स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट
काठमाडौं । काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्णायक समितिले कामपलाई अवार्डका लागि छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । कामपा प्रमुख बालेन्द्र साहलाई पत्र पठाउँदै आयोजक संस्थाले भनेको छ, “यस क्षेत्रको आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यको विशिष्ठतालाई प्रवद्र्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।” काठमाडौँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदा, मूर्त÷अमूर्त सम्पदा र जीवन्त सहरी रमाइलो वातावरणका कारण आगन्तुकलाई मोहित बनाउने पत्रमा उल्लेख छ । यो अवार्ड वितरण विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्नेछन । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नु र पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यको सञ्चार र बजारीकरण गरेर सोखिन पर्यटकसमक्ष सूचना पुर्याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ । स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवद्र्धक कार्यक्रममा सहभागी हुनेछन् ।
फोहरमा शुल्क नलिन ककनी गाउँपालिकालाई अन्तरिम आदेश
फाइल फाेटाे काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ (२) धारा २३६, फोहरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ विपरीत देखिएको उक्त आदेश गरेको हो । ककनी गाउँपालिकाले गत असार १९ काठमाडौँबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर लिएर सानो गाडीसँग प्रतिखेप १ हजार रुपैयाँ र ठूला गाडीसँग १५ सय रुपैयाँ लिने निर्णय गरेको थियो । आदेशमा भनिएको छ, ‘‘ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जानेसमेत देखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मिति २०८० असार १९ को गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु ।” ककनी गाउँपालिकाको उक्त निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।
‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरले असुल्यो ५० हजार जरिवाना
काठमाडौं । फिल्मको पोस्टर टाँसेर ‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरपालिकाले एउटै संस्थालाई ५० हजाररूपैयाँ जरिवाना गरेको छ । काठमाडौं–२९ मा रहेको नेपाली बेभसाइट मिडिया हाउस प्रालिले काठमाडौंको भित्ताहरुका फिल्मको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो । उक्त कम्पनीले मंगलबार महानगरको कार्यालयमा गएर ५० हजाररुपैयाँ जरिवाना बुझाएको महानगरले बताएको छ । महानगरले १७०००१ नम्बरको रसिद जारी गरेर उक्त जरिवाना असुलेको हो । उक्त कम्पनीले फिल्मको पोस्टर टाँसी दृश्य प्रदुषण र फोहोर मैला गरे वापत प्रशासनिक दण्ड, जरिवाना र जफत गरेको बताएको छ ।