बालेन शाहसँग जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगको गत भदौ ३१ गतको बैठकले समयमै खर्च विवरण पेस नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । शाहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै अरु १ लाख २३ हजार उम्मेदवारलाई न्यूनतम १ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । आयोगको उक्त निर्णयविरुद्ध शाह सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । सोही निवेदनको सुनुवाइपछि अदालतले जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

बन्दीपुरमा सवस्टेशन निर्माणपछि विद्युत् आपूर्ति सहज

तनहुँ । यहाँको बन्दीपुर गाउँपालिका-६ सराङघाटमा ३३-११ केभी क्षमताको सवस्टेसन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज भएको छ । उक्त सवस्टेशन सञ्चालनमा आएसँगै जिल्लाको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा सहज भएको हो । यसअघि आँबुखैरेनीबाट ११ केभीबाट विद्युत् लाइनबाट विद्युत् विस्तार गरिए पनि लामो लाइन भएका कारण पूर्ण क्षमताको विद्युत् प्रवाह नहुँदा समस्या भोग्नुपरेको तनहुँ वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । पहिला राम्रो भोल्टेज आउँदैनथ्यो, उनले भने ‘अहिले ३३ केभी क्षमताको सवस्टेशनबाट पूर्णरुपमा भोल्टेज आएको छ ।’ साराङ्ग सवस्टेशनबाट देवघाट गाउँपालिकामा विद्युत् लाइन पुगिसकेको प्रमुख जोशीले बताए । ‘देवघाट गाउँपालिकाको वडा नं १, २, ३ र ५ केही ठाउँमा विद्युत् विस्तारको काम बाँकी छ । बजेट अभावले काम रोकिएको हो’, उनले भने । तीनवटै पालिकाका केही घरमा बाहेक सबै बस्तीमा विद्युत् पुग्नेछ, प्रमुख जोशीले भने, ‘देवघाट गाउँपालिका-४ मा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तारको कार्य तीव्रगतिमा गरिएका कारण उज्यालो तनहुँ यसैवर्ष घोषणा गर्न सकिने छ ।’ नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सवस्टेसन निर्माण गरेको हो । आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सवस्टेसनदेखि बन्दीपुर गाउँपालिका-५ याम्पाफाँटकोे बीच भागबाट तानेर सराङघाट सवस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइनसमेत निर्माण भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको केन्द्र प्रमुख जोशीले बताए । सबस्टेशनबाट तीन पालिकाका उपभोक्तालाई निरन्तर विद्युत् आपूर्ति हुनेछ । दुई ओटा सवस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग-वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामीण विद्युतीकरणअन्र्तगतका चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलित ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो । रासस

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

खोटाङ। साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिका चार सय सात ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । वडा नं १ बाँझेच्यानडाँडाका एक सय दुई ज्येष्ठ नागरिक र चार पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं २ रतन्छाका एक सय तीन ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं ३ खिदिमाका २६ ज्येष्ठ नागरिक र तीन अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । यस्तै वडा नं ४ मात्तिमका ९८ ज्येष्ठ नागरिक र चार पूर्ण अपाङ्गता भएका व्यक्ति तथा वडा नं ५ मात्तिमबिर्ताका ७८ ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिइन् । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले टोल र बस्तीमा पुगेर स्वास्थ्य बीमा परिचयपत्र वितरण गरिरहेको छ । स्वास्थ्य बीमा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट रु एक लाखसम्मको औषधि उपचारमा छुट पाउने व्यवस्था छ । पूर्ण अपाङ्गता भएका नागरिकको हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने जनाइएको छ । जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने जिल्लाकै पहिलो पालिका हो । जटिल प्रकारका रोग लागेर अन्यत्र उपचारमा जानुपर्ने बिरामीलाई अस्पतालसम्म जाने–आउने र उपचार गर्दा बिरामी तथा कुरुवाको खाने–बस्ने खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्थासमेत मिलाइएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्यसम्बन्धी जटिल किसिमका समस्या रहेकाले टोलटोलमा घुम्ती सेवा पु¥याउने योजनासमेत बनाइएको जनाइएको छ । यसअघि वडा नं १ बाँझेच्यानडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २० जनाले पाठेघरमा हुने क्यान्सर रोगको उपचार गराएका थिए भने परिवारनियोजनको अस्थायी साधन इम्प्लान्ट आठजनाले राखेका थिए । त्यस्तै परिवारनियोजनको अस्थायी साधन इम्प्लान्ट झिक्ने नौ, पुनः झिकेर राख्न लगाउने दुई र यौन रोगसम्बन्धी १० नागरिकले उपचार सेवा लिएका थिए । शिविरबाट आङ (पाठेघर) खसेर बिरामी भएकी ७४ वर्षीया वृद्धालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाका लागि घरधुरी सर्वेक्षण गरेर फागुनभित्रै पूर्ण खोप र दिगोपना घोषणा गर्ने तयारी गरिएको उपप्रमुख बिर्सिका राईले जानकारी दिइन् । रासस