शौचालय, कार्यालय, सानो व्यापारिक क्षेत्रसहितको संरचना रहने बताए । ‘धार्मिक पर्यटकलाई लक्षित गरी बन्ने यो पार्किङका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेटमा माटो भरण, कम्पाउण्ड वालसहित प्रारम्भिक कार्य हुनेछ’, इन्जिनियर यादवले भने, ‘आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी हामीले योजना बनाएका छौँ, त्यसपछि अहिले धार्मिक पर्यटकले भोग्ने समस्या केही हदसम्म समाधान हुनेछ ।’ अव्यवस्थितरुपमा सवारीसाधन पार्किङका कारण नगरक्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत सघाउ पुग्ने उपमहानगरपालिकाको विश्वास छ । उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पनि धर्म, संस्कृति र मठमन्दिरले जोडेको जनकपुरलाई सजाउने, सिगार्ने र सुन्दर बनाउने काममा उपमहानगरपालिकाले आवश्यक काम गर्ने बताए। उनले जनकपुरलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न मन्दिरको सौन्दर्यीकरण, सडकपेटी निर्माण र छाडा पशुचौपाया व्यवस्थापनको काम गरिने बताए । तर, यहाँको अधिकांश जग्गा गुठी संस्थानको नाममा रहेकाले सुधारका कार्य गर्न केही कठिनाइ भइरहेकाले गुठीसँग समन्वय गरेर आवश्यक जग्गा भाडामा लिएर फोहोर व्यवस्थापनलगायतका काम गरिने र त्यसले अहिलेको अवस्थामा थप सुधार हुने उनले बताए। ‘जनकपुरधामको मुख्य विशेषता नै धार्मिक मठमन्दिर हुनु हो, यसको उचित व्यवस्थापन हुनसके त्यसबाट अझ धेरै लाभ लिन सकिन्छ’, उपप्रमुख साहले भने, ‘पौराणिक धार्मिक नगरीलाई आधुनिक धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न हामीले मापदण्डअनुसार योजनाबद्धरुपमा सुधारका काम गर्छौं, पहिलो आर्थिक वर्षमा त्यसको सुरुआत भई आगामी पाँच वर्षभित्र साँच्चै धार्मिक पर्यटन नगरीका रुपमा यहाँको विकास हुनेछ । त्यस कार्यमा हामी सबै लागिरहेका छौँ ।’ नगरप्रमुख साहले पनि उपमहानगरपालिकाको योजनामा यहाँस्थित गुठीले आवश्यक सहयोग गरेमा पाँच वर्षमा जनकपुर र यहाँका धार्मिकस्थललाई हेर्न लायक बनाउन सकिने दाबी गरे। ‘धार्मिक पर्यटकीय नगरी बनाउने गरी हामीले सुधारको काम थालिसकेका छौँ, सडक बाटो, फोहर व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापन र अन्य आवश्यक पूर्वाधार निर्माण गरी हाम्रो कार्यकालभित्रै यो योजना पूरा गर्ने छौँ तर यसमा गुठी संस्थानलगायत सबैको साथ र सहयोग अपरिहार्य छ’, नगरप्रमुख साहले भने । रासस ।

काठमाडौं महानगरपालिकाले लक्ष्यको ४३ प्रतिशत राजस्व असुल गर्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो । चालू आवका लागि कामपाले १० अर्ब ३९ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ । विगतका वर्षमा विश्वभरि फैलिएको कारेना महामारीका कारण लक्ष्यमा पुग्न कठिन भए पनि यस वर्ष अहिलेकै अनुपातमा जाँदा लक्ष्य हासिल गर्न सहज हुने महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । चालू आवको पुस सम्ममा चार अर्ब ६० करोड रुपैयाँ असुल गरिसकेको कामपाले जानकारी दिएको छ । यस वर्ष महानगरपालिकाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा भने खासै समस्या नभएको विभागका प्रमुख डा अधिकारीले जानकारी दिए । पछिल्लो समय कमपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै असुल उपर गर्न सहज भएको बताइएको छ । मुख्यगरी सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ करका शीर्षकमा महानगरपालिकाले राजस्व असुल गर्दै आएको छ । विगतका वर्षमा करको दायरामा पूर्णरुपले ल्याउन नसकेका क्षेत्र मनोरञ्जन क्षेत्रअन्तर्गत रहेका चलचित्र हल, दोहोरी, डान्स रेस्टुरेन्ट, फन पार्क, कवाडी करको क्षेत्रलाई पनि कानुनको दायरामा ल्याइएकाले पनि राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न सक्ने विश्वास महानगरपालिकाले लिएको छ । त्यसैगरी विगत सात वर्षदेखि बिना सम्झौता अनधिकृत रुपमा सञ्चालिन पुरानो बसपार्कस्थित सिटी मार्केटलाई आय ठेक्का प्रणालीमार्फत भाडामा लगाउने कार्यसमेत गरिएको विभागले जानकारी दिएको छ । राजस्व असुलीका लागि सहज बनाउनकै लागि महानगरपालिकाले २०७७ साल असोज १ गतेदेखि करदाताको सङ्ख्यालाई डिजिटल प्रणालीमा राखेको छ । त्यसमा हालसम्म तीन लाख एक हजार छ सय २२ करदाता सामेल भएका छन् । कामपाले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि ढुक्कले बसेका करदाता प्छिल्लो समय विवरणसहित सम्पर्कमा आउने र नियमानुसार कर तिर्न थालेको कामपाको भनाइ छ । कामपाले ठूला करदाताबाट विगत लामो समयदेखिको करिब ५० करोड रुपैयाँ असुल गर्नुपर्ने जनाएको छ । महानगरले गत वर्षदेखि लामो समयदेखिको बक्यौता रकम असुल गर्न ताकेत गर्न थालेको हो । ठूला करताताबाटै राजस्व असुल हुन छोडेपछि महानगरले उनीहरुको नाम सार्वजनिक गरी विवरणसहित आउन आग्रह गरेको थियो । यसैबीच महानगरले एक हप्ताअघिबाट राजस्व सङ्कलन कार्यलाई थप प्रभावकारी बनाउन कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृतसमेत गरेको छ । कामपाको वडा नम्बर ५ बाट सुरु गरिएको उक्त एकीकृत व्यवस्था प्रभावकारी भए ३२ वटै वडाबाट त्यस किसिमले सेवा विस्तार गर्ने राजस्व विभागका प्रमुख डा अधिकारीले जानकारी दिए । सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु पर्दैन । उनले भने, ‘वडाको लेखाशाखामा गएर विवरण भरेपछि त्यो विवरणबाट बैङ्क भौचर सिर्जना हुन्छ, त्यसका आधारमा बैङ्कमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ, बैङ्कमै गएर नगद बुझाउने हो भने पनि त्यहाँ गएर भौचर भर्नुपर्दैन, फोन नम्बर दिएमात्र पुग्छ ।’ रासस

उपत्यकामा ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ । हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो । विदेशी विज्ञ बोलाएर ५० देखि ५५ चोकमा नयाँ किसिमका ट्राफिक बत्ती जडान गर्न छलफल गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार विभागले त्यसका लागि मूल्याङ्कन गरेर डिजाइन तयार गरिसकेको छ । उनले भने, ‘छिट्टै नै खरिद प्रक्रियामा जाने योजना रहेको छ ।’ नयाँ प्रणालीमा एउटा कन्ट्रोल रुममा बसेर आवश्यकता अनुसार कुन बत्तीको समय बढाउने कुनको घटाउने भनी गर्न सकिने महानिर्देशक थापाले बताए । हाल सञ्चालनमा रहेका बत्तीमा ट्राफिक प्रहरीले समय परिवर्तन गर्न मिल्दैन । उनले भने, ‘एउटा दिशाबाट धेरै गाडी आयो भने ट्राफिक प्रहरीले परिवर्तन गर्न सक्दैन, ट्राफिक प्रहरीले अप्ठ्यारो हुँदा बन्द नै गर्दै आउनुभएको छ ।’ काठमाडौ|का सडकमा जडान भएका ट्राफिक बत्तीको प्रणाली अहिले बजारमा नपाउने हुँदा नयाँ जडान गर्न आवश्यक रहेको विभागले जनाएको छ । झण्डै १० चोकमा ट्राफिक बत्तीमा समस्या आएको र मर्मतका लागि आवश्यक सामग्री नपाइएपछि मिल्ने किसिमका अरु सामग्री राखेर चालू गरिएको उनले बताए । अहिले छुट्टाछुट्टै व्यवस्था गर्ने प्रणाली (आइसोलेटेड कन्ट्रोल सिस्टम) हुँदा माइतीघरको कन्ट्रोलबाटै र सिंहदरबार अगाडिको नियन्त्रण त्यहीँबाट गर्नुपरेकाले समस्या रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५/१० वर्षमा नयाँ प्रणली आउने हुँदा विभागले पनि नयाँनयाँ ल्याउन आवश्यक रहेको महानिर्देशक थापाले बताए । सडक विभागबाहेक अरु निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएको विभागले जनाएको छ । उपत्यकाका पालिका र वडा कार्यालयले पनि आश्यकताका आधारमा बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ । चालू आवमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको थियो । उपत्यका बाहिर भने थोरै सहरमा मात्रै ट्राफिक बत्ती रहेका छन् ।