बूढानीलकण्ठमा गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी
काठमाडौं । काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित आठ हजार पाँच सय गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।
३ दिनभित्र काठमाडौंको फोहोर उठाइसक्ने
काठमाडौं । गत साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन ३ दिनभित्र पूरा भइसक्नेछ । उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार १ सय ५२ गाडी र शनिवार १ सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मङ्गलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ । एक वर्षअघि काठमाडौँ महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए । महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए । सामान्यतया काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको ३ सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ । विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।
इच्छाकामना गाउँपालिकाका वडाध्यक्षले आफ्नो सेवासुविधाबाट विपन्नको स्वास्थ्य बीमा गरिदिए
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिएका छन् । आर्थिक वर्ष २०७९/८० मा आफुले पाउने पारिश्रमकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएका हुन्। वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई दुई लाख १३ हजार पाँच सयको ‘चेक’ हस्तान्तरण गरे। सो अवसरमा उनले निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएको बताए। उनले भने, ‘स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिक सामान्य बिरामी हुँदासमेत चन्दा माग्दै हिँड्नुपर्ने बाध्यता छ, मैले निर्वाचनकै बेला सेवासुविधा नलिने घोषणा गरेको थिएँ, सोहीअनुसार आज विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छु ।’ गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनप्रतिनिधिको हैसियतले गरिएको यो नमूना काम भएको जनाउँदै नागरिकसँग जोडिने काम गरेकामा धन्यवाद दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जनताको चाहना अनुसार काम गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताए ।